सरकारको साँचो केपी ओलीको हातमा

राजनीति समाचार

बद्नाम पात्र नै गठबन्धनको साथमा
काठमाडौं । सरकारबाट जनताले अपेक्षा गरेका हुन्छन् । प्रधानमन्त्रीको सचिवालयमा भ्रष्टहरुले स्थान पाउने गरेका छन् । दलका नेताहरुलाई डुबाउने तिनै कर्मचारी हुन् । जो राजनीतिक आडमा कर्मचारी संगठनको नेता बनेका हुन्छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल कांग्रेसको घमण्डलाई तोडेर वामपन्थी सरकारको नेतृत्व गर्न आएका छन् । सुरुमै एमाले, माओवादी, समाजवादी, जसपा र जनमत पार्टी बिच गठबन्धन हुने वातावरण बनेको भए गणतन्त्रको विरोधी राप्रपा, संघीयताविरोधी रास्वपा पार्टीको साथ लिनु पर्दैनथ्यो ।

संसदमा एमाले ७९, माओवादी ३२, जसपा १२, समाजवादी १०, नागरिक उन्मुक्ति ४, स्वतन्त्र ३, नेमकिपा र मसाल १÷१ सांसद गरी १४२ हुने थिए । तर एमाले र समाजवादीले एकअर्काको विरोध गर्दा र कांग्रेसको विश्वासमा समाजवादी र माओवादी फस्दा सम्भावित गठबन्धन बन्न सकेन । राष्ट्रपतिले दिएको अन्तिम दिनमा एमालेको योजनामा माओवादी कांग्रेससँग भड्कियो । गठबन्धन भत्काउन सफल कांग्रेस नेता डा.शेखर कोइराला खुसी हुन थाले ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापनलाई गाली गर्न थालेका छन् । देउवालाई उचालेर बोत्तल रित्याएका डा.प्रकाशशरण महत, बालकृष्ण खाण, डा.आरजु राणा, मञ्जु खाणको टिम यति खेर चुप बसेको छ । पूर्णबहादुर खड्का, कृष्ण सिटौला, रामचन्द्र पौडेललाई गाली गर्ने धम्क्याउने कांग्रेसीहरुको बल एकाएक बिलाएको छ ।

कांग्रेसले आफ्नै कारण गुमेको सत्ता अब फर्काउन सक्दैन । कांग्रेससँग जोडी मिल्ने रवि लामिछानेको रास्वपाको राजतन्त्र बाहेक हिन्दुत्वलाई साथ दिने डा. शेखरको समूह सक्रिय हुने थियो । संसदमा गणतन्त्र र संघीयताको पक्षधर भारतीय निकट रहेका महन्थ ठाकुरसँग चार सांसद छन् । वर्तमान सरकारलाई त्यो टिमले साथ दिएको छ ।

सरकारले स्तरीय ढंगले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना ल्याउनुपर्छ । तर कांग्रेसभन्दा वामपन्थीहरुप्रति नै जनताको विश्वास छ । केपी ओलीको कारण वामपन्थीप्रतिको विश्वास जनताबाट घटेको पनि हो । दक्षिण एसियाकै ठूलो र शक्तिशाली पार्टी तीन टुक्रा भयो । पार्टी टुक्रा भएकोमा गर्व गर्ने एमाले पार्टी नै हो । एमालेका नेता ईश्वर पोखरेल, शंकर पोखरेल विवेक र बुद्धि भन्दा बलको धम्की दिने र महेश बस्नेतजस्ता डनहरुलाई जनताले पत्याएनन् ।
अहिले केपी ओली फेरी षड्यन्त्रको जाल बुन्दैछन् । विगतमा प्रधानमन्त्री हुँदा अस्वीकार गरेको संविधान र कानूनबाट बनेको सरकार सञ्चालन कार्यदलको कमाण्डर ओली नै भएका छन् । सरकारका साझा कार्ययोजना बनाउन अर्थमन्त्री विष्णु पौडेललाई कार्यभार सुम्पेको थियो । ओली आफ्ना निकटहरुलाई सत्ताको रजगज दिलाउन चाहन्छन् । संविधान र प्रशासन सुधार आयोगले दिएको सुझावअनुसार संघीय सरकारमा १५ र प्रदेशमा ७ मन्त्रालय राख्नुपर्ने सुझाव लत्याउन पौडेल सक्रिय छन् ।

जो आफुलाई कम्युनिष्ट भन्छन्, तर व्यवहार र आचरणमा भ्रष्टाचारीका रुपमा परिचित छन् । राज्यस्रोतबाट गुट चलाउने प्रचण्डले सरकारको नेतृत्व गरेको मन परेको छैन । केपी ओलीलाई सत्ताको लोभ बढ्दै जाँदा प्रचण्डको कुर्सी हिजोमात्र प्राप्त बहुमतले दुई वर्षका लागि बलियो बनाएको छ । केपी ओलीले गरेजस्तो घात जस्तो प्रचण्डले घात गर्ने देखिँदैन । नैतिक दायित्व र जनताका अगाडि प्रचण्ड गलत बन्न चाहँदैनन् । जसरी विगतमा आफैंले गरेको हस्ताक्षर, आफैंले कुल्चेर एमाले अध्यक्ष ओलीले दुई पटकसम्म संसद भंग गरे ।

राष्ट्रपतिको साथ, सभामुखको सहयोग पाएपछि प्रधानमन्त्रीले व्यवस्था नै ध्वस्त बनाउँछन् भन्ने विगतको दिन सम्झँदा एमाले, माओवादी सत्ता गठबन्धन होला र ? जनताले चाहेको परिवर्तन संस्थागत होला भन्ने विश्वास थिएन । एमाले बिग्रने भनेको केपी ओलीको घमण्डले हो । उनलाई उचाल्ने ईश्वर पोखरेल जनताबाट नराम्रोसँग पराजित भएका छन् । पार्टी एकता हुँदा पद खुस्किने डर यो टोलीलाई छ । मन्त्री पदका लागि लडाई चलिरहँदा बद्नाम नेताले सरकारको साथ पाएका छन् । नीतिगत सुधार हुने हो कि होइन भन्ने हेर्न बाँकी छ ।(तामाकोशी सन्देशमा समाचार छ)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *