एक शक्तिशालीसहित दुई मालदार मन्त्रालय रविको हातमा

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पत्रकारिता क्षेत्रबाट राजनीतिमा आएका हुन् । अहिले रविको पार्टीले संसद्मा चौथो स्थान हासिल गरेको छ । यसरी रविको पार्टीले संसद्मा चौथो स्थान प्राप्त गरेपछि उनले उपप्रधानमन्त्रीसहित गृहमन्त्री पाएका छन् । त्यस्तै रवि लामिछानेको पार्टीले श्रम तथा रोजगार मन्त्रालय पनि हात पारेको छ । अब रविको काँधमा वैदेशिक रोजगारीमा जाने युवायुवतीहरुको समस्याको समाधान गर्ने अभिभारा थपिएको छ ।

लामिछानेले पत्रकारिता गर्दा अधिकांश युवायुवतीहरु विदेशमा गएर अलपत्र परेको समाचार सम्प्रेषण गरेर चर्चा कमाएका थिए । त्यही समाचारलाई भँजाएर राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरी राजनीतिमा होमिए । उनी पहिला समाचार सम्प्रेषण गर्दथे भने अहिले रविको समाचार सम्प्रेषण पत्रकारहरुले गर्दै आएका छन् । सञ्चारकर्मीबाट राजनीतिमा आएपछि उनले कति काम गर्न सक्छन् कति सक्दैनन् त्यो हेर्न सर्वसाधारण जनताले नियालिरहेका छन् ।

सुरक्षाको दृष्टिकोणले सम्वेदनशील मानिएको गृहमन्त्रालय अहिले उनले सम्हालेका छन् । त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि र श्रम तथा रोजगार जस्ता महत्वपूर्ण मन्त्रालय पनि उनैले हात पारेका छन् । अब उपप्रधान तथा गृहमन्त्री रविले नेपालको शिक्षालाई गुणस्तरीय, प्रतिपर्धात्मक र व्यवस्थित बनाएर अगाडि बढाउछन् कि फेरि शैक्षिक माफियाहरुसँग मिलेमतो गरी कमाउधन्दा शुरु गर्छन् त्यो भने हेर्न सर्वसाधारण आतुर छन् ।

त्यस्तै वैदेशिक रोजगारीमा गएका युवायुवतीले खेपेको सास्तीको सन्सनीपूर्ण समाचार टिभीमा प्रत्यक्ष लाइभ गराएर चर्चा कमाएका रविले श्रम तथा रोजगार मन्त्रालय पनि उनको पार्टीको भाग परेपछि अब कसरी अगाडि बढ्छन् । अध्ययन र रोजगारीका लागि विदेश जाने युवायुवतीहरुलाई नेपालमै रोकेर गुणस्तरीय शिक्षासहित रोजगारीको सिर्जना गरेर नेपालमै उपलब्ध गराउँछन् कि उनी पनि मेनपावर सञ्चालकहरुसँग मिलेर आफ्नो पार्टीको आम्दानीको स्रोत बनाउछन् त्यो भविष्यले देखाउने छ ।

अहिले रवि नेतृत्वको पार्टीले सम्हालेको मन्त्रालय महत्वपूर्ण रहेको छ । त्यसमा उपप्रधान तथा गृहसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय जस्ता महत्वपूर्ण मन्त्रालय हात पारेका छन् । यी तिनैवटा मन्त्रालय मालदार मन्त्रालयमा गनिन्छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *