कर्णालीको सूर्खेतमा पत्रकारहरुको कुम्भ मेला सम्पन्न

विविध समाचार

काठमाडौं । नेपाल पत्रकार महासंघले गत पुस ८ र ९ गते ६७ औं साधारणसभा सुर्खेतको सिटी हलमा सम्पन्न गरेको छ । उक्त सभाको प्रमुख अतिथिमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी सरिक हुनुभएको थियो । त्यसैगरी विशेष अतिथिमा कर्णाली प्रदेशका मुख्य मन्त्री जीवनबहादुर शाही रहनुभएको थियो । सभामा माओवादी नेता कृष्णबहादुर महरा र नेकपा एमालेका महासचिव शंकर पोखरेलको पनि उपस्थिति रहेको थियो । सो सभाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो ।

सभाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले देशमा प्रजातन्त्र पुनस्र्थापनादेखि गणतन्त्रसम्म आइपुग्दान नेपाली पत्रकारहरुले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ता जनतामा निहीत गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । यसरी महत्वपूर्ण भूमिका निर्वाह गर्दै आए तापनि पछिल्लो समय विद्युतीय सञ्चारमाध्यमको विकाससँगै युट्युब, फेसबुक, टिकटकलगायत विभिन्न सामाजिक सञ्जालहरुले पत्रकारिता पेशालाई धराममा पार्दै लगेका छन् ।

र कतिपय पत्रकारहरुले सम्प्रेषण गरेका समाचारहरु विश्वासनीयता र भरपर्दो नभएको पाइँदै आएकाले यस्ता समाचारहरुलाई तथ्यपूर्ण र विश्वासिलो बनाउन पत्रकारहरुलाई सुझाव दिनुभएको थियो । यसैगरी राष्ट्रपति भण्डारीले विभिन्न पत्रकारहरुलाई राजनीतिक भागबन्डा अनुसार तय गरिएको स्वतन्त्र प्रेस सेनानी नामक पुरस्कार वितरण पनि गर्नुभएको थियो ।

यसरी स्वतन्त्र प्रेस सेनानी पुरस्कार पाउने पत्रकारहरु यस प्रकार रहेका छन् । उक्त पुरस्कार पाउने पत्रकारहरु किशोर श्रेष्ठ, गोपाल बुढाथोकी, ईश्वरी वाग्ले, बबिता बस्नेत, खिलबहादुर भण्डारी, दामोदरप्रसाद दवाडी, देवेन्द्र चुडाल, राजेन्द्र अर्याल, गगन विष्ट, भारतराज पोखरेल, भवानी बराल, कृष्णदेव लम्साल, अमृत लम्साल, रामभरत शाह, पुण्य गौतम, चित्राङ्ग थापालगायत रहेका छन् ।

त्यसैगरी कृष्णप्रसाद भट्टराई पुरस्कार नेपाल पत्रकार महासंघका पूर्व सभापति तथा राससका अध्यक्ष धर्मेन्द्र झाले पाएका छन् । गोविन्द वियोगी पुरस्कार गोविन्द पोखरेलले पाएका छन् भने कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार कमला केसीलाई प्रदान गरिएको थियो । उमासिंह राष्ट्रिय पत्रकारिता पुरस्कार प्रतिमा बुढालाई दिइएको थियो ।

यसैगरी कार्यक्रममा किशोर नेपाल, हरिहर विहरी, सुरेश आचार्यलगायत वरिष्ठ पत्रकाहरुको उपस्थिति रहेको थियो । उनीहरुले हिजो परिवर्तनको पहरेदार रहेको पत्रकारिता पेशा पछिल्लो समय ओझेलमा पर्दै गएको र यसले समाजलाई खासै फाइदा नहुने भन्दै चिन्ता व्यक्त गरेका थिए । समाज परिवर्तनको लागि दरिलो जग ठानिएको पत्रकारिता पेशाले सामाजिक सञ्जालको प्रभावले मुलुक र समाजलाई नै अप्ठेरोतिर धकेल्दै लगेको भन्दै त्यसमा सुधार ल्याउन सम्बन्धित निकाय सचेत हुनुपर्ने सुझाएका थिए । (तामोकाशी सन्देशमा समाचार छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *