गुणस्तरहीन सिलिन्डर बजारमा छ्यापछ्याप्ती, राज्य निकम्मा

राजनीति समाचार

काठमाडौं । यतिखेर अधिकांश मानिसहरुको घरमा एलपी ग्याँस प्रयोग गर्ने गरिन्छ । ग्याँस लिक भएर या बिस्फोट भएर अधिकांश उपभोक्ताहरु त्यसको सिकार हुने गरेका छन् । यस्ता घटनाहरु अहिले मात्रै घट्ने गरेका होइनन् । जब नेपालमा नेपालीहरु खाना पकाउनको लागि ग्याँस प्रयोग गर्न थाले त्यसपछि यसको जोखिम बढ्दै आएको हो । अधिकांश नेपालीहरुले सजिलो र छिटोछरितोको लागि खाना पकाउन ग्याँसको प्रयोग गर्ने गरेका छन् ।

यसरी मानिसको दैनिक जीवनसँग जोडिएको प्रज्वलशील पद्धार्थको प्रयोगमा हुने जोखिमबाट जोगिने भरपर्दो उपाय भनेर सरकारले अहिलेसम्म दिन सकेको छैन । अहिले शहरदेखि गाउँसम्म ग्याँस प्रयोग गर्नेको संख्या ह्वात्तै बढेको छ । तर, बजारमा च्याउसरी नाम राखेर खोलिएका ग्याँस कम्पनीहरुको करम मात्रै कुम्ल्याउने लापरवाहीले गर्दा उपभाक्ताले जनधनको क्षति व्यहोर्दै आएका छन् । भारतमा वर्षौंसम्म प्रयोग गरिएका पुराना ग्याँस सिलिन्डरहरु नेपालमा ल्याएर पीध काटिएका र टुटेफुटेका र कुच्चिएका सिलिन्डरहरु रंगरोगन गरी नयाँ देखाएर नेपाली बजारमा छ्यापछ्याप्ती विक्रीवितरण भइराखेका छन् ।

त्यसको मापदण्डको बारेमा सरकारले अनुगमन गरेर दोषीलाई कारबाहीमा ल्याउन सकेको छैन । अधिकांश ग्याँस कम्पनीहरुले नेपाल सरकार अनुगमन आएपनि खाजा, पानी र खामबन्दीमा सीमित हुने गरेको पाइन्छ । तत्कालीन अवस्थामा भारतले नाकाबन्दी गर्दा नेपालमा ग्याँसको हाहाकार भएको थियो । तत्कालीन सरकारले त्यसबारेमा आवाज उठाएर खाना पकाउने ग्याँस र होटेल रेष्टुरेन्टमा प्रयोजनको लागि दुई खाले सिलिन्डरको व्यवस्था गरेको थियो र घरको लागि र होटल रेष्टुरेन्टको लागि मूल्य पनि फरक राखिएको थियो ।

तर, अहिले दुई खाले सिलिन्डरको अवधारणा एकाएक हराएको छ । अहिले दुवै खाले ग्याँस एउटा डालोमा हालेर उपभोक्ताहरुलाई ग्याँस कम्पनीका मालिकहरुले ठगिरहेका छन् । कतिपय ग्याँसका सिलिन्डरहरुमा मितिसम्म राखिएको हुन्थ्यो भने कतिपयमा त्यो पनि उल्लेख गरेको छैन । सबै ग्यास सिलिन्डरमा आ–आफ्नो कम्पनीको नाम राखिएको छ । त्यसमा पनि अधिकांश सिलिन्डरहरु आधा मात्रै भरिएको हुन्छ । उपभोक्ताहरुले खरिद गरेको ग्याँस के भरि के आधा केही थाहा हुँदैन ।

खोलेर हेर्ने कुरा पनि भएन । ग्यास सकिएपछि अत्तालिएर ग्याँस छ कि छैन भनी सोध्छन् पाउनासाथ पुरा मूल्य तिरेर लान्छन् । तर, पछि मात्रै थाहा हुन्छ कि ग्याँस किन चाँडै सकियो ? भन्दै आफै पछुताउनुको विकल्प छैन । किन भने पसलमा गएर ग्याँस कम रहेछ भन्दा उल्टै धेरै चलाउनु भयो होला अनि चाँडै सकियो भन्ने जवाफ पाइन्छ । तर, मूल्य भने पुरै ग्याँसको तिर्ने गरेका छन् । त्यसमा पनि ग्याँस विक्रेताले घरघरमा पु¥याएबापत छुट्टै दुईदेखि तीन सयसम्म असुल्ने गरेका छन् ।

त्यति मात्रै नभएर ग्यास पसलेहरुले एक कम्पनीको सिलिन्डरसँग अर्को कम्पनीको सिलिन्डर साट्दा ३ सय देखि ५ सयसम्म साटेबापतको सोधभर्ना लिने गर्दछन् । त्यस विषयमा पनि सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन । यसमा पनि विक्रेतालाई ग्याँस कम्पनीहरुले छुट्टै कमिसन दिने गरेका छन् । त्यस्तै ग्याँस कम्पनीका मालिकहरुले पनि विभिन्न शक्तिकेन्द्रहरुमा आफ्नो कालाकर्तुतहरु लुकाउनको लागि चाडवाड अनुसार उच्च निकायका कर्मचारी, नेता, कार्यकर्ता र प्रहरी प्रशासनलाई खामबन्दी टक्र्याउने गर्दछन् ।

त्यति मात्रै होइन ग्याँस सटेज भएको बेलामा उच्च निकायका घरानाका व्यक्तिहरुलाई ग्याँससमेत सित्तैमा उपलब्ध गराउने गरेका छन् । त्यसकारण पनि आफ्ना कालाकर्तुत लुकाउने गरेका हुन्छन् । त्यसैगरी अधिकांश नेपालीको भान्छादेखि ठूला तारे होटेलदेखि सामान्य क्याफे, रेन्टुरेन्ट र चिया पसलहरुमा सबै कमसल खालका सिलिन्डरहरु छ्यापछ्याप्ती प्रयोग भइरहेका छन् ।

त्यसैगरी ग्यास सिलिन्डरमा प्रयोग गरिने निपल, रबर, पाइप र रेगुलेटर पनि कमसल खालको प्रयोग गर्ने गरिन्छ । त्यसकारण पनि नेपाली उपभोक्ताहरुलाई जानकारी नभएर अधिकांश सर्वसाधारणले ग्यासको कारण अकालमै ज्यान गुमाउने र अंगभंग हुने गरेका छन् । (ताामकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *