दीपककुमार रिसाल, मेयर, गोकर्णेश्वर नगरपालिका
गोकर्णेश्वर नगरपालिका धार्मिक तथा ऐतिहासिक क्षेत्र हो । स्थानीय निर्वाचनपश्चात यहाँको समग्र विकास कसरी भइरहेको छ ? स्थानीय सरकारले जनताका आधारभूत आवश्यकता र युवा उद्यमीको विकासका लागि ल्याएको योजनाहरु, कर बृद्धिको ज्यादतीलाई कसरी कम गर्न सकिन्छ ? दिपक कुमार रिसाल शिक्षा, स्वास्थ्य, सडक र भौतिक पूर्वाधार लगायतका क्षेत्रलाई व्यवस्थित गरी गोकर्णेश्वरलाई व्यवस्थित सहर बनाउने योजनामा होमिएका छन् । लामो समय गोकर्णेश्वर नगरपालिकामा नै प्रमुख सल्लाहकार बनेर काम गरेका रिसाल नगर भित्र कसरी काम गर्ने ? कुन योजनालाई बढी प्राथमिकता दिने ? नागरिकहरूका समस्या के कस्ता छन् ? लगायतका विषहरुसँग आफु राम्रोससँग जानकार भएको बताउँछन् । उनै मेयर रिसालसँग नगरको विकास, प्राथमिकताका विषय, व्यवसायिक क्षेत्रको विकासमा पालिकाको योजना लगायतका विषयमा तामाकोशी सन्देश साप्ताहिकको प्रतिनिधिले गरेको कुराकानीको अंशः
० स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक वर्ष पनि हुन लागेको छ । यो अवधिमा देखिने गरी भएका विकासका कामहरु के के हुन् ?
हामीले विशेष गरी पूर्वाधारका कामहरु गरेका छौँ । जस्तोः बाटोघाटो, स्थानीय भवनहरु, वडा भवनहरु ठाउँ ठाउँमा पिच गर्ने ढलान गर्ने । खानेपानीको पाइपलाइन बिच्छाएर पानीको सुविधा, ढलहरुको छुट्टै व्यवस्थापन । पुलहरुको निर्माणका साथै अन्य कामहरु गरेका छौँ । पुषको अन्तिमसम्ममा हामीले ४० प्रतिशत काम गरिसकेका छौँ अब ६० प्रतिशत मात्र काम बाँकी रहेको छ । हामीले फोहोरमैला व्यवस्थापन, खानेपानीसम्मको काम ग¥यौँ। विकासका पूर्वाधार निर्माण पनि सुरु गरेका छौं।
जोरपाटी–सुन्दरीजल बाटो विस्तारको काम सक्नेदेखि नगरले अघि सारेका अन्य आयोजना पूरा गर्ने क्रममा छौं । यो क्षेत्रको पर्यटकीयदेखि अन्य विकासका लागि पनि मैले केही योजना बनाएको छु। यो योजना अबको पाँच वर्षमा कार्यान्वयनमा लैजाने हो, त्यसपछि गोकर्णेश्वर स्वःनिर्भर हुन्छ। सुन्दरीजलदेखि शिवपुरीसम्मको पर्यटकीय क्षेत्रदेखि तारेभीरसम्मको विकासका कामहरु गर्दै छौं । त्यस्तै धार्मिक पर्यटकका लागि गोकर्णेश्वर मन्दिर, उत्तरवाहिनी, सुन्दरीजलको बीपी संग्रहालयलाई पर्यटकीय रुपमा विकास गर्ने योजना अघि सारेको छु। हामीले १६ करोड रुपैयाँमा पुनःनिर्माण गरेका छौं। यो स्थान अब पशुपतिपछिको धार्मिकस्थल हुने छ। गोकर्णेश्वर नगरपालिकामा ९ वटा वडा छन् । उक्त वडाका वडा भवनहरू पूर्व मेयरको कार्यकालमा नै तयार भएको थियो । तर, नगरपालिकाको आफ्नै नगर भवन भने तयार भएको छैन । अहिले नगर भवन बनाउने तयारीमा पनि लागिरहेका छौं ।
० सबैभन्दा प्राथमिकतामा राखिएका कामहरु चाहिँ के के होलान् ?
हामीले प्राथमिकतामा राखेका काममध्ये नगरका गौरवका योजनाहरु रहेका छन् । जस्तो तारेभिरमा शिब र बुद्धको मन्दिर बनाउनका लागि डिजाइन भइसकेका छन् । पशुपतिदेखि सुन्दरीजलसम्मलाई हामीले धार्मिक प्लेटको रुपमा राखेका छौँ । उत्तरगया धाम र गोकर्णेश्वर मन्दिरहरु पुनर्निर्माणका काम गर्ने हाम्रो पाथमिकतामा रहेका कामहरु हुन् ।
० नगर क्षेत्रको स्वास्थ्यमा आम नागरिकको पहुँच पुर्याउन कस्तो योजना बनाउनुभएको छ, कसरी काम हुँदैछ ?
हामीले स्वास्थ्य क्षेत्रमा पनि धेरै राम्रा कामहरूको सुरुवात गरेका छौं । मैले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित रहेर घोषणा पत्रमा पनि धेरै विषयको समावेश गरेको छु । नगरपालिका भित्र नगर अस्पताल तयार भई सञ्चालनमा आइसकेको छ । उक्त अस्पतालको पछाडि सामुदायिक वनको जग्गा छ । धेरै प्रयत्न पश्चात् सामुदायिक वनको नगरले १५ रोपनी जग्गा प्राप्ति गर्यो । हामीले त्यो जग्गामा एक सय बेडको अस्पताल निर्माण गर्ने तयारी गरिरहेका छौं । सो अस्पताल निर्माण गर्नको लागि स्वास्थ्य मन्त्रालय २० करोड र नगरबाट १० करोड गरी जम्मा ३० करोड रुपैयाँको बजेट छुट्याएका छौं । अस्पतालको डीपीआर तयार भइसकेको छ । यसमा पुनः एक चोटि छलफल गरी ठेक्काको आव्हान गर्ने तयारीमा छौं ।
नगर अस्पतालबाट पनि अहिले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध भइरहेको छ । निति तथा कार्यक्रममा स्वास्थ्य बीमा गर्नको लागि डेढ करोड रुपैयाँ भन्दा बढी बजेट छुट्याएका छौं । ६८ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक, अपाङ्ग भएका ‘क’ र ‘ख’ वर्ग र कृषि कार्ड भएकालाई स्वास्थ्य बीमा गर्नको लागि सो रकम राखेका हौं । नगर भित्र लगभग ५ सय भन्दा बढीसँग कृषि कार्ड उपलब्ध छ । हामीले हालसम्म ३ हजार भन्दा बढीको स्वास्थ्य बीमा गरिसकेका छौं । बीमा गर्ने काम जारी छ । स्वास्थ्य बीमा कार्यक्रमबाट पनि धेरैले लाभ लिनु भएको छ । नगरपालिका भित्र नेपाल मेडिकल कलेज पनि पर्छ । सो कलेजमा उपचार गर्दा यहाँका स्थानीय नागरिकले पैसा तिर्न सकेनौं, शुल्क कम गर्नको लागि भनिदिनु पर्याे भन्दै मलाई फोन आउँन थाल्यो ।
सबै बिरामीको उपचारमा खर्च कम गरिदिनु पर्याे भनेर मैले भन्ने कुरा आएन । कसरी हुन्छ त्यो कलेजसँग सहकार्य गर्नु पर्याे भन्ने सोच बनाए । र, यस विषयमा कलेजसँग पनि छलफल गरे । हामीले कलेजको डाटा हेर्दा ९० प्रतिशत बिरामीको उपचार खर्च एक लाख रुपैयाँसम्म भएको पायौं । र, नगरपालिका भित्र बसोबास गर्ने स्थानीय तथा भोटर लिस्टमा नाम भएकाहरूलाई सो कलेजमा उपचार गराउँदा छुट हुने व्यवस्था मिलाएका छौं । सो कलेजमा एक लाख रुपैयाँसम्मको उपचार गर्दा ७० प्रतिशत रकम नगर र अस्पतालले बेहोर्ने ३० प्रतिशत उहाँहरूले तिर्नुपर्ने व्यवस्था मिलाएका छौं ।
जुनसुकै बिरामीको उपचार गर्दा पनि ७० प्रतिशत रकम नगरले बेहोर्ने व्यवस्था मिलाएको हो । नगर भित्र यो सेवा केही दिन अघिदेखि सुरु भएको छ । यो सेवाको लाभ १÷२ जानाले लिइसक्नु भएको छ । यो सेवा भएपछि स्थानीयहरू पनि निकै खुसी भएको पाएको छु । यो हाम्रो स्वास्थ्य क्षेत्रमा गरिएको पहिलो काम हो । यस्ता काम हामी गर्दै जाने छौं । नगरवासीलाई गुणस्तर स्वास्थ्य सेवा दिने हाम्रो प्रयत्न जारी छ । स्वास्थ्यको भवन निर्माण भई सञ्चालनमा आइसकेपछि उक्त सेवा नगरपालिका भित्र बसोबास गर्ने सबैलाई निःशुल्क गरी स्वास्थ्य बीमा पनि गरिदिने सोच बनाएको छु ।
० शिक्षातर्फ के कस्तो योजना ल्याउनु भएको छ ?
हामी शिक्षाको स्तरोन्नति हुनुपर्छ भन्ने तर्फ लागेका छौं । विद्यालयका प्राविधिक विषयको पढाई जरुरी ठानेका छौं । प्रत्येक सामुदायिक विद्यालयका एक–एक वटा प्राविधिक विषयको पढाइ हुने व्यवस्था मिलाउने सोचमा छौं । शिक्षाको स्तरवृद्धिका लागि छुटै दरबन्दी गरेर २६ जना शिक्षक राखेका छौं । सरकारी विद्यालयमा यहाँका स्थानीयले आफ्नो छोराछोरी पढाएको म देख्दिन । अब सरकारी विद्यालय पनि सबैको रोजाइको केन्द्र बनाउनको लागि छुटै अवधारणको अवलम्बन गरी काम गर्ने सोचमा छौं । स्थानीयले सरकारी विद्यालयकामा छोराछोरीलाई नपढाए पनि विद्यालयमा विद्यार्थीको चाप बढ्दो नै छ । नगर भित्रका प्रत्यके विद्यालयमा लगभग एक हजार भन्दा बढी विद्यार्थीको संख्या छ । तर, यहाँका स्थानीय चाहिँ पढ्दैनन् । विद्यालयमा बाहिरी जिल्लाका विद्यार्थीहरू आएर पढ्नुहुन्छ । यो पनि एउटा राम्रो पक्ष हो । हामीले शिक्षामा राजनीति गर्दैनौं भनेका छौं । जो आए पनि विद्यालयमा विद्यार्थी पढ्नु पर्याे ।
० धेरै ठाउँमा जनप्रतिनिधि र कर्मचारीबीच कुरा नमिलेको सुन्नमा आउँछ । तपाईंको पालिकामा यस्तो समस्या आयो कि आएन ?
संसार सम्झौतामा अडेको छ । श्रीमान्–श्रीमतीबीच सम्झौता हुन्छ । साथीसाथीबीच सम्झौता, राजनीतिक दलहरूबीच सम्झौता हुन्छ भने कर्मचारी र जनप्रतिनिधिबीच पनि सम्झौता त हुनैपर्छ । यो दुनियाँ सम्झौतामै अडेको न रहेछ !राजनीतिक पार्टीका प्रतिनिधि र कर्मचारी एक रथका दुई पांग्रा जस्तै हुन् । यी दुवैको समन्वयमा काम गर्नुपर्छ । राष्ट्रसेवा गर्न आएको कर्मचारी जनप्रतिनिधिलाई सघाउन भनेर आएको हो । तर, यो शतप्रतिशत लागू नहुँदो रहेछ । कर्मचारी पनि तीनथरिका छन् । थोरै कर्मचारी राम्रा छन्, केही माध्यम छन् र केही राम्रा छैनन् । लोकसेवा पास गरेर आएकै भरमा ऊ अब्बल दर्जाको हुन्छ भन्ने हुँदैन । हरेक कुरा मान्छेको आ–आफ्नो स्वभाव र शैलीमा भर पर्छ । जनप्रतिनिधि पनि सबै सिपालु हुँदैनन् । यसैले दुवै पक्षले मिलिजुली काम गरेमा परिणाम राम्रो आउँछ ।
० नगरलाई व्यवस्थित बनाउने र रोजगारी सिर्जना गर्ने योजना के हो ?
गोकर्णेश्वर गाउँ र नगर मिसिएर बनेको छ। बौद्धदेखि बागद्वारसम्म फैलिएको यो क्षेत्रमा दुवैलाई व्यवस्थापन गर्नुपर्ने छ। सुन्दरीजलदेखि माथिका गाउँहरुमा शिक्षादेखि स्वास्थ्यको पहुँच वृद्धि गर्नुपर्ने छ भने सहरमा स्वास्थ्यको चाप बढ्दै गएकाले गुणस्तरीय अस्पतालहरु निर्माण गर्नुपर्ने छ। यसका लागि नगरले गुरुयोजना र पञ्चवर्षीय रणनीति बनाएर काम गर्छ । म व्यवस्थित योजनामा काम गर्ने मानिस हुँ। यसले रोजगारी पनि दिन्छ। अब यो क्षेत्रमा रोजगारीका कार्यक्रमहरु वृद्धि गर्नुपर्ने छ। यसका लागि मेरो कार्यकाल स्वर्ण बनाउने योजना छ। मैले केही कुरा आफ्नो घोषणापत्रमा पनि उल्लेख गरेको छु। म यहाँ शिक्षा र स्वास्थ्यका लागि धाएर अरु नगर वा महानगरसम्म पुग्न नपरोस् र ग्रामीण पुरुष र महिलाहरुले पनि काम गर्न सक्ने हुनुपर्छ भनेर योजना बनाएर काम गर्ने छु। त्यस्तै अहिले धेरै देखिएको समस्या युवा बेरोजगारी हो। यसका लागि युवाहरुलाई प्राविधिक शिक्षामा संलग्न गराएर गोकर्णेश्वरभित्रै त्यसको विस्तारको काम गर्ने छु। हस्तकला, कृषि उत्पादन र सीपमूलक रोजगारीका क्षेत्रमा लगानी गरेर काम गर्नेछु ।
० भन्नलाई गाउँ गाउँमा सिंहदरबार भनिदै छ तर जनताले यस्को प्रत्याभू्त गर्न पाएनन् भन्ने गुनासो पनि उठ्दै छ । यसबारेमा के भन्नुहुन्छ ?
गाउँ गाउँमा सिंहदरबार भन्नुको मुख्य कारण सानो कामलाई पनि टाढा जान नपरोस्, गाउँमै काम भएको कारणले भनिएको पनि हो । हामी प्रजातन्त्रको अभ्यासमा छौँ । जनताको माग पनि धेरै नै महत्वकांक्षी नै छ । हामी टेक्नोलोजीको कारणले अन्य देशको तुलनामा पछि छौँ । हिजो सेवा लिन केन्द्रमा धाउनु पर्ने थियो आज परेको छैन । कृषि, पशु, ज्याष्ठ नागरिकका छुट्टा छुट्टै थिए । त्यहि अनुसार धाउनु पथ्र्यो तर आज एउटै कार्यालयबाट सम्भव भएको छ । हामीसँग नभएको काम भनेको नापी र मालपोत मात्र हो यो पनि पूरा भएपछि त कतै जानै परेन नी । यहि कारणले धेरै सुबिधा भएको देखिन्छ ।
० यो नगरपालिकाको प्रमुख समस्या भनेको बर्खा लागेसँगै नगरपालिका भित्र ढलको समस्या, डुबान, बाढी पहिराको समस्या हुने गरेको छ, यी समस्याको दिगो व्यवस्थापनको लागि कस्ता योजनाहरू अगाडि सार्नु भएको छ ?
नगरपालिकाले प्राकृतिक प्रकोपका समस्याहरूलाई न्यूनीकरण गर्नको लागि बजेट पनि छुट्याएको छ । नगरभित्र बाढी तथा डुबानको समस्या चुनौतिको रूपमा देखिएको छ । यसको जोखिम न्यूनीकरण तथा दिगो समस्या समाधानको लागि नगरपालिका लागि रहेको छ । पहिला ढल निकास गर्ने पाइप साना साइजका थिए । ती पाइप घरबाट नै निस्किएको पानीले भरिन्छ । ढल पाइप सानो भएको कारणले बर्खा वा पानी परेको समयमा सहज रूपमा पानी निकास हुन सक्दैन । बाटोबाट खोला बगे जस्तो पानी बग्छ । वडा नं. ८ को प्रगति चोक र तरकारी बजारमा पानी पर्दा डुङ्गा चलाउन मिल्ने जस्तो हुन्छ ।
ढल व्यवस्थापन गरी बागमतीको पाइपलाइनमा जोड्नको लागि २ करोड रुपैयाँ बजेट छुट्टाएका छौं । यो कामको सुरुवात केही समयपछि हुनेछ । नगरको पर्ति जग्गा भवन निर्माण लगायतका अन्य प्रयोजनको लागि माग्नुपर्ने हुन्छ । म चाहिँ त्यस्ता जग्गा दिने पक्षमा छैन । बरु त्यहाँ बिरुवा रोप्ने योजना बनाएका छौं । केही समय अगाडि नगरले ३ सय रोपनी जग्गामा ५ सय वटा लालिगुराँसका बिरुवा रोपेको थियो । बाढी पहिरो नियन्त्रणको लागि पनि बिरुवा रोप्दै जाने छौं । नगरपालिकाको तथ्याङक अनुसार नगर भित्र ४० वटा घर बाढी पहिरोका कारण जोखिममा छन् । सो ठाउँमा अहिले हामीले टेन्डर आव्हान गरेर जोखिम न्यूनीकरणको काम गरिरहेका छौं । यस्ता समस्याको समाधान छिट्टै गर्नेछौं ।(तामाकोशीसन्देशबाट)