sampadakiya

राजनीतिक दलहरुले नै अस्थिरता ल्याउँदै

विविध सम्पादकीय

सम्पादकीय
नेपालको विकासमा सबैभन्दा ठूलो शत्रु भनेको राजनीतिक अस्थिरता बनेको छ । मुलुकलाई दिशानिर्देश गर्न नसक्ने र मुलुकमा राजनीतिक अस्थिरता सिर्जना गरेर स्वार्थसिद्ध गर्न लागिपर्ने राजनीतिक प्रवृत्ति हटेको छैन । जबसम्म राजनीतिक दलहरु राजनीतिक स्वार्थबाट बाहिरिन सक्दैनन् र देश र जनताका लागि दृढता पूर्वक काम गर्ने इच्छाशक्ति राख्दैनन्, तबसम्म नेपाल राजनीतिक अस्थिरताबाट बाहिरिने सम्भावना छैन ।

नेपालको राजनीतिक दलभित्रको विकृति र विसंगतिले गर्दा अधिकाशं नेपालीले दुखः भोग्नुपरेको छ । यससँगै आर्थिकमन्दीले पनि नेपालीहरुलाई गाँज्दै गएको देख्न सकिन्छ । राजनीतिक दलका नेता भने सरकार परिवर्तनको खेलमा लागेका छन् । ओल्लो घरको नरे, पल्लो घरमा सरे भनेझैं राजनीतिक दलहरु आफ्नो भागवण्डा, कार्यकर्ता भर्तिको सम्बन्धमा हानथाप गर्दै लागेका छन् ।

संघ र प्रदेशमा निर्वाचन सम्पन्न भएपछि जनताले मुलुकमा राजनीतिक स्थिरता आउने र जनताले राहतको सास फेर्न पाउने आशा गरेका थिए । तर त्यो सम्भावनामै सीमित बनेको छ । सातदलीय समर्थन र दुई स्वतन्त्रले दिएको समर्थनमा सरकारको नेतृत्वमा एमाले, नेकपा माओवादी रहेका थिए । अहिले अध्यक्ष प्रचण्डले सातदलीय गठबन्धनमा कांग्रेसलाई समावेश गरेर विचित्रको नजीर सिर्जना गर्दै अगाडि बढ्न खोजेका छन् । तर राष्ट्रपतिमा माओवादीले कांग्रेसलाई समर्थन गर्ने भएपछि राप्रपा र नेकपा एमाले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको छ ।

कहिले यता, कहिले उता गर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिमा विकृत नजीर सिर्जना गर्दै अस्थिरता मच्चाएका छन् । राजनीतिक भाँडभैलोकै कारण अधिकांश विकासको काम अलपत्र परेका छन् । राजनीतिले गर्दा नै देश अस्थिरतातिर धकेलिएको छ । आर्थिक चपेटमा परेका नेपालीहरु नेपालको राजनीति देखेर वाक्क भइसकेका छन् । नेताहरुलाई मुलुक र जनताप्रति कुनै सद्भाव भएको देखिँदैन । आजित बनेका जनतालाई राहत दिन नसक्ने मुलुकको नेतृत्वप्रतिलाई जनताले अब अभिभावक ठान्ने अवस्था छैन ।

यो त जनतामाथि जबर्जस्ती लादेको क्रुर शासनजस्तै भएको छ । जनता न केही गर्न सक्छन्, न बोल्न नै । राजनीतिक अस्थिरताले सिर्जना गरेको यो विकृत अवस्थाप्रति नेपाली जनता निरीह छन् । यस्तो अवस्थालाई अंगाल्न बाध्य छन् । जनताको दिन फिर्ला र जनताले राहतको सास फेर्न पाउलान् भनेर आश गर्ने अवस्था पनि अब समाप्त भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *