बिचौलियालाई अघि सारेर घुस खाने कर्मचारीलाई सेवाग्राहीको झापड

राजनीति समाचार

काठमाडौं । सर्वसाधरण जनता यति सचेत र जागरुक हुँदै छन कि भ्रष्ट कर्मचारीहरु अब ठाउँको ठाउँ कुटाइ खाएर माफी माग्नु पर्ने अबस्थामा पुगेका छन् । विचौलियालाई अगाडि सारेर घुस खाँदै आएका कर्मचारीहरुले ठाउँका ठाउँ झापड भेट्न थालेका हुन । यस्तो दृश्य देखिएको हो अस्ति सोमबार । सबैभन्दा घुस्याहा कर्मचारीको रुपमा मालपोत,नापी,यातायात,भन्सारका कर्मचारीहरु चिनिन्छन् । तिनैमध्ये सोमबार यातायातका कर्मचारीहरुले सेवाग्राहीको बाघेझ्याप्पु भेटेका हुन । विचौलिया अगाडि सारेर नजराना उठाउँदै आएका कर्मचारीहरुले सेवाग्राहीबाट पिटाई भेटेका थिए ।

घटना हो,चाबहिल यातायातको । त्यहाँका दुई जना दलाल डेभिड गिरी र विकास तमाङलाई अगाडि सारेर मोटरसाइकल तथा ठूला गाडीको लिखित परीक्षामा उत्र्तीण गराइदिन्छु भन्दै परीक्षार्थीसँग १० हजारका दरले घुस लिएको भेटियो । एकातिर निर्धारित समयमा परीक्षा नहुने अर्काेतिर विचौलिया अगाडि सारेर मोलमोलाई हुने भए पछि यातायातका कर्मचारीहरुले ठाउँको ठाउँ दनक भेटेका हुन । सो यातायात कार्यालयको ट्रयल सेन्टर तोकिएको थियो, दक्षिणढोकामा । त्यहाँ लिखित परीक्षा हुनुपर्नेथ्यो ।

परीक्षाको समय बिहान दश बजे तोकिएको भए पनि तोकिएको भन्दा दुई घण्टा ढिलोसम्म परीक्षा सञ्चालन नहुँदा यातायातका कर्मचारीमात्र होइन,त्यहाँ परीक्षा लिनका लागि बग्गी खानाबाट खटिएका दुई जना प्रहरीले समेत सेवाग्राहीको मुक्का भेटेका हुन । विहान १० बजे शुरु हुनुपर्ने लिखित परीक्षामा समयमा शुरु नभएको भन्दै सेवाग्राहीले दक्षिणढोका ट्रायल सेन्टरमा चावहिल यातायातका कर्मचारी र प्रहरीमाथि कुटपिट गरेका हुन ।चाबहिल यातायातबाट लिइने परीक्षा सधै निर्धारित समयभन्दा निकै ढिलो गरेर मात्र सञ्चालन हुँदै आएको छ ।

सदाको जस्तै अस्ति सोमबार पनि त्यहाँ लिखित परीक्षा सञ्चालन हुँदै थियो तर १० बजे भनिएको परीक्षा १२ बजेसम्म शुरु नहुँदा आक्रोशमा आएका सेवाग्राहीले यातायात कार्यालय चावहिलका लेखा अधिकृत जगन्नाथ उपाध्याय र अधिकृत छैटौं कूलबहादुर बस्नेत,र होमबहादुर खड्काका अलवा त्यहाँ खटिएका सुरक्षाकर्मीलाई समेत मुक्काएका थिए । सेवाग्राहीको पिटाइ खानेमध्ये बस्नेत लिखित परीक्षाको संयोजक हुन । खड्का नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य हुन ।

सो परीक्षामा लेखा अधिकृत सहभागी हुनुपर्ने कुनै कारण नभए पनि तर अधिकृत जगन्नाथ उपाध्याय आफ्ना आफन्तलाई पास गराउनका लागि प्रयोगात्मक परीक्षा र लिखित परीक्षामा सदैव जाने गर्दै आएका थिए । सेवाग्राहीका अनुसार यी कर्मचारीहरुले परीक्षा ढिला गरी आफ्ना मान्छेलाई पास गराउन खोजिएको देखे पछि उनीहरुले कर्मचारीमाथि हातपात गरेका हुन । हातपात हुँदा छुट्टयाउन जाने ट्राफिक प्रहरी कार्यालयबाट खटिएका श्रेष्ठ र लुँइटेलका थरका प्रहरीले पनि पिटाइ खाएका छन् ।

यातायातका कर्मचारीहरुले ट्रायल सेन्टरसँगको सेटिगमा मोटरसाइकलबाट २ हजार,डोजर तथा ठूला गाडीको परीक्षामा पाँच हजार असुल गरी सिसि क्यामरा नभएको कोठामा परीक्षा सञ्चालन गर्दै परीक्षामा पास गराउँदै आएका थिए । आक्रोशित भएका लिखित परीक्षार्थीको भिडलाई नियन्त्रणमा लिन र सम्झाउन यातायातका कर्मचारीहरुले प्रहरीको साहारा मागे ।

त्यहाँ दुई ट्रक प्रहरी खटाइयो । अन्त्यमा संयोजक बस्नेतले हात जोडेर माफी मागेपछि बल्ल आन्दोलनरत परीक्षार्थीहरु परीक्षा दिन तयार भएका र अस्तिको परीक्षा सम्पन्न भएको बताइएको छ । यसै गरी सेवाग्राही र सर्वसाधरण जागरुक हुने हो भने भ्रष्ट कर्मचारीहरुको बाजा बजाउन सकिन्छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *