चाडपर्व मनाउने नाममा सामाजिक विकृति फैलिँदै

राजनीति समाचार

काठमाडौं । नेपालमा राजनीतिक खिचातानीले गर्दा सबै क्षेत्रमा व्यथिति, विसंगति र विकृति फैलिएको छ । त्यसले गर्दा धर्म, संस्कार, संस्कृति, चाडपर्व, भेषभुषा सबैमा उच्छृङ्खला छाएको छ । नेपालमा परापूर्वकालदेखि मनाइँदै आएका विभिन्न चाड पर्वहरु यतिबेला एकदमै भड्किला भएका छन् ।

नेपालीहरुले देखासेखीको नाममा आफ्नो औकात बिर्सिएर चाडपर्वलाई फेसनको रुपमा महंगो बनाउने गरेका छन् । त्यसैगरी नेपालको संविधानले विभिन्न जातजाति, भाषाभाषी र धर्मलम्बीहरुले मनाउने चाडपर्वलाई पनि राष्ट्रिय मान्यता दिएको छ । तर, ती चाडपर्व मनाउने नाममा विभिन्न फेसन गर्ने, भड्किलो र अत्यन्तै खर्चिलो बनाउने, मादक पद्धार्थ सेवन गरी टोलबस्तीमा होहल्ला गर्ने, झगडा गर्ने, आतंक मच्चाउने जस्ता क्रियाकलाप हुने गरेका छन् । त्यस्तै भर्खरै मनाइको होली पर्वमा पनि त्यस्तै दृश्यहरु देखिएका थिए ।

होली मनाउने नाममा विभिन्न चोक, गल्ली, पार्क, रिसोट, होटेल, रेष्टुराँ, क्याफे र क्लबजस्ता ठाउँहरुमा रमाइलो गर्ने भनी ब्यापक खर्च गरेको पाइन्छ । त्यति मात्रै होइन विभिन्न युवा, युवती, महिला र पुरुषहरुसमेत होली खेल्ने नाममा अर्धनग्न भएर मादक पद्धार्थ सेवन गरी चोक, गल्ली र टोलबस्ती होहल्ला गर्ने गरेका देखिन्थे । कतिपयले मर्यादित ढंगले रंग खेलेका थिए भने अधिकांश युवा, युवती, महिला र पुरुषहरु अमर्यादित ढंगले प्रस्तुत भएको पाइन्थ्यो ।

त्यसैगरी विवाह, ब्रतबन्ध, पास्नी गर्ने नाममा पनि विभिन्न महंगा पाटीप्यालेसहरुमा भोजभतेर गरेर औकातभन्दा बढीको फजुल खर्च गर्ने संस्कृतिको विकास भएको छ । यस्तो संस्कृतिको विकासले हाम्रो समाज कता जाँदै छ, त्यसप्रति राज्यका सम्बन्धित निकाय र प्रशासनले ध्यान दिएको छैन । जब कि चाडपर्व मनाउने, आफ्नो संस्कार संस्कृतिको जगेर्ना गर्ने राज्यको दायित्व हो । यसरी समाजमा विकृति, विसंगति फैलिरहँदा राज्यले बेलैमा ध्यान नदिने हो भने देशको धर्म, संस्कृति कतातिर जाने हो त्यो भने हेर्न बाँकी छ ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *