कसले हटाउला मधेशको भेद्भाव

राजनीति समाचार

काठमाडौं । दुई लाखको लगानीलाई २० लाखभन्दा बढी असुल्दासमेत दृष्टि बन्धक घर जग्गा फिर्ता नगर्ने साहुकरविरुद्ध मधेसमा फेरी आन्दोलन चर्केको छ । सिराहा, सप्तरी, महोत्तरीजस्ता जिल्लामा साहुकरबाट पीडित भएका गरिबहरु आन्दोलनमा उत्रेका हुन् । व्यवस्था परिवर्तनको आन्दोलनमा सक्रिय हुने मधेसको भूमिमा छुवाछुत शोषण दमन व्यापक छ । मधेसको समस्या मधेस प्रदेश सरकारले समाधान गरेको छैन ।

अहिले पनि मधेस प्रदेशमा जसपा, जनमत, एमाले, माओवादी मिलेर सरकार बनेको छ । त्यो प्रदेशमा नेपाली कांग्रेस, लोसपा, नेकपा एकीकृत समाजवादी पार्टी विपक्षमा छन् । तर कुनै पनि दलले मधेसमा मौलाएको अन्धविस्वास हटाउने अभियान शुरु गरेका छैनन् । स्थानीय तहको सरकारसमेत मधेस भित्रको उत्पीडन हटाउने योजनामा छैनन् ।

दाइजो प्रथा मधेसमा चर्काे छ । छोरी चेलीको दाइजो र बोक्सीको आरोपमा ज्यान जान्छ । मधेसमा नेपाल प्रहरी पनि छ, प्रजिअ पनि छन् । आफुलाई परिवर्तनको वाहक बताउने परम्परागत खान्दानी नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव, डा.सिके राउतजस्ता क्षेत्रीय दलका नेता पनि छन् । कांग्रेसका विमलेन्द्र निधि, एमालेका डम्बर नारायण यादव, रघुवीर महासेठ, माओवादीका मातृका यादव, प्रभु साहसम्म त्यही मधेशका नेता भएका छन् । तर मधेशमा भेद्भाव हटाउन सकेका छैनन् ।

पुराना दल र नेताको कुरा काट्ने आफु राजधानीमा सार्वजनिक जमिन कब्जा गरेर घर बनाएर भाडामा लगाउने डा.राजेश अहिराजजस्ता भारतबाट परिचालित बौद्धिक अभियन्ता पनि छन् । तर कसैको चिन्ता र चासो गरिबी माथि सामन्तले गरेको ठगी र शोषणको नियन्त्रण भएको छैन । गरिबलाई भारतीय बजारमा मजदुरको रुपमा कजाउने पारिश्रमिक नदिएर मजदुरको मृत्यु भएका समाचार त्यहीँ आउँछन् । तर प्रदेश सरकारल त्यस्तो अत्याचार नियन्त्रणमा चासो दिएको देखिँदैन । दलीय सत्ता स्वार्थले यस्तो भएको देखिन्छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *