सम्पत्ति शुद्धीकरणले नाङ्लो ठटाएर, हात्ती तर्साउँदै

राजनीति समाचार

काठमाडौं । के सम्पत्ति शुद्धीकरणसम्बन्धी ब्रह्मास्त्र कसैलाई तर्साउनका लागि मात्र हो ? हालैमात्र यो अभियोगमा पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग जोडिएका व्यापारी पृथ्वी बहादुर शाह फन्दामा परेका छन् । उनको नाममा विदेशबाट आएको सम्पत्तिको स्रोत खुलाउन नसकेपछि कुमारी,प्रभु,मेघा,नेपाल इन्भेष्टमेन्ट बैंकलाई सम्पत्ति रोक्का गर्न नेपाल राष्ट्रबैंकले निर्देशन दिएको भए पनि ती बैंकले राष्ट्रबैंकले दिएको निर्देशन टेरेनन् र ती बैंकले रोक्का नराखी उनको खाताबाट पैसा निर्वाह रुपमा निकाल्न दिए ।

यस अघि यस्तै प्रकरणमा प्रचण्डका व्यवसायिक साझेदार मानिएका अजेयराज सुमार्गी पनि फसेका हुन । उनको पनि अर्बाै रकमको स्रोत देखाउन नसक्दा नेपाल इन्भेष्टमेन्ट र नविल बैंकलाई खाता रोक्का राख्न नेपाल राष्ट्रबैंकले निर्देशनै दिएको थियो । सुमार्गीले विदेशबाट आफैंले नेपालको आफ्नो खातामा रकम जम्मा गरी ‘विदेशी लगानी’ ऋणका रूपमा ल्याएको दाबी गरेका थिए ।

त्यसका लागि अनुमतिको प्रक्रिया मात्रै पूरा गरिएको थिएन । पछि बढी नाफा देखाएर फिर्ता लैजान खोजे अर्थतन्त्रको ढुकुटीलाई नै असर पर्नेभन्दै सो रकम रोक्का राखिएको थियो । यही प्रकरणमा डामिएर चर्चित गायिका आनी छोइङ डोल्मामाथि अनुसन्धान चलिरहेको समयमा बैंकर,सांसद तथा वाइवाइ चाउचाउका आडमा अकुत आर्जन गरेका विनोद चौधरीको कम्पनी समेत डामिएको विशेष स्रोतले तामाकोशी सन्देशलाई जानकारी दिएको छ ।

सो स्रोतले दिएको जानकारी अनुसार विनोद चौधरीको स्वामित्वमा रहेको पाल्पामा सञ्चालित सी.जी. सिमेन्ट उद्योग यसमा डामिएको हो । चौधरीको स्वामित्वमा रहेको सिजीले विदेशबाट दुई पटक गरेर ल्याएको रकम २१ करोडको स्रोत देखाउन नसक्दा उ फन्दामा परेको छ ।
चौधरी ग्रुपझैं बोटलर्स नेपालले १९ करोडको स्रोत देखाउन नसक्दा तनाव झेलिरहेको छ ।

यस्का अलवा तारागाउँ रिजेन्सी होटलः १ अर्ब ८८ करोड, स्टन सुगर मिल (सुनसरी) : १६ करोड ३२ लाख को स्रोत देखाउन नसकेको उद्योग विभाग स्रोतले तामाकोशी सन्देशलाई जानकारी दिएको छ ।यसरी विदेशबाट ल्याएको सम्पत्तिको स्रोत देखाउन नसक्नेमा एउटामात्र उद्योग र उद्यमी होइनन कि अहिले ८१ उद्योग अप्ठ्यारो झेलिरहेका छन् ।

यस्तो अप्ठ्यारो झेल्नेमा होटल एभरेष्ट इन्टरनेशनलले २० करोड ७८ लाखको स्रोत देखाउन सकेको छैन भने डाबर नेपाल प्रा.लीः ७ करोड ९८ लाख,भृकुटी कागज कारखानाः १३ करोडको सम्पत्तिको स्रोत देखाउन नसकेको जनाइएको छ । अब यी र यस्ता कम्पनी तथा उद्योगमाथि इमान्दारी ढंगले अनुसन्धान हुन्छ कि नाग्लो ठटाएर हात्ती तर्साएझैं गरी तर्साउने क्रम चल्छ,त्यो चाहिँ समयक्रमले बताउँला ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *