यो सवै चराचर जगत नैं भगवानले वनाएको भनिन्छ । अनी भगवान्लाई चाँही कस्ले वनायो त ? ‘आफै उत्पन्न’ भएको भन्ने उत्तर आउला । होइन, भगवान पनि वनाइँदो रहेछ । त्यो पनि पेशागत वा व्यवसायको रुपमा । यस श्रृखलामा वनाइएका भगवान्का बारेमा चर्चा गर्ने कोशिस गरिएको छ ।
हाम्रो सानो टिम मधेस प्रदेशको राजधानी जनकपुरधाम गएका थियौं । एक कार्यक्रममा उत्तिम लाल पण्डितसँग भेट भयो । जनकपुरधाममा केही उद्यमहरु हेर्ने र कुराकानी गर्ने रहर जाग्यो । पण्डितले हाम्रो टोलीलाई लाहाको चुरा बनाउने ठाउँमा पु¥याउनु भयो । जनकपुरधाममा लघु उद्यम विकास कार्यक्रमको सहयोगमा प्रवद्र्धित उद्यमी विशेष खालको महिलाले लगाउने चुरा जुन लाहाबाट बनाइदो रहेछ । ‘लाहा’ भनेको पगालेर सिल लगाउन प्रयोग हुने सामाग्री हो । त्यसको प्रयोगवाट विभिन्न डिजाइनका चुरा ईच्छा अनुसारको बनाइदो रहेछ ।
पण्डित आफै संचालन गरेको उद्योग जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ मा लैजानु भयो । जहाँ भगवान् वनाउने कारखानामा छिर्नासाथ निर्माणाधिन धेरै भगवान्को दर्शन पाइयो । माघको १२ गते श्रीपञ्चमी भएकोले सरस्वतीको मुर्ति वनाउने काम चलिरहेको रहेछ । २ दर्जन भन्दा वढि सरस्वतीको मुर्ति वन्ने क्रममा देखियो । विभिन्न साइजका । मूल्यका कुरा गर्दा रु. ५ हजार देखि ३५ हजारसम्म पर्ने भगवानहरु तयार हुँदै थिए । बनी नसक्दै नैं आकर्षक देखिएका थिए ।
निर्माणाधिन वाक्लै भगवान् देख्नासाथ हामीलाई कौतुहलता भयो । प्रश्नको वर्षा नैं गर्न थाल्यौं । के बाट वन्छ ? कस्ले वनाउँछ ? कसरी वनाइन्छ ? कति लाग्छ ? कति रुपैंया आउँछ ? भगवान् बनाउन पनि जान्ने अनी यो कारखानाका मालिक उत्तिम लालले सविस्तार वताउन थाल्नु भयो । म चाँही सानो नोट कपिमा टिप्न थालें ।
चिप्ट्याइलो माटो चाहिने रहेछ । एक ट्याक्टरको रु २ हजार ५ सय तिरे पछि कारखानामानैं झर्दो रहेछ । यती माटोले ५० वटा भन्दा वढि भगवान् तयार हुँदा रहेछन् । जुटको बोरालाई मसिनो टुक्रा पारिन्छ । त्यो जुटको टुक्रा माटोमा मिसाउने अनी पानी हालेर मजाले मुछ्नु पर्दछ । पहिला काठको फ्रेम तयार पारि पराल लाई सुतलिले बाधि जिउको आकार बनाउनु पर्ने हुन्छ त्यस पछि जुटको टुक्रा मिसिएको हिलो माटोवाट मुर्तिको आकार दिइदो रहेछ । साढे ६ फिट अग्लो सरस्वतीको मुर्ति वनाउन २ जना मिस्त्रीलाई ३ दिनसम्म लाग्दो रहेछ । उनीहरुलाई प्रतिदिन प्रति व्यक्ति रु १ हजार दिनु पर्दछ ।
रंगरोगन अनी लुगाफाटो सहितको सिँगार पटार गरी एक मुर्तिलाई भगवान्को रुप दिँदासम्म १० हजारसम्म खर्च हुँदो रहेछ । त्यो भगवान् रु. ३५ हजार सम्ममा विक्रि हुन्छ । वसन्तपञ्चमी भन्दा २ महिना अघिदेखि सरस्वती वनाउन थालिन्छ रे । यस पटक रु. ५ लाखको सरस्वती भगवान वेचेर रु ३ लाख ५० हजार नाफा कमाउने योजना रहेछ, भगवान् वनाउने उत्तिम लाल पण्डितको ।
२ महिना पछि के गर्ने त ्? अर्को प्रश्न थियो, हाम्रो । हामिलाई चिन्ता थियो १० महिना मिस्त्रीहरु वेरोजगार हुने हुन् कि भन्ने । उत्तिम लाल पण्डितले उत्तर दिए पछि कस्तो वकम्फुसे प्रश्न सोधिएछ जस्तो लाग्यो । पुष माघमा सरस्वतीको मुर्ति बनाउने, चैत्र वैसाखमा चैते दशैको लागि दुर्गाको मुर्ति वनाउने । असार साउनतिर नागपञ्चमी कृष्णाष्टमीका लागि मुर्ति, अनी यहि वेलामा लागि पनि तयार गरिन्छ । भदौमा गणेश पुजा, ईन्द्र पुजा र विश्वकर्मा, असोजको दशैमा दुर्गा र कार्तिकमा तिहारको लागि लक्ष्मीको मुर्ति त्यस पछि तुरुन्तै छठको लागि मुर्तिहरु तयार गरिँदो रहेछ । कुनै महिना खाली हुँदो रहेनछ ।
यो समयमा सरस्वतीको मुर्ति जनकपुरधाममा मात्र ७ सय जती निर्माण तथा विक्री हुन्छ रे । हरेक विद्यालय, कलेज लगायतका शिक्षण संस्थावाट माग आउने गर्दो रहेछ । यस्ता भगवान्लाई निश्चीत दिनमा सेलाउने वा विर्सजन गरिन्छ त्यसकारण मुर्ति रुपी भगवान पुनः प्रयोगमा आउने संभावना नैं भएन । अविरल चलिरन्छ, भगवान बनाउने व्यवसाय ।
कृष्ण, विश्वकर्मा, सरस्वती, गणेश र छठका मुर्ति रुपी भगवानहरु कारखानामा नैं वनाईदोरहेछ । अरु भगवान्हरु चाँही सम्वन्धीत ठाउँमा नैं गएर वनाउनु पर्ने रहेछ । दशैंको दुर्गाको मुर्ति सम्वन्धीत स्थान वनाउनु परेमा सामाग्री सहित एक लाख ५० हजार जतीमा तयार गर्ने गरिएको रहेछ ।
भगवान् वनाउने पण्डितलाई हाम्रो अर्को प्रश्न थियो । यो काम कसरी थाल्नु भयो ? हाम्रो प्रश्नमा उहाँले कसरी सिक्नु भयो भन्ने आशय थियो । उहाँको पुर्खौली पेशा पो रहेछ । उहाँको बुवा नैं यहि पेशा गरिहनु भएको रहेछ । पण्डित आफैमा उद्यम विकास अधिकृत भैं अरुलाई विभिन्न उद्यम वनाउने काममा सहजिकरण पनि गरिरहनु भएको छ । मुर्तिलाई भगवानको रुप दिन रंगरोगन झिलीमिली कपडा सहितको सामाग्रीहरुको पसल पनि कारखानाको आडैमा पण्डितले नैं राख्नु भएको रहेछ । मुर्ति वनाउने सिप त पुख्र्यौली नैं हो रे तर पसल र व्यवस्थीत कारखाना सहितको सोच चाँही लघु उद्यम विकास कार्यक्रमवाट आएको हो रे ।
पण्डित जनरल स्टोर्स नाम दिइएको भगवान् वनाउने कारखानामा नियमित ४ जना मिस्त्रीहरु कार्यरत छन् । पुस्तौदेखिको पेशालाई पछिल्लो पुस्तासम्म जोडिएको छ । साँस्कृतिक पक्षको जगेर्नामा टेवा पुगेको छ । स्थानीय कच्चा पदार्थवाट भगवान् वनाइको छ । अनी यसमा सिमेन्ट प्रयोग नहुने भएकोले वातावरण मैत्री देखिन्छ । व्यवसायमा दिगोपना देखिन्छ । भगवान्ले त हामी सवैको रक्षा गर्दछन् नैं । भगवान् वनाउने पण्डित दाजुभाईको परिवारलाई पनि राम्रै कमाइ सहितको रक्षा गरिरहेको नैं पाइयो ।