बद्नाम सांसदको संसदीय समितिमा होडबाजी

राजनीति समाचार

काठमाडौं । स्वार्थको द्धन्द जोडिएका व्यक्ति सांसद हुँदै संसदीय समिति र मन्त्री बनाइदा परिणाम कस्तो आउला ? तिनले जनताको पक्षमा काम गर्दछन् कि आफ्नै हितमा ? प्रधनानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि उच्चस्तरीय संयन्त्रको कमाण्ड केपी शर्मा ओली, नारायणकाजी श्रेष्ठदेखि रवि लामिछानेसम्मले यो सरकारको मुख्य जोड सुशासन भएको भन्दै रटान लगाइरहेका छन् तर वरिपरि भ्रष्ट र विगतमा दाग लागेका अनि स्वार्थको द्धन्द जोडिएका व्यक्तिलाई च्यापेर उनीहरुले कस्तो सुशासन कायम गराउलान् ? त्यो चाहिँ हेर्न बाँकी नै छ ।

संसदहरु संसदीय समितिमा बसेर कसरी आफ्नो स्वार्थ सिद्धी पूरा गर्नतिर लाग्छन् भन्ने बुझ्न अघिल्लो संसदतिर फर्काै । जतिखेर बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधनका लागि विधेयक बनेर संसद्मा पुग्यो । त्यो समयमा अहिले जेलमा रहेका इच्छाराज तामाङ, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ र फेरि सांसदमा दोहोरिएका वीरेन्द्रप्रसाद महतोहरु संसदीय समितिमा थिए । उनीहरुकै कारण आफूलाई सहज हुनेगरी बाफिया ऐन बनाउन खोजे । जस्को चर्काे आलोचना र विरोध भयो ।

त्यही समयमा लघुवित्तका लगानीकर्ता गोपाल दहितसहित विमल केडिया र उदयशमशेर राणाहरुले आफू अनुकुलको ऐन बनाउन खोजे । अहिले पनि त्यस्तै स्वार्थ समूहको बोलबोला देखिएको छ संसदमा । उनीहरुले जनताको पक्षमा ऐन कानुन बनाउँछन् ? वा आफ्नै पक्षपोषण हुने गरी कानुन निर्माण गर्दछन् ?

मूल नै धमिलो भए पनि तलतिर संग्लो पानी आउँछ कसरी ? अहिलेको सरकारको मुली मानिएका प्रचण्डसँग तारान्तार जोडिने नाम हो उनकै घरपेटी अर्थात शैलुङ कन्स्ट्रक्सनका मालिक शारदा अधिकारी । घरेपेटी बनेको नाताले शारदाले सरकारी ठेक्कापट्टा हात पारेर अलपत्र पार्दै आएका छन् । नीति निर्माण तहमा उनै शारदाहरु हाबी हुने खतरा उत्तिकै देखिन्छ । उता प्रहरीमा अनुसन्धान चलिरहेको व्यक्ति रातारात गृहमन्त्री बने । रवि लामिछानेको नागरिकता विवाद अदालतमा विचराधिन छ ।

माघ ११ गतेमात्र रवि लामिछानेको नागरिकता प्रकरणले एउटा टुंगोमा पुग्नेछ । प्रहरीका अधिकारीहरु यो प्रकरणमा ढिसमिस हुने देख्दैछन् । कारण हिजो त्यही सिडियो कार्यालय,गृह मन्त्रालय र संसद सचिवलायले नागरिकबिहिन व्यक्ति देशको सांसद बन्न मिल्दैन भनेकोमा अस्ति सर्वाेच्चमा ती निकायले पठाएको जबाफमा रविलाई बचाउन खोजिएको प्रष्ट देखिन्छ । जसरी नवराज सिलवालविरूद्ध कीर्ते मुद्धामा अनुसन्धान चल्दाचल्दै सिलवाल सांसद भएपछि अनुसन्धान नै ढिसमिस भएको थियो ।

उस्तै हुने देख्दैछन् रविको नागरिकता र राहादनीको मुद्धा पनि । रविकै पार्टीका अर्काे सांसद तथा पूर्वमन्त्री शरदसिंह भण्डारीका ज्वाई विराजभक्त श्रेष्ठ व्यापारिक पृष्टभूमिकै व्यक्ति हुन उनी संसदको सबैभन्दा प्रभावशाली मानिएको अर्थ समिति ताकेर बसेका छन् । प्रत्यक्ष निर्वाचित तोसिमा कार्कीलाई पन्छाएर समानुपातिकबाट भित्राइएको डा. चन्दा कार्कीलाई स्वास्थ्यमन्त्री बनाउने तयारी भित्रैभित्रै चल्दैछ । यस्ता स्वार्थ जोडिएका समूहको सूची अलि लामै बन्न सक्छ ।

जस्तो काँग्रेसबाट सांसद बनेका विनोद चौधरी पनि उसैगरी अर्थ समिति ताकिरहेका छन् । अघिल्लो दिनसम्म काँग्रेस रहेका र काँग्रेसबाट टिकट नपाएपछि रातारात एमाले बनेका प्रभु ग्रुपका देवीप्रकाश भट्टचन यसैगरी संसदको प्रभावशाली समिति ताकिरहेका छन् । भ्रष्टाचार मुद्धामा डामिएका विक्रम पाण्डे मन्त्री ताक्नेमा छन् । बैंक,टेलिकम,मेडिकल सञ्चालक वीरेन्द्रप्रसाद महतो पनि यसैगरी संसदीय समिति ताकिरहेका छन् । चल्तीका म्यानपावर व्यवसायी एलपी साँवा लिम्बू चल्तीका म्यानपावर व्यवसायी ।

संसदको प्रभावशाली समिति ताकेर खेल्न खोजिरहेका छन् उनी पनि । अहिले ठूला भनिएका पार्टीका शीर्षस्थ कतिपय नेतामाथि दाग लागेको छ । जस्तो गोकुल बास्कोटामाथिको ७० करोडको दाग,भानुभक्त ढकालमाथि ओम्नी काण्ड,योगेश भट्टराईमाथि वाइडवडी काण्डको दाग छ । त्यही कारण यस पटक विगतमा दाग नलागेका पृथ्वीसुब्बा गुरुङदेखि ठाकुर गैह्रेदेखि अखिलबाट आएकी सुनिताहरुलाई अवसर दिने ओलीको तयारी रहेको बालकोट निकट स्रोतको भनाई छ । (तामाकोशी सन्देशमा समाचार छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *