मन्त्री र सचिवकै कारण राज्यको ढुकुटी स्वाहा

राजनीति समाचार

काठमाडौं । जब नेपालमा सरकार फेरबदल हुन्छ तब कर्मचारी पनि फेरबदल हुने क्रम जारी छ । अधिकांश कर्मचारीहरुलाई सरकारले फुटबल खेलाए झैं खेलाउने गर्दछ । कहिले कांग्रेसको सरकार बन्छ, कहिले माओवादीको सरकार बन्छ, कहिले एमालेको सरकार बन्छ त्योसँगै कर्मचारीहरु पनि फुटबल खेलमा पर्ने गर्दछन् । यसरी फुटबल खेलमा परेसँगै गोलकिपर को बन्ने हो भनेर होडवाजी नै चल्छ । तर, विकास निर्माणको काम भने सधैं ओझेलमा परिरहन्छ ।

एउटा मन्त्री आउँछ ६ महिनादेखि एक वर्ष पनि टिक्दैन । मन्त्री भएर आएपछि उसले आफ्नो पार्टी र कार्यकर्ताहरुको काम गर्छ । सर्वसाधारण जनता र विकास निर्माणका काममा कसैले ध्यान दिँदैनन् । आफ्नै मनखुसीले काम गर्छन्, नीतिनिर्माण बनाउँछन्, कार्यकर्ता भर्ती गर्छन् । तर, देश र जनताको पक्षका नीति निर्माण बनाएर लागु गर्दैनन् । उता कर्मचारी पनि मन्त्रीले जे अह्राउँछन् त्यहीं गर्दछन् । किन भने पटक–पटक मन्त्रीहरु फेरिने कारणले गर्दा पहिलाका मन्त्रीले ल्याएको नियम कानुनलाई कार्यान्वयन गर्दैनन् । अर्को मन्त्री आउँछ आफूखुसी नियमकानुन बनाउँछ । अनि कर्मचारीले पनि काम गर्ने मेसो पाउँदैनन् ।

फेरि नयाँ सरकार बन्नेबित्तिकै कुन मन्त्रीले कुन कर्मचारीलाई आफूसँग तान्ने हो टुंगो हुँदैन । त्यसले गर्दा पनि पहिला लागु भएका नियमकानुनहरु पनि अलपत्र पर्ने गरेका छन् । कर्मचारी पनि के कम उनीहरु पनि मन्त्री फेरिएसँगै आफू कसरी ती मन्त्रीको विश्वास पात्र बन्ने र मालदार ठाउँमा जाने भनेर दाउ हेरिरहेका हुन्छन् । कर्मचारीहरुको काम पनि महिनाभरि अफिस जाने हाजिर गर्ने तलब, भत्ता बुझ्ने गरेर दिन काटिरहेका हुन्छन् ।

त्यसकारणले पनि अधिकांश मन्त्रालय, विभाग, योजना, आयोजना, कार्यालय र प्रोजेक्टहरुमा जाने र कमाउने खेलोफड् कर्मचारी नेता र सचिवहरुले गर्ने गरेका छन् । कुनै पनि राजनीतिक दलको सोर्सफोर्स नभएको र स्वतन्त्र हिसाबमा काम गर्ने कर्मचारीलाई जगेडामा राख्ने गरिन्छ । र, मन्त्री निकट कर्मचारीहरुलाई अधिकार दिएर काम लगाइन्छ ।

यसरी पावर र सोर्सफोर्समा राखिएका कर्मचारी खाली राज्यको ढुकुटी रित्याउने र आफ्नो दुनो सोझ्याउने काममा लागिपरेका छन् । मन्त्री र सचिवहरुले राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा काम गर्ने हो भने नेपाल जस्तो सम्भावना भएको मुलुक विकास नहुने कुरै थिएन । तर, यहाँ नेता, मन्त्री र सचिवले सही काम नगर्ने भएकाले नै नेपालले यतिखेर आर्थिक मन्दीको भार खेप्नुपरेको हो । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *