स्वतन्त्र पार्टीको नाममा विकृति र विसंगतिको चाङ ?

राजनीति समाचार

काठमाडौं । नेपालका राजनीतिक पार्टीले राम्रो छवि नबनाउँदा अधिकांश जनताहरुले त्यसको विकल्पमा नयाँ पार्टी रोजेका थिए । त्यसरी विकल्प खोज्ने क्रममा गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनदेखि गत मंसिर ४ सम्पन्न संघ र प्रदेश निर्वाचनमा पनि पुराना पार्टीभन्दा नयाँ पार्टी र स्वतन्त्र व्यक्तिलाई रोजेर मत दिइ विजयी बनाएका थिए ।

तर, स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा बालेन शाह, धरान उपमहानगरपालिमा हर्क साङपाङ, धनगढी उपमहानगरपालिकामा, गोपाल हमालले मेयर पदमा जित हासिल गरेका थिए । त्योसँगै प्रदेश र संघमा पनि स्वतन्त्रहरुले पार्टी नै खोलेर र व्यक्तिगत रुपमा स्वतन्त्र उम्मेदवार बनेका थिए । अधिकांश त्यसरी स्वतन्त्र रुपमा उठेका व्यक्तिहरुले चुनाव पनि जिते । त्यसरी चुनाव जित्नेमा राष्ट्रि स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, तोषिमा कार्की, सविता गौतम, ज्ञानेन्द्र शाहीलगायतले प्रत्यक्ष र अधिकांशले समानुपातिकबाट सांसद बनेका थिए ।

तर, यसरी स्थानीय जनप्रतिनिधि र संघ, प्रदेश सांसदमा निर्वाचन भएका व्यक्तिहरुबाट जनताले धेरै नै आशा गरेका थिए । यसरी चुनाव जित्नेहरु स्वच्छ छविका, निष्पक्ष ढंगले काम गर्ने, भ्रष्टाचारीको खोइरो खन्ने भनेर जनतासामू उदाएका थिए । तर, त्यसरी उदीयमान ढंगले आएका ती सांसद र स्थानीय जनप्रतिनिधिहरुको पछिल्लो क्रियाकलापले हिजो उद्देलित भएर भोट दिने जनताको आशा सपना भैंm विलय हुने अवस्थामा पुगेको छ । किन कि यतिखेर काठमाडौंका मेयर बालेन शाहको विरुद्धमा चर्काे जुलुस र आन्दोलन सुरु भएको छ ।

त्यस्तै संघीय सांसदमा सबैतिर हाइहाइ भएका रवि लामिछाने आफ्नै पासपोर्ट र नागरिकताको विवादले बद्नाम भएका छन् । त्यस्तै डा. तोषिमा कार्की पनि आफ्नो क्षेत्राधिकार र मर्यादाको ख्याल नगर्दा विवादमा तानिएकी छिन् । त्यसैगरी धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ पनि विभिन्न अभिव्यक्ति दिएर विवादित भएका छन् ।

उता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका शिशिर खनालले शिक्षा क्षेत्रमा राम्रो काम गर्ने भनेर हवाला दिए तापनि यतिखेर आएर शिक्षा क्षेत्रको लागि कुनै पनि माखो मार्ने देखिँदैन । शिक्षामन्त्रीले आगामी शैक्षिकसत्र सुरु हुन तीन महिना हाराहारी बाँकी रहँदा पनि कुनै खास योजना ल्याउन सकेका छैनन् । शिक्षा क्षेत्रलाई सुधार गर्ने वास्तविक खाका र योजना भने उनले खासै ल्याएको पनि देखिँदैन । त्यसैले नयाँ अनुहार भनेर स्वतन्त्रबाट उदायका व्यक्तिहरु झन् पुराना पार्टीका नेताभन्दा बदनामी भएर आएको देखिन्छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *