संघीय र प्रदेश सरकारले गर्लान् त काम

सम्पादकीय

सम्पादकीय
गत पुस ११ गते नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा वामपन्थी सरकार गठन भएको छ । प्रचण्ड नेतृत्वको सरकार गठन भएसँगै हिजो विश्वासको मत पनि लिएको छ । विश्वासको मत लिएर सरकार विस्तारको तयारी गरिरहँदा प्रदेश सरकार पनि गठन भइरहेको छ । अधिकाशं प्रदेशमा वामपन्थीइतरको सरकार बनेका छन् ।

मधेस प्रदेशमा सत्तारुढ गठबन्धनका जनतम पार्टीको नेतृत्वमा सरकार बन्ने समभावना रहेको छ । त्यसैगरी सुदूरपश्चिममा पनि प्रदेश सरकार आज गठन हुँदैछ । जनताको जनमतले अहिले परिवर्तन चाहेको देखाएको छ । यही परिवर्तनकै फलस्वरुप रास्वपा, जनमत, राप्रपाजस्ता राजनीतिक दलहरु उदाएका छन् र राजनीतिमा आएका छन् । जनताले चाहेको यो परिवर्तनको सम्बोधन अब सरकारमा जानेहरुले गर्छन कि गर्दैनन् त्यो त हेर्न बाँकी नै छ ।

तर जनताले चाहेको परिवर्तनको आभासा हुन सकेन भने भोलिका दिनमा यी नयाँ राजनीतिक दलहरु पनि थन्को लाग्ने सम्भावना देखिन्छ ।मुलुक विकासको विभिन्न पक्षहरुबाट कमजोर बनिरहेको अवस्थामा जनताले नयाँ संघीय र प्रदेश सरकारबाट परिवर्तनको आशा राखेका छन् । विगतमा भएको राजनीतिक भागवण्डा र सत्तालिप्साकै कारण विकास निर्माण हुन सकेन ।

उद्योगधन्दाहरु फस्टाउन सकेनन् र पलायन भए । श्रमशक्ति विदेसिन बाध्य भए । अहिलेको राजनीतिमा नयाँ अनुहार देखिएपनि व्यवहार भने पुरानै राजनीतिक दलहरुको जस्तै देखिन थालेको छ । विगतमा बहुमतको सरकारले पनि मुलुक र जनताका लागि केही गर्न नसकेको र परमादेशी सरकारबाट पनि जनता आजित भएको गत मंसिरमा भएको संघीय तथा प्रदेश निर्वाचनले नै देखाएको छ ।

अहिले पनि सात राजनीतिक दल र तीन स्वतन्त्रको समर्थनबाट संघीय सरकार बनेको छ । यो सरकार कति समयसम्म टिक्न सक्ला त्यो आफ्नो ठाउँमा छ, तर यो सरकारले के गर्न सक्छ र के गर्नुपर्छ यो जनताको प्रत्यक्ष चासोको विषय हो । विगतका दिनमा काम गर्न नसकेका र मौका नपाएकाहरुका लागि यो पटक अवसर पनि हो । विगतको आफ्नो छविलाई सुधार गर्दै पुराना राजनीतिक दलले जनताका निम्ति काम गर्ने र नयाँ आएका दलहरुलाई पनि जनताको लागि काम गर्नुपर्ने नैतिक शिक्षा दिन जरुरी छ ।

पुराना राजनीतिक दलले पुरानै नीति अवलम्बन गरे भने नयाँ राजनीतिक दलले त्यही सिक्ने अवसर त पाउने होइनन् भन्ने जनताको जिज्ञासा हुने गरेको छ । नेपालको राजनीतिक सन्दर्भमा पुरानाले नयाँ सिक्ने भन्दा पनि नयाँले पुराना दलहरुकै प्रवृत्ति र आचरणको बाटो पछ्याउने इतिहास छ । सोही इतिहासबाट पिल्सिएका जनताले नयाँ राजनीतिक दलहरुलाई अवसर दिएका छन् ।

यो अवसरलाई जनताको लागि सदुपयोग गर्नु दलहरुको कर्तव्य र दायित्व पनि हो । सरकारले विगतको समस्यालाई बिर्सिएर समन्वयकारी भूमिका निर्वाह गर्दै केन्द्रीय सरकार र प्रदेश सरकारले महत्वपूर्ण काम गरेर देखाउनुपर्ने जरुरी भएको छ । मुलुकका निम्ति त्यो आजको आवश्यकता पनि हो । (तामाकोशीसन्देशबाट)
(

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *