हचुवाको विकासलबाट समृद्धि आउँदैन

समाचार

समय काल वैश्चिक परिस्थिति अनुसार भएका स्वभाविक विकासलाई हामीले गरेको विकास भनी दलका नेताहरुले दाबी गर्दैआएका छन । अहिले जेजस्तो विकास नेपालमा भएका छन त्यो नेपालको राजनीतिक नेतृत्वको प्रयासबाट भएको विकास होइन । दलहरुले पञ्चायत कालमा बनेका विकासको संरचनाहरुलाई भत्काउने र त्यसलाई फेरि बनाउने बाहेक अरु केही गरेका छैनन् । विकास परियोजनाहरु राष्ट्रको जरुरत हेरी विकासमा पछि परेका क्षेत्रहरु र जनताहरुलाई समेटेर बनाउनु पर्छ । कुन क्षेत्र र कुन जनजातिको विकास गर्न गराउन जरुरी छ त्यसलाई हेरी उक्त क्षेत्रमा विकास परियोजनाहरु बनाउनु पर्छ । तर दलहरुको नेतृत्वमा चलेको बिगतको ३३ बर्षको नेपालमा पुरानो संरचनालाई भत्काउने र बनाउने बाहेकको अरु ठोश काम केही हुन सकेन । त्यस्तो विकास पनि सहरी क्षेत्रमा नै केन्द्रित भएको हुँदा नेपालको अन्य पिछडिएको क्षेत्रहरुको विकासमा ध्यान नै पुगेको छैन । दलहरुको त्यस्तो विकासे सोच आफै उत्पन्न भएको भने होइन । दलहरुलाई त्यसरी सोच्ने विदेशीको प्रभावले नै बाध्य तुल्याएको हो । नेपाल विकासमा पछि पर्नुको कारणहरुलाई दलका नेताहरुले खासगरी माओवादी दलका नेताहरुले सुरुमा नै राम्रै सित पहिचान गरेका थिए ।
तर सोही दलले नेपालको राजकीय सत्ताको नेतृत्व सम्हाल्न थालेपछि उहाँहरु धेरै बहकिए र आफ्नो मौलिक पनालाई त्यागेर विदेशीको बहकाउमा लाग्दै गए । नेपालमा अहिले बनेका वा बन्दै गरेका विकासका संरचनाहरु नेपालमा विदेशीको व्यापार बढाउनको लागि केन्द्रित छन । ठुला चौडा सडकहरु, उच्च क्षमताको भन्सार सुबिधाहरु, सुख्खा बन्दर्गाहहरु ईत्यादि नेपालमा विदेशीको व्यापार बढाउनका लागि बनेका छन । नेपालबाट विदेश तिर निर्यात गर्नको लागि उक्त सुबिधाहरुको आवश्यक अहिले नै छैन किनकि नेपाल राष्ट्र दलहरुकै नेतृत्वको कमजोरीको कारण उद्योग विकासमा धेरै पछाडि परीसकेको छ । पञ्चायत कालमा बसालेको औद्योगिक विकासको जगलाई दलिय कालमा भत्काउने काम मात्रै भएका छन । नेपाललाई आत्मनिर्भर मुलुकमा नै कायम राख्ने गरी बनेबनाएका नेपालको औद्योगिक विकासको जगलाई पनि प्रतिगामी विकास भन्दै दलहरुले भत्काउँदा आज आएर नेपाल एक परनिर्भर मुलुकमा रुपान्तरण भएको छ । नेपालको विकास विदेशीले दिने ऋणको भरमा चलेको सर्वविदित नै छ । दलहरुले नेपालको विकास गर्ने भनी विदेशीहरु सित लिएका ऋणको भारी कम छैन ।
पञ्चायत कालमा एक खरबमा पनि नपुगेको विदेशी ऋणको मात्रा दलीय कालमा बढेर २० खरब नाघीसक्दा पनि दलहरुले नेपालमा विकासको नयाँ जग तयार पार्न सकेको छैन । नेपालका राजनीतिक दलहरुको लागि नेपालको विकास अन्धोहरुलाई हाती झै बन्दै आएको छ । नेपाल राष्ट्रलाई अब फेरि स्वाभिमानी आत्मनिर्भर मुलुक बनाउन नसक्ने गरी दलहरुले नेपालको राजनीति मात्र होईन नीतिहरुलाई नै बदलेर पूर्ण कार्यान्वयन गरी सकेकाछन । अब त्यसबाट वापस फर्किनको लागि नेपालमा ठुलै राजनीतिक उथलपुथल हुन जरुरी छ । स्वाभीमान नभएका राजनीतिक दलका नेतृत्वले नेपाल राष्ट्रलाई विदेशीको लहैलहैमा लागेर नेपालको मौलिकतालाई नै मेटाउने खालको नीतिहरु लागु गरीसकेका छन । नेपालको भविष्य भनेको नेपालको युवापिढी नै हो । त्यही युवापिढीलाई दलहरुले लादेका वैदेशिक रोजगारीको नीतिले गर्दा परनिर्भर मात्र होइन विदेशीको गुलाम नै बनाईसकेका छन । विदेशीको गुलामी नगरी नेपाली जनताको घर व्यवहार नै नचल्ने तुल्याई सकेका छन ।
नेपालको आफ्नै गौरवशाली ईतिहास छ जुन बनाउनको लागि नेपाली जनताको पूर्खाले धेरै रगत पशिना बगाएका छन । नेपालको धर्म र साँस्कृति विश्वका अन्य मुलुकहरुको भन्दा कम छैन । नेपाल हिन्दूधर्मको उद्गमस्थल नै मानिन्छ । नेपाल राष्ट्र बनाउने र नेपाली जनतालाई एक आपसमा जोडेर राख्ने हिन्दूधर्म र नेपालमा परपूर्वकाल देखि चल्दै आएको जनजातिय साँस्कृतिक र परम्पराहरुले नै हो । नेपाललाई नेपाल बनाएर राख्न र नेपालको सबै जात जातीको कला साँस्कृति र धर्मलाई जोगाएर राख्नको लागि नेपालको राजतन्त्रले २४३ बर्ष सम्म अहम भूमिका निभाएको थियो । नेपालको राजतन्त्रले नेपाललाई पहिले मुसलमान सम्राज्यवादीको आक्रमण देखि र पछि अंग्रेज सम्राज्यवादीको आक्रमण बिरुद्ध युद्ध लडेरै नेपाललाई विदेशीको गुलाम हुनबाट जोगाएका हुन । अहिले दलहरु सित नेपालको रक्षाको निमिक्त त्यस्तो युद्धहरु लड्न सक्ने कुनै हुती छैन ।
यस्ता हुतीहाराहरुको पछि लागेर नेपाली जनताले आफ्नो बहुमूल्य ३३ बर्षको समय त्यसै खेर फालीसकेका छन । दलका नेताहरुले विदेशीको नुन खाएकाले विदेशी कै सेवा गर्नमा नै व्यस्त रहने हुँदा नेपाल राष्ट्र र नेपाली जनताको भविष्यको बारेमा सोचेर विकास आयोजनाहरुको तयारी गरी त्यसलाई कार्यान्वयन गर्ने फुर्सद नै पाएका छैनन् । नेपालको धर्म, कला र साँस्कृति सित नजोडिएको राजनीति मात्र होइन विकास आयोजनाहरु पनि दीगो हुन सक्दैन । विदेशी कै सुन्ने र खाने दलहरुको राजनीति नेपालमा धेरै लामो टिक्दैन । दलहरु अहिले सम्म नेपाली जनताको मनमा भ्रम फैलाएर मात्रै टिकेका हुन । नेपाली जनता लामो समय सम्म अब त्यस्तो भ्रमको सिकार बन्दै बस्नेवाला छैन । नेपाली जनता दलहरु प्रति हुने बिरोधको सक्रिय नेतृत्व गर्न सक्ने नेतृत्वको खोजी गर्दै पर्खाइमा बसेका छन । विदेशीलाई खुशी पारेर नेपाली जनता माथि अविकासको शासन चलाउदै आएका दलहरु आफै त्यसै ढल्दैन किनकि विदेशीले उहाँहरुलाई नेपालको राजकीय सत्तामा टिकाई राख्ने जिम्मा लिएका छन ।
विदेशी बैंकहरु र विदेशी गैरसरकारी संस्थाहरु त्यसैको लागि नेपालमा सक्रिय भएर बसेका छन । साथै दलका नेताहरुको भरणपोषण गर्ने विदेशी कूटनीतिक नियोगहरु र त्यसमा संलग्न कूटनितिज्ञहरु पनि प्रशस्तै सक्रिय छन् । तर नेपाली जनताको जीउमा काउसो बनी टाँसिएका र जुका बनी रगत चुस्तै गरेका दलका नेताहरुलाई तहलगाउन विदेशीका कुनै पनि प्रकारको हस्तक्षेपले अब लामो रोक्न सक्दैन । नेपाली जनताको धर्यताको बाँध फुट्नै आँटेको हुँदा बाँध फुटेपछि त्यसमा परी को को बग्ने हुन कसैले अनुमान लगाउन सक्दैन । नेपाललाई अविकास र कूविकासको सिकार दलहरुले बनाएका छन । अग्ला पहाडको टुप्पोमा अनि तराईको धान खेत मैदानमा टावरहरु बनाएर दलका नेताहरुले नेपालमा कस्तो किसिमको विकास गर्न खोजेका हुन नेपाली जनताले बुझ्न सकेका छैनन् । नेपालको समृद्धि र नेपाली जनताको सुखको लागि हो भनी नेताहरुले दाबी गरेता पनि दलहरुले बनाएका त्यस्ता विकासका संरचनहरु कतैबाट पनि नेपालको समृद्धि र नेपाली जनताको सुख सित जोडिएको कुरा स्थापित हुँदैन ।
दलका नेताहरुलाई नेपाल राष्ट्रको विकासको नाममा विदेशी सित राष्ट्रको नाममा ऋण लिएर घीउ पिउने बानी परीसकेको छ । राष्ट्रको संपत्तिको रुपमा रहेका सार्वजनिक प्रति जग्गा जमिनहरु दलका नेताहरुले विदेशीका दलालहरुको मार्गदर्शनमा निजीकरण गरी व्यापक व्यापारिकरण गरीसकेका छन । दलका नेताहरुको यस्तो कूदृष्टि र अराजक कदमबाट नेपाल राष्ट्रकै मुटुमा पर्ने बालुवाटारको सरकारी घर जग्गा जमिन समेत अछुतो रहन सकेन । यस्तो विकासमा आराजकता बढाउने दलका नेताहरु नेपालको शासन सत्ता चलाउनको लागि कतैबाट पनि योग्य छन भन्न सकिन्न । तैपनि विकासको भ्रम फैलाएकै भरमा दलहरु आलोपालो गरी नेपालको शासन सत्ताको भोग गर्न सफल बन्दै आएका छन । नेपाली जनता जागेर उहाँहरुलाई झट्टै फाल्न सक्ने अवस्था नेपालमा बन्दै गएको भएतापनि विदेशीको साथ सहयोग पाएको हुँदा दलहरु जसो तसो सत्तामा टाँसीएर बस्न सफल भएका छन ।
दलहरुले नेपालको विकासको लागि अति आवश्यक स्वतन्त्र बजारको व्यवस्था र कानुनी राजको व्यवस्था अहिले सम्म गर्न सकेको छैन । भौतिक रुपमा दलका नेताहरुले नेपालमा क्रोनी पुँजिवादी व्यवस्था लादेका छन । समानता, समावेसी र समाजबाद दलका नेताहरुको भाषण गर्न कुरा मात्रै हुन व्यवहारमा उहाँहरुले नेपालमा क्रोनी पुँजिवादी व्यवस्थाको अभ्यास गर्दै अगाडि बढेका छन । यहि कारणले गर्दा नेपालमा धनी र गरिबको बिच दुरी बढ्दै गएकाले आर्थिक भेदभाव पनि बढेको छ । नेपालमा आर्थिक संकट बढ्नुको कारण पनि यहि नै हो । राजनीतिक अस्थिरता र संकट पनि दलाल पुँजीवादी अभ्यासबाटै उत्पन्न भएको हो । लोभलाचमा लागेका दलका नेताहरुले नेपालमा ठुला परियोजनाहरु पनि राजनीतिक निर्णयबाटै छनौट गरी बनाउँदै आएका छन । कमिसन खाने उद्देश्य बनाएका यस्ता परियोजनाहरुबाट नेपाललाई फाईदा भन्दा पनि हानीनोक्सानी धेरै भएका छन । यस्ता परियोजनाहरुबाट राष्ट्रको आम्दानी बढेको छैन भने खर्च भने राष्ट्रको आयस्रोतले धान्नै नसक्ने गरी बढाएको छ ।
यस्ता परियोजनाको प्रमुख उदाहरणमा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमाचनस्थलहरु पर्दछन । भ्रष्टाचार र कमिसनतन्त्रको बिरोध गर्दै सत्तामा पुगेकाहरुले पनि त्यहि गर्दा नेपाली जनता तीनछक्क परेका छन । स्थापित प्रणाली अनुसार विज्ञहरुको अध्ययन, अनुसान्धान र सिफारिसको आधारमा परियोजनाहरु बनाउने तिर दलका नेताहरुको पटक्कै ध्यान छैन । त्यसैले नेपाल भर हचुवामा बिभिन्न विकासका संरचनाहरु बनाईएका छन जसलाई भविष्यमा भत्काएर फाल्नु पर्दा नेपाल राष्ट्रलाई धेरै आर्थिक क्षति हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *