काठमाडौं । नेपालको राजनीति कहिले तल, कहिले माथि भइरहँदा कर्मचारी ब्यूरोभित्र पनि तलमाथि भइरहन्छ । राजनीतिक छत्रछायाँमा गठन गरिएको कर्मचारी युनियनका नेताहरु भने कहिल्यै तलमाथि हुने गरेका छैनन् । उनीहरु जति सरकार परिवर्तन भएपनि छेपाराले रंग फेरै झैं गरी जुन पार्टीको सरकार बन्छ त्यस्तो पछाडि लागि हाल्छन् । राजनीतिक दल निकट कर्मचारी संगठनका नेताहरु भने कहिल्यै फेरिँदैनन् । उनीहरु जहिले पनि आफ्नो पद यथावत राखिरहन्छन् ।
न त सरुवा भएर कहिं जान परोस् न त मन्त्रीहरुले नै उनीहरुलाई चलाउन सकुन् । यस्ता कर्मचारीहरु सधैं मालदार मन्त्रालयमा बस्ने तर काम भने सिन्को नभाँच्ने गर्दछन् । यसरी हेर्दा राजनीतिक पार्टीको नेता बन्नुभधन्दा कर्मचारीहरुको नेता बन्नु नै बेस । यस्तै भएको छ अहिले विभिन्न राजनीति पार्टी निकट कर्मचारी संगठनभित्र । त्यस्तै कर्मचारी नेताको रुपमा पर्दछन् नेपाली कांग्रेस निकट कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेल । उनी सधैं अर्थमन्त्रालय भन्दाअन्य कतै जाँदैनन् । खाली अर्थमन्त्रालयमा बस्छन् अनि मालदार ठाउँहरुमा आफूनिकट र नातागोताका कर्मचारीहरुलाई पठाउने गर्दछन् ।
हुन पनि उनी दुई पटक कर्मचारी युनियनको अध्यक्ष भइसकेका छन् । उनको सम्पत्ति पनि कैले छानविन गर्दैन र उनले काम गरेका छन् कि छैनन् भनेर पनि कसैले अनुगमन गर्दैन । उता नेकपा एमाले निकट कर्मचारी संगठनका तत्कालीन अध्यक्ष केदार देवटकोटाको नालीबेली छुट्टै छ । उनी पनि अर्थमन्त्रालय भन्दा अन्यत्र जान नपरोस् भन्दै बस्ने गरेका छन् । तत्कालीन सरकारले उनलाई दोलखाको मेलुङ गोउँपालिकामा सरुवा गरे थियो । तर, उनी कर्मचारीको नेता भएकै कारण सो ठाउँमा नगइ महालेखा कार्यालयतिर काजमा बसेका थिए । त्यसपछि उनलाई बलेफी गाउँपालिकामा सरुवा गरिएको थियो । त्यहाँ पनि जान मानेनन् ।
उल्टै शक्तिकेन्द्रमा बसेर आफ्ना आसेपासे र आफन्तलाई मालदार स्थानीय निकायमा सरुवा, बढुवा गर्न सफल भएका थिए । त्यस्तै हालका एमाले कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला पनि कम छैनन् । उनी पनि आफू सधैं मालदार मन्त्रालयको लेखा प्रमुख भएर बस्छन् । काम भने सबै अरुलाई गराउँछन् । आफू एमाले पार्टीका नेताभन्दा बढी सक्रिय भएर राजनीति गर्दछन् । उनको पनि न कसैले सम्पत्ति छानविन गर्दछ, न त उनले गरेका अनियमितताको कसैले कुरा उठाउँछ । उनको काम पनि आफू मालदार ठाउँमा बसेर आफ्ना आसेपासेलाई मालदार ठाउँमा पठाउने र बीचमा कमिसन खाने हुन्छ ।
त्यस्तै जागिर खाएर सरुवा भएको ठाउँमा नगएर काजमा बसिरहने एमाले निकट कर्मचारी संगठनका उपाध्यक्ष रेवन्त गौतम पनि यस्तैमध्येका अर्का व्यक्ति हुन् । उता एकीकृत समाजवादी निकट कर्मचारी युनियका अध्यक्ष मोहन घिमिरेको त झन् कुरै नगरौं । उनी त आमाचकारी गालीगलौज गर्दछन् । सधैं पर्यटन मन्त्रालयमा बस्छन् । उनको न कसैले सम्पत्ति नै छानविन गर्दछन् न त कसैले उनले गरेको भ्रष्टाचार र अनियमितताको कुरा उठाउँछ । हुँदा हुँदा उनले पर्यटन मन्त्रालयमा बसेर पर्यटकहरु हिमाल चढाउने नाममा समेत कोटा प्रणाली लागु गराएर कमिसन असुल्ने काम गरेका छन् ।
त्यस्तै उनी उपसचिवमा बढुवा भएपछि सरकारले अन्यत्र खटाउँदा पनि गएका छैनन् । त्यस्तै मधेसी कर्मचारी संगठनका अध्यक्ष भुवनेश्वरको पनि यी माथि उल्लेख गरिएका व्यक्तिहरुको हर्कत भन्दा कम छैन । त्यसैगरी अर्कातिर राष्ट्रिय कर्मचारी संगठनका हरि रावलको पनि अवस्था त्यस्तै हो । उनी पनि सधैंभरि शक्तिकेन्द्रमा घुमिरहने र राष्ट्रिय कर्मचारी संगठनको अध्यक्ष भइरहने र नेताहरुलाई फनफनी घुमाइरहने गर्दछन् । यस्तै कारणले गर्दा नै कर्मचारी संगठनभित्र एकापसमा लडाइँ हुने गर्दछ ।
त्यसकारण पनि अहिले कर्मचारीहरुले आधिकारिक ट्रेड युनियनको चुनावसमेत गर्न सकेका छैनन् । आधिकारिक ट्रेड युनियनको चुनाव नभएको पनि अहिले झन्डै पाँच वर्ष हाराहारी भइसकेको छ । त्यति हुँदा पनि अहिलेसम्म चुनावको लागि कुनै पहलकदमी गरिएको छैन । हुन त सरकार नै बेकम्माको भएपछि कर्मचारीहरु नबिग्रिने कुरै भएन । (तामाकोशीसन्देशबाट)