राष्ट्रपतिमा नेम्वाङ र पौडेलमा कसको होला पल्लाभारी ?

राजनीति समाचार

काठमाडौं । सरकार बनेको दुई महिना हाराहारी पुग्दा नपुग्दै फेरि नयाँ सत्तासमिकरण सुरु भएको छ । यसरी एकाएक विकसित भएको नयाँ समिकरण अहिले भने राष्ट्रपतिको चुनावमा केन्द्रित भएको छ । राष्ट्रपतिमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङबीच चुनाव प्रतिस्पर्धा हुँदै छ ।

आठ दलीय गठबन्धन गरेर कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन गरिएको छ भने उता नेकपा एमालेका नेता सुवास नेम्वाङलाई पनि राष्ट्रपतिमा एमालेले उम्मेदवार बनाएको छ । नेता नेम्वाङ संविधानसभाको अध्यक्ष र दुई कार्यकाल सभामुख भइसकेका व्यक्ति हुन् । सुवास नेम्वाङसँग दुई कार्यकाल सभामुख हुँदा निर्विवादित भएर काम गरेको छवि छ । उनले संविधान सभाको अध्यक्ष बन्दा पनि संविधान निर्माणको लागि समन्वयकारी भूमिका खेलेर सबै राजनीतिक दलहरुलाई एक ठाउँमा उभ्याएका थिए ।

जसको कारण नेपालमा लोकतान्त्रिक संविधान बनाउनमा नेम्वाङको ठूलो योगदान रहेको थियो । त्यसमा पनि जनजाति उम्मेदवार भएको कारणले नेम्वाङ बलियो देखिएका छन् । उता नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सभामुख भएका बेला निर्विवादित ढंगले राम्रो भूमिका निर्वाह गरेका व्यक्ति हुन् ।

उनी पटक–पटक मन्त्री हुँदा पनि भ्रष्टाचार र विवादित काममा नमुछिएका इमानदार व्यक्ति भनेर चिनिन्छन् । बरु नेपाली कांग्रेसले नै पौडेललाई पटक–पटक प्रधानमन्त्रीको दावेदार बन्न उक्साएर धोका दिने र छवि धमिल्याउने प्रयास गरेको थियो । त्यसैगरी पौडेललाई पटक–पटक सभापतिको उम्मेदवार बनाएर पार्टीले नै धोका दिँदै आएको थियो ।

अहिले तिनै इमानदार भनिने नेता पौडेललाई फेरि आठ दलीय समर्थनमा राष्ट्रपति निर्वाचनमा उभ्याएका छन् । तर, पौडेललाई उभ्याएसँगै जनजाति र पिछडिएकाहरुको भोट भने उनलाई नआउने आँकलन गर्न थालिएको छ । त्यसैगरी जनजाति राष्ट्रपति उम्मेदवार भएको कारण जनजाति सांसदहरु र जनप्रतिनिधिहरुले सुवास नेम्वाङलाई भोट दिने संकेत देखिन्छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा नेपाल, मजदुर किसान पार्टी र अन्य दुई दलले कसलाई मतदाता गर्ने हुन् त्यो भने एकिन भइसकेको छैन । तर, राष्ट्रपतिमा कडा प्रतिस्पर्धा हुने भने देखिन्छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *