उपत्यकाबासीले अब पानीको हाहाकार खेप्नु पर्दैन

अन्तरवार्ता समाचार

ई.मणिराम गेलाल, सचिव, खानेपानी मन्त्रालय
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ मार्गमा एक हप्ताअघि हालेको पानी (शुक्रबार)देखि राजधानीमा वितरण गरिएको छ । गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङको अन्तिम विन्दुमा यही मंसिर १८ गते आइपुगेको पानी सुरुमा सुरुङ सफा गर्न बागमतीमा बगाइएको थियो । गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङमा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी बागमतीमा बगाइएको छ । असारदेखि सुरुङ बन्द रहेकाले सुरुमा थोरै पानी परीक्षणका रुपमा पठाइएको छ। यो पानी काठमाडौंस्थित सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा एक हप्तामा आइपुगेको हो । २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्चीका संरचना एवं प्रवेशमार्गमा क्षति पुगेपछि २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी राजधानी आइपुगेको थियो। यहि सेरोफेरोमा हामीले खानेपानी मन्त्रालयका सचिव ई. मणिराम गेलालसँग तामाकोशी सन्देश साप्ताहिकको प्रतिनिधिले गरेको कुराकानीको अंश ः
० धेरै लामो समयको पर्खाइपछि मेलम्चीको पानी काठमाडौँ आइपुग्यो, तपाईलाई कस्तो अनुभव भइरहेको छ ?
आमनागरिकलाई जस्तो अनुभव भएको छ सोहि अनुभव मैले पनि गरिरहेको छु । हामीले काठमाडौँमा खानेपानीको दुःख भाग्दै आयौँ । अहिले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी थप आउँदा अत्यन्त खुसी लागेको छ । यो कार्यमा सहभागी हुने जुन अवसर प्राप्त भयो त्यसका लागि नेपाल सरकार, सहकर्मी साथीहरू जसको सहयोगबाट यो सम्पन्न भएको छ, उहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु । खानेपानीका लागि दक्षिण एसियामै सबैभन्दा लामो सुरुङ मार्ग हो । यो आयोजना अलि बढी चुनौतीपूर्ण भयो । म आयोजनाको अन्तिमअन्तिम चरणमा आएकाले अगाडिका चुनौती मैले सामना गर्नुपरेन । अन्तिम चरणमा आएका समस्यालाई समाधान गर्दै हामी यहाँसम्म आइपुग्दा एउटा नौलो अनुभव भएको छ । सिकाइ पनि भएको छ । यसमा संलग्न सबैका लागि पनि राम्रै सिकाइ भएको छ । सिकाइको प्रयोग गर्दै आगामी दिनमा ठूला आयोजना सम्पन्न गर्न अलिकति क्षमता विकास पनि भएको मैले महसुस गरेको छु ।
० पानी आइसकेपछि यसको व्यवस्थापन पक्षमा के भइरहेको छ ?
अबको काम एकदमै चुनौतीपूर्ण छ । पानी आएन भन्दा एउटा मात्र समस्या थियो । अब झन् सयौँ समस्या आइपर्छन् । यत्रो जनघनत्व भएको ठाउँमा पानी वितरण गर्नुपर्नेछ । हाम्रो नयाँ पाइप लाइनहरूको परीक्षण गरेर त्यसबाट वितरण गर्नुपर्नेछ । पानी आइसकेको र रिजर्भवायर भइसकेका कारण ‘इन्टरकनेक्सन’ गरेर पुरानो पाइपबाट वितरण गरेका छौँ । चुनौतीपूर्ण त छ । सिक्दै अनुभव गर्दै सुधार गर्दै लिएर जाने प्रयास गरिरहेका छौँ । बिहान ६ः०० बजेदेखि राति १०÷११ बजेसम्म साथीहरू खटिराख्नुभएको छ, रिजर्भवायर पाइप लाइनहरूमा उपस्थित भइरहनुभएको छ । पानीको लेबल नापिराख्नुभएको छ । यद्यपि जनताका आशा र आवश्यकता अनुसार पानी वितरण गर्न सकिरहेका छैनौँ । कतै धेरै पानी गइरहेको छ कतै थोरै गइराखेको छ । यी सबै समस्यालाई बिस्तारै हामी समाधान गर्दै जानेछौँ । वितरणमा असमान गर्ने हाम्रो नियत होइन । व्यवस्थापनकै क्रममा कतिपय लाइन ठूलो लाइनमा जोडिएका छन् । ती ठूलो लाइनबाट सानासाना लाइनको पुच्छारमा पर्नेहरूका लागि त्योभन्दा अगाडि मोटर चलाइदिएर पानी तानेका कारण केही उपभोक्ता मारमा परेको हामीले बुझेका छौँ ।
० घरमा प्रयोग भएको पानीको करिब ८० प्रतिशत बाहिर आउँछ भनिन्छ । प्रयोग भइसकेको फोहार पानीको व्यवस्थापन गर्न कुनै योजना छ कि ?
फोहोर पानी व्यवस्थापनको काम पनि सँगसँगै भइरहेको अवस्था छ । काठमाडौँ उपत्यकामा भविष्यमा ५० करोड लिटर क्षमताको ढल प्रशोधन केन्द्र निर्माणको काम अघि बढेको छ । प्लानिङ गरेको अवस्था छ । अहिले तत्काल हामीले १२ करोड लिटरका लागि निर्माण भइराखेको छ । १२ करोड लिटर यहाँ उत्पादन हुने दिसाजन्य फोहोर पानी छ, त्यसलाई प्रशोधन गर्ने व्यवस्था गरिरहेका छौं । प्रशोधन गरिसकेपछि नदीमा नै पठाइन्छ । प्रशोधित पानी अन्य उपयोगका लागि कुनै समस्या छैन । ढल नदीमा जान बन्द गरियो र नदीमा प्रशोधित पानी पठायौँ भने नदीजन्य जीवका लागि पनि सहज हुनेछ । त्यो अवस्थामा हामीले बागमती नदीलाई पुनः जीवित गराउनसक्ने अवस्था छ ।
० मेलम्चीको सुरुवात कसरी भएको बताइदिनुहोस् न ?
विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता गरेको थियो । पछिल्लोपटक काम गरेको इटालेली कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिकरूपमा टाट पल्टेर कम्पनी फिर्ता भयो । केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । खानेपानी मन्त्रालयले पटक–पटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै आएको थियो ।
० मेलम्ची ढिलाई हुनुका कारण के के हुन् ?
मेलम्चीको पानी ढिला हुनुको प्रमुख कारण भनेको व्यवस्थापनको समस्या हो । त्यस्तै निर्माण कम्पनीहरू अन्तर्राष्ट्रिय भए, कन्सल्टेन्टहरू पनि अन्तर्राष्ट्रिय नै भए । सक्षमताका हिसाबले समस्या होइन यद्यपि व्यवस्थापन नै सबैभन्दा ठूलो चुनौती हो । यो तहको निर्माण कार्यको व्यवस्थापन गर्न हामी एक किसिमले सफल भएको मान्नुपर्छ । दुईवटा सम्झौता तोड्नुपर्ने अवस्था सिर्जना भयो त्यो नै साह्रै दुर्भाग्य हो । साधारणतया ठूला आयोजनाहरूमा यस्ता घटना हुँदैनन् तर हाम्रो त दुई पटकसम्म सम्झौता तोडियो । तेस्रो पटकको सम्झौताले सम्पन्न गरियो । ढिलाइ हुनुको प्रमुख कारण नै त्यही हो । नेपालकै सबैभन्दा ठूलो टनेल निर्माणका लागि हाम्रै जनशक्तिमा पनि क्षमता विकास भइसकेको थिएन । काम गर्दै सिक्दै जानुपर्ने अवस्था छ । सरुवा बढुवाका कुरा आदि कारणले गर्दा पनि र सिकिसकेको कुरालाई फेरि नयाँ टिम जाने फेरि सिक्नुपर्नेजस्ता कुराले पनि ढिला हुन गएको अवस्था हो । मुख्य त सम्झौता तोड्नु नै ढिलाइको कारण हो ।
० काठमाडौँ उपत्यकामा खानेपानीको दैनिक माग ३४ करोड लिटर छ तर आपूर्ति जम्मा आठ करोड लिटर । यसमा मेलम्चीको १७ करोड लिटर थप भएको छ । समस्याबाट त अझै मुक्त हुन सकिएन नि ?
अहिले १७ करोड ल्याए पनि तत्काल चार करोड लिटर थप गर्न सक्छौँ । मेलम्चीको वातावरणका लागि छोडिएको चार करोड लिटर तत्काललाई ल्याउन सक्ने अवस्था छ । त्यसले हामीलाई २१ करोड लिटर हुन्छ । सुक्खायामको कुरा गर्ने हो भनेदेखि उपत्यकामा आठ करोड लिटर उत्पादन गरिरहेका छौँ । त्यो सबै गर्दा करिब ३० करोड लिटर पानी हामीले प्राप्त गर्छौं । यसलाई राम्रोसँग व्यवस्थापन गर्ने हो भने याङ्ग्री र लार्के नआउन्जेल पानीको पर्याप्तता महसुस गर्न सक्छौँ । याङ्ग्री र लार्केका लागि पनि तयारी भइरहेको छ । भर्खरै अर्थ मन्त्रालयमा एडीबीसँँग छलफल गरेका थियौैँ । उहाँहरू पनि सकारात्मक हुनुहुन्छ । थप १७÷१७ करोड लिटर ल्याउने प्रयास अब अगाडि बढ्छ । त्यससँगै सुन्दरीजलमा प्रशोधन केन्द्र पनि बनाउनुपर्छ । अहिलेदेखि काम भइरहेको छ । यो सिकाइले हामीलाई याङ्ग्री र लार्केको पानी ल्याउन र समयमै आयोजना सम्पन्न गर्न मद्दत गर्छ । वास्तवमा आयोजना कार्यान्वयन हुन त २०औँ वर्ष लागेको होइन नि । व्यवस्थापन, काम कसरी गर्ने भन्ने कुरामा हामीले धेरै लामो छलफल ग¥यौँ तर निर्माणकार्य सुरु भएको त सन् २००९ को फेबु्अरीदेखि हो । ठ्याक्कै १२ वर्षमा आयोजना सम्पन्न भएको छ ।
० फोहर पानी तथा ढलबाट मल, विद्युत्, ग्यास उत्पादनका योजनाहरू थिए, त्यसमा कस्तो प्रगति भइरहेको छ ?
दिसाजन्य फोहोर, घरबाट निस्केको फोहोर जुन छ, त्यसलाई फोहोरकै रूपमा भन्दा पनि ‘रिसोर्स’का रूपमा लिने विश्वव्यापी मान्यता नै भइसक्यो । त्यसमा मेजर तीनवटा चीज छन् । एउटा, पानी हो, जुन शुद्ध गरेर पुनः प्रयोग गर्न सकिन्छ । पिउनै नसके पनि अन्य उपयोगका लागि त प्रयोग भइहाल्छ । दोस्रो, यसमा भएका जति पनि रसायन तत्व छन् त्यसलाई ‘फर्टिलाइजर’का रूपमा प्रयोग गर्न सकिन्छ । अहिले पनि हामीले मलका रूपमा प्रयोग गर्न सकिन्छ, मल उत्पादन हुन्छ । अर्को अहिले पनि हामीले गुह्ेश्वरीमा फोहोरबाट बिजुली निकालेका छौँ । २४० किलोवाट विद्युत् अहिले पनि उत्पादन गरिरहेका छाँै । तीन करोड लिटर प्रशोधन गरेर विद्युत् उत्पादन भएको छ । ऊर्जा, मल, पानी उत्पादन हुने भएकाले यो रिसोर्सका रूपमा आइसकेको छ । गुह्ेश्वरीमा जस्तो अन्य स्थानमा पनि हामीले बढावा दिन्छौँ ।
० मेलम्ची आएपछि खानेपानी महसुल वृद्धि हुने भनिएको छ कति हुन्छ ?
हामी खानेपानी महसुल निर्धारण आयोगको पदाधिकारी नियुक्ति प्रक्रियामा छौं । यो बीचमा लामो समय आयोगमा पदाधिकारी छैन । आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकमा निर्माण गरेका खानेपानीसम्बद्ध भौतिक संरचना लगानी छन्, त्यो लगानी नेपाल सरकारले उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई ऋणस्वरुप प्रदान गरेको रकम हो । ऋण लिएपछि फिर्ता गर्नुपर्छ । त्यो फिर्ता गर्ने भनेको उपभोक्ताबाट उठाउने हो । महसुलबाटै पैसा फिर्ता आउने हो । त्यो लागत भरणका हिसाबका लागि पनि महसुल वृद्धि हुन्छ । तर म अहिले नै ठ्याक्कै भन्न सक्दिनँ । किनभने त्यसैका लागि आयोग पदाधिकारी नियुक्ति प्रक्रिया सुरु भएको छ । केयूकेएलले माग गरेको महसुलमा आयोगले अध्ययन गरी औचित्यता खुलाएर निर्धारण गर्नेछ । खानेपानीलाई संविधानको मौलिक हकअन्तर्गत राखिएकाले महसुल निर्धारण गर्दा न्यूनतम पानी प्रयोग गर्नेको एउटा महसुल हुन सक्छ । मेलम्चीको धेरै पानी उपभोग गर्नेलाई धेरै पैसा तिर्नुपर्ने हुन सक्छ ।
० मेलम्चीको आर्थिक लगानीका बारेमा बताइदिनुस् न ?
अहिलेसम्म करिब ३० अर्बजति खर्च भएको छ, टनेल र हेडवक्र्सलगायतका काममा । यो मेलम्ची आयोजनाको हेडवक्र्सदेखि सुन्दरीजलको प्रशोधन केन्द्रसम्मको खर्च हो । पीआईडीको २० अर्ब रुपियाँ खर्च भएको छ । यसमा जाइकाको पनि लगानी छ । मुख्य गरी एडीबीको सहुलियत दरको ऋण हो ।
० सबै उपभोक्ताले अझै पनि पानी पाइरहेका छैनन् नि ?
उपत्यकाको खानेपानी विगतमा हाहाकार थियो । जनसंख्याको अनुपातमा पानी उपलब्धता अत्यन्त न्यून थियो । आम उपभोक्ताले धैर्यधारण गरेर मेलम्चीलाई कुरेर बस्नुभयो, म उहाँहरुप्रति आभार व्यक्त गर्न चाहन्छु । यो धैर्यताको लागि सह«ाना गर्छु । अबका दिनमा नयाँ युगमा प्रवेश गरेको अवस्था छ । पुरानो प्रणालीबाट दिइरहेका छौं । जुन ठूला पाइप अगाडि छन्, त्यसमा पर्याप्त पानी आइरहेको छ । त्यहाँ पम्प गरिदिंदा पुछारको घरमा पानी पुगेको छैन । हामी सबैले विगतका दिन सम्झेर पुछाराका उपोक्तालाई पानी दिनुपर्छ । पुरानो पाइप नहटाएसम्म ४० प्रतिशतसम्म चुहावट छ, त्यो पछि हट्छ । समान रुपले सबैलाई वितरण गरिदिनु हुन म आग्रह गर्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *