पौरखी सहकारीको पौरख

समाचार

नेपालमा सहभागीतामूलक पद्धतीवाट सफल भएक अभियानहरु मध्ये एक सहकारी हो । यसलाई दिगो अभियान मानिएको छ । राज्य संयन्त्रले कानून वनाउने, दर्ता गर्ने वाहेक कुनै प्रभावकारी भूमिका खेल्न सकेको छैन । तथापी नागरिक आफै संलग्न भै यो अभियानलाई निरन्तरता दिइरहेका छन् । सहकारी अभियानको नेपालमा मात्र हैन विश्वभर सञ्जाल रहेको छ । यस अभियान अन्तरगत रहेको एक कृषि सहकारी संस्थाले खेलेको भूमिकाको बारेमा यहाँ चर्चा गर्न खोजिएको छ ।

पौरखी कृषि सहकारी संस्थाको चर्चा गर्नु अघि नेपालमा सहकारीको संक्षिप्त चर्चा गरौं । सरकारी आंकडा अनुसार नेपालमा २९ हजार ८ सय ८६ वटा सहकारी रहेका छन् । यी सहकारी संस्थाहरुमा ७३ लाख ७ हजार ४ सय ६२ जना सदस्य भएका छन् । यो आँकडा हेर्दा कुल नेपालीहरु मध्ये २८ प्रतिशत जनसंख्या सहकारी अभियानमा आवद्ध भएको देखिन्छ । लैङ्गिक रुपमा हेर्ने हो भने महिलाको संख्या पुरुषको तुलनामा १२ प्रतिशतले वढि रहेको पाइन्छ । सहकारीमा महिला सदस्य संख्या ४० लाख ९२ हजार ३ सय ९५ रहेका छन् भने पुरुष संख्या ३२ लाख १५ हजार ६८ रहेको सरकारी तथ्यांकले देखाउँछ । दोलखामा पनि ५०० भन्दा वढि सहकारी स्थापना भएका छन् । दोलखाका ७४ वटै वडाहरुमा सहकारी फैलिएका छन् । यी सहकारीहरु विभिन्न विषयगत क्षेत्रसँग सम्वन्धीत रहेका छन् । बचत ऋण, वहुउद्देश्यीय, कृषि, साना किसान, दुग्ध उत्पादन लगायत अन्य उत्पादनमा आधारित सहकारीहरु क्रियाशिल रहेका छन् । त्यस मध्येको एक पौरखी कृषि सहकारी संस्था लिमिटेड हो । यस्ले कृषिलाई आफ्नो पहिलो प्राथमिकता राखेको छ ।

यस पौरखी कृषि सहकारी संस्था दोलखा जिल्लाको भीमेश्वर नगरपालिकालाई कार्यक्षेत्र वनाई क्रियाशिल रहेको छ । सिम्पानी सामुदायिक वनका उपभोक्ताहरुले स्व आर्जन साना कृषि सहकारी २०६५ स्थापना गरेका रहेछन् । त्यसै गरी चोथाङ्ग गाउँ आसपासमा रहि पशुपालन व्यवसाय गरेकाहरुले २०६७ सालमा चोथाङ्ग पशुपालन सहकारी संस्था गठन गरेका रहेछन् । यी २ संस्थाहरुका शेयर सदस्यहरु अधिकांश कृषि व्यवसायसँग सम्वन्धीत थिए । उनीहरुको एक आपसमा गर्जो टार्न यो सहकारी वनाएका रहेछन् ।
सरकारको नीति सहकारीको संख्या कम गर्ने आयो । अनी यी दुई सहकारी संस्थाका पदाधिकारीहरुले लामो अभ्यास गरे । प्रकृया पूरा गरी एकिकरण गरी पौरखी कृषि सहकारी नाम जुराएछन् । यो कामले २०७६ भाद्र ७ गते वैधानिकता पाएछ । अहिले अर्को संयूक्त जनसेवा वचत तथा ऋण सहकारी समेत एकिकरण भैसकेको छ ।

आर्थिक परिचालनमा पौरखी
पौरखी कृषि सहकारी संस्थामा शेयर पुँजी १ करोड ६९ लाख रहेको छ । जगेडा कोषमा ५३ लाख भन्दा वढि छ । १४ करोड भन्दा वढि रकम शेयर सदस्यहरुले वचत गरेका छन् । १४ करोड भन्दा केहि वढि रकम ऋणको रुपमा प्रवाह भैरहेको देखिन्छ । यो ऋण ६०२ जनामा प्रवाह भएको छ । जवकी यस सहकारीमा ३४६५ जना शेयर सदस्यहरु रहेका छन् । साढे ४ करोड जती रकम तरलतामा देखिन्छ । यसलाइ प्रतिशतमा हिसाव गर्दा कुल पुँजीको ३० प्रतिशत भन्दा वढि हुन्छ । यो आंकडमा २०७९ माघ २९ सम्मको हो । यो सहकारीले हरेक वर्ष नाफा कमाई शेयर सदस्यहरुलाई मुनाफा वाड्न सफल भएको छ ।

सुशासनमा पौरखी
सहकारीको प्रभावकारीता सुशासनमा देखिनु पर्दछ । यस अर्थमा यस सहकारीले हरेक महिनाको हिसाव सार्वजनिक गर्ने गरेको छ । सञ्चालक समितिको वैठक हरेक महिनाको पहिलो शनिवार वस्ने गर्दछ । लेखा समिति क्रियाशिल छ । ऋण उपसमिति, धितो मूल्यांकन, ऋण असुली, कृषि प्रवद्र्धन लगायतका आधारभुत उपसमितिहरु गठन गरी संस्थागत चुस्ततामा ध्यान दिएको छ । हरेक वर्ष साधारण वस्ने गरेको छ । साधारण सभामा उत्कृष्ट वचत, ऋणी, उद्यमी, कृषकहरुलाई पुरस्कृत र सम्मान गर्ने गरेको छ ।
संस्थागत गतिविधि सहितको आर्थिक विवरण दुरुस्त राख्ने र सार्वजनिक गर्ने गरेको छ । सञ्चालक समितिको वैठक नियमित वस्ने गरेको उपसमितिहरुको वैठक आवश्यकता अनुसार वस्ने गरेको छ । सञ्चालक, लेखा समिति र अन्य उपसमितिहरुको संयूक्त वैठकहरु पनि वस्ने संस्थागत परिपाटी रहेको छ । त्यस्ता वैठकमा संस्थाको अवस्था, लगानी र असुलीका विषयमा गहिरो छलफल हुने गरेको छ । मापदण्ड भित्र रहेर सदस्य वन्ने, सदस्यता त्याग गर्ने र ऋण लिने कुरामा खुल्ला र सहजतामा जोड दिने गरेकोछ । सदस्यहरुको घरदैलोमा सहकारी सेवालाई प्राथमिकतामा राखेको छ । सहकारी सम्वन्धी नियमहरु पालना गरी विभिन्न कोषहरु खडा गरेको छ । नियमानुसार नैं शेयर सदस्यहरुलाई लाभांश वाड्न सफल रहेको छ ।

भौतिक पूर्वाधारमा पौरखी
सहकारीको कामलाई व्यवस्थीत र भरोषायोग्य हुनकोलागि भौतिक पूर्वाधार पनि एक हुने गर्दछ । सहकारीको कार्यालय कस्तो छ भन्ने पनि मापन गरिन्छ । पौरखीले हालसालै सहकारीले २ तले आफ्नै भवन निर्माण गरी त्यहीबाट सेवा प्रवाह गरिरहेको छ । त्यसै गरी वजार क्षेत्रका शेयर सदस्यहरुलाई पायक पर्ने गरी सम्पर्क कार्यालय समेत सञ्चालन गरेको छ । कार्यालयमा आधारभुत भौतिक पूर्वाधारहरु उपलव्ध रहेका छन् । अनलाईन सेवाका लागि आवश्यक पूर्वाधारका कामहरु गरिएका छन् । सहकारीमा आवश्यक पर्ने सिपयूक्त मानविय स्रोतहरुको प्रवन्ध गरेको छ ।

्प्रविधिमा पौरखी
यस सहकारीले पछिल्ला प्रविधिलाई कार्यान्वयनमा ल्याएको छ । मोवाइलवाट नैं आफ्नो कारोवार हेर्न तथा गर्न मिल्ने, एसएमएस सेवा, अनलाइन कारोवारलाई अवलम्वन गरेको छ । यस सहकारीले रेमिट्यान्स सेवा समेत प्रवाह गरिरहेको छ ।

कृषिमा अभियानमा पौरखी
यस सहकारीको नाममा नैं कृषि भएकोले सोही अनुसार आफ्ना सेवालाई प्रवाह गर्ने कोसिस गरेको छ । कृषि व्यवसायसँग सम्वन्धीत शेयर सदस्यहरुसँग नियमित संवाद गर्ने गरेको छ । उनीहरुको सवाल सम्वोधनको कोसिश गरिरहेको छ । गुणस्तरीय विउ विजनको सवाल सम्वोधन गर्न, विउविजन विक्रि वितरणको काम गरिरहेको छ । त्यसै गरी कृषी उपजको वजार व्यवस्थापनको सवाल सम्वोधन गर्न चरिकोटको सातदोवाटो चोकमा एक संकलन तथा विक्रि केन्द्र वनाएको छ । त्यही स्थानबाट रसायनिक मलको विक्रिको समेत व्यवस्था मिलाएको छ ।
कृषि व्यवसायको लागि सहज व्याजदरमा सुलभ तरिकाले लगानी गरिरहेको छ । कृषिलाई जिवन निर्वाहबाट व्यवसायीकरण गर्न यन्त्र उपयोगमा किसानलाई सहजिकरण गरिरहेको छ । विभिन्न निकायहरुसँगको समन्वयमा हाते ट्याक्टर, थ्रेसर लगायतका यन्त्र तथा उपकरण सुलभ मूल्यमा उपलव्ध गराउने गरेको छ ।
तरकारी पकेट कार्यक्रम, आलु खेती सम्वन्धी विशेष कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । कोल्ड च्याम्वर निर्माणमा समन्वकारी भूमिका खेलेको छ । कृषि व्यवसायलाई थप प्रवद्र्धन गर्न कृषि प्रवद्र्धन उपसमिति समेत गठन गरी महत्वका साथ कामहरु गरिरहेको छ ।

अन्य निकायको आँखामा पौरखी
यस सहकारीलाई सरकारी तथा गैरसरकारी निकायहरुले सम्मान तथा पुरस्कृत समेत गरेको छ । २०७३ सालमा बिश्व खाद्य दिवसको अवसरमा नेपालभर सृजनात्मक कार्य गर्ने सहकारी मध्ये उत्कृष्ट दोस्रो स्थानमा पर्न सफल भएको थियो । सो पुरस्कार तथा सम्मान संघीय कृषि बिकास मन्त्रालयवाट प्रदान गरिएको थियो । २०७८ सालमा ‘राष्ट्रिय स्तरमा उत्कृष्ट कृषि सहकारी’ घोषणा गरि राष्ट्रिय सहकारी बैंकबाट सम्मान पत्र प्राप्त गर्न सफल भएकोे छ ।
तत्कालिन डिभीजन सहकारी कार्यालय दोलखावाट २०७१ सालमा उत्कृष्ट सहकारी संस्था घोषणा गरी सम्मान गरेको छ । सहकारी दिवस ¥यालीमा उत्कृष्ट प्रदर्शन गरे वापत पटक पटक सम्मानित भएको छ । यो सम्मान जिल्ला सहकारी संघ दोलखावाट गरिएको थियो । त्यसै गरी जिल्ला सहकारी संघ दोलखावाट २०७६ सालमा ‘उत्कृष्ट कृषि सहकारी संस्था’ घोषणा तथा सम्मान गरेको थियो ।

सहकार्यमा पौरखी
यस सहकारीले विभिन्न तहका सरकार र जिल्ला स्तरीय निकायहरुसँग सहकार्य गरिरहेको छ । सङ्घीय, प्रदेश सरकार र भीमेश्वर नगरपालिका, कृषि ज्ञान केन्द्र, भेटनरी कार्यालय लगायत सरकारी निकाय, जिल्ला सहकारी संघ, जिल्ला कृषि सहकारी संघ, नगरस्तरीय अन्य सहकारी, कृषि सहकारी तथा कृषि समूह, कृषि फर्म, कृषकहरुसँग नियमित समन्वय तथा सहअस्तित्वको आधारमा सहकार्य गरिरहेको छ ।

अन्त्यमा, पौरखी सहकारी दोलखाका कृषि केन्द्रीत सहकारीमा अग्रणी संस्थाको रुपमा स्थापित भैरहेको छ । सोही अनुसारको पहिचान हासिल गरेको छ । यो नैं यस्को पौरख हो । कृषि सहकारी भएको हुँदा सोही कर्ममा व्यबसायिक रुपमा लाग्नु आवश्यक हुन्छ । कृषि व्यवसायी वा किसानको पिडा वा सवाल सहकारीको पनि हो भन्ने सञ्चालक र कर्मचारीले मनन् गर्नु नैं संस्थाको प्रभावकारीतामा जोडिने विषय हुन् । शहर केन्द्रीत सहकारी जस्ले जसरी पनि नाफा कमाउनु पर्दछ भन्ने मानसिकतावाट यो सहकारी माथि उठ्न आवश्यक छ । नाफा पनि चाहियो तर सेवा प्राथमिकतामा पार्नु पर्दछ । त्यो भन्दा पनि प्रधान कुरा आफ्ना शेयर सदस्य कृषि व्यवसायमा आवद्ध रहेकालाई व्यवसायीकरण गराउन धेरै कसरत गर्नु पर्दछ । वारी कान्ला र घर गोठमा प्राविधिक सेवाको खाँचो छ । गुणस्तरीय विउ विजन सधैको चुनौती छ । उत्पादन पछिको उचित मूल्य सहितको बजार अपरिहार्य विषय भएको छ । किसान र कृषि व्यवसायीलाई परेका कठिनाइ सहकारीले सवालको रुपमा ग्रहण गरी सम्वोधनका लागि पहल गर्न सकेमा यो सहकारीको नाम अनुसारको पौरख आर्जन गर्न सक्ने छ । एक सहकारीले मात्र आफना शेयर सदस्यका सवै खाले चाहानालाई सम्वोधन गर्न सक्दैन । तर त्यसका लागि सूचना सहितको समन्वयकारी भूमिका खेलेमा पनि गतिलो योगदान हुनसक्छ । यसका लागि सहकारी आफैमा सवल तथा सकरात्मक प्रतिष्पर्धी हुन पनि जरुरी हुन्छ । पौरखीको पौरख वढ्दै जाओस् शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *