वनको सदुपयोग आजको अपरिहार्यता

समाचार

वन व्यवस्थापनको सन्दर्भमा धेरै नागरिक वा जनताको सहभागीता रहेको पद्धती सामुदायिक वन हो । २२ हजार ५ सय १९ सामुदायिक वन उपभोक्ता समूहहरुलाई २३ लाख १२ हजार ५ सय ४५ हेक्टर राष्ट्रिय वन सामुदायिक वनको रुपमा हस्तान्तरण भएको छ । सामुदायिक वन अभियानमा ३० लाख ८८ हजार २ सय ५९ घरधुरी आवद्ध रहेका छन् । नेपालको कुल भुभागको ४४.७४ प्रतिशत क्षेत्रमा वन रहेको छ । यो क्षेत्रलाई उत्पादनमूलक हुन वा वनाउन सकिरहेको छैनौं ।

वन व्यवस्थापनका चर्चा गर्दा संरक्षणमुखी सोच नैं हावी भएको छ । सरकार नियन्त्रीत वनको व्यवस्थापनको कुरा त त्यस्तै हो सवैभन्दा कुशलतापूर्वक व्यवस्थापन भएको भनिएको सामुदायिक वन पनि संरक्षणमुखी भन्दा माथि उठेको छैन । यसो हुनुमा नीति निर्माता, वन प्राविधिक, उपभोक्ताहरु सवैको संरक्षणमुखी मानसिकता भएर हो । रुख काट्नु वन विनास हो भन्ने सोच अझै पनि छ । सामुदायिक वनको अवधारणा सुरुगर्दा कैं सोच अहिले पनि छ । त्यती वेला वन विनास भएको थियो त्यसैले सवै भन्दा पहिला संरक्षण गर्नु आवश्यक थियो र हुनु पनि पर्दछ । विद्यार्थिको लागि १२ कक्षा भनेको जस्तो । १२ कक्षा पास गरे पछि के वन्ने सोही अनुसार आफनो अध्ययन अगाडी वढाउँछन् त्यसै गरी सामुदायिक वन पनि संरक्षण पहिलो अनिवार्य विषय हो । त्यसपछि व्यवसायीक वाटो समात्न सक्नु पर्दछ । तर संरक्षणमुखी मात्र गर्ने सोच अझै हटेको छैन । एउटा विधार्थीले सधैं भरी १२ कक्षा दोहो¥याई दोहो¥याइ पढेर वस्दैन । तर त्यो पढेको विषय विर्सने पनि गर्दैन । हामी चाँही संरक्षण मात्र गरेर वसेका छौं । अली अली प्रयोग गरे व्यवसायीक भएकै छैन । यसमा सामुदायिक वनको नेतृत्व गर्ने, सहयोग गर्ने सवै जिम्मेवार छौं । सामुदायिक वन अवधारणा विकास गर्दाका समयका उपभोक्ता, सहयोगी, सरकारी संरचना सफल भए किनकी त्यो बेलामा सामुदायिक वन मार्फत वन संरक्षण गन्तव्य वनाए । संरक्षणमुखी त्यो गन्तव्य प्राप्त भैसकेको धेरै भैसक्यो । ५ प्रतिशत वन वढ्यो । उजाड भैसकेको वा उजाड उन्मुख क्षेत्रमा हरियाली छायो । अब सामुदायिक वनको नयाँ गन्तव्य निर्धारण गरी सो प्राप्तीकालागि क्रियाशिल हुनु पर्ने हो त्यसमा हामी चुकेका छौं । २९ लाख घरधुरी आवद्ध भएको, एक करोड ५० लाख नागरिकहरुलाई समेटेको, २ लाख भन्दा वढि सामुदायिक नेतृत्व तहमा क्रियाशिल भएको, समावेशी लोकतन्त्रको समुदाय स्तरमा अभ्यास गरेको, जैविक विधिता जोगाएको भनेर फुर्ति लगाएर मात्र हुँदैन । यी त अव सबल आधारको रुपम स्वीकार गरी वन क्षेत्रको अधिकतम् सदुपयोग गर्नु पर्दछ । यसले कमजोर वर्गको जिविकोपार्जनमा के सुधार ल्यायो । समृद्ध नेपाल वनाउन के योगदान ग¥यो भन्ने चर्चा गर्न आवश्यक छ । वन क्षेत्र गाड धन जस्तो भएको छ । छैन भन्दा छ तर जीवन उपयोगी वनाउन सकिएको छैन ।

रुख भनेको काट्नैको लागि हो । यो नविकरण गर्न मिल्ने प्राकृतिक स्रोत हो । परिपक्व भएको रुख काट्ने विरुवा लगाउने वा विरुवा हुर्कने वातावरण तयार गर्नु पर्दछ । नेपालको वनवाट निकाल्न सकिने मात्राको केही अंश पनि काठ निकाल्न सकिएको छैन । हिजो कुनै ठाउँमा काठ लडेर सडेर गएको ठाउँ देखियो भने वन कार्यालय रहेछ भनेर अनुमान गर्न सकिन्थ्यो । अहिले यो रोग सामुदायिक वन तिर पनि सर्न लागेको भान हुन्छ । वनमा काठ सडेर गएको छ तर घर वनाउन फलामे रड र आल्मुनियमको झ्याल राख्नु पर्ने वाध्यता भैसकेको छ । वनको दिगो व्यवस्थापन गरेको खण्डमा नेपालको आन्तरिक मागको तुलनामा दोव्वर भन्दा वढि काठ निकाल्न सकिन्छ भनी आंकलन गरिएको छ । तर गत वर्ष मात्र नेपालमा गोलिया काठ नैं आयात गरेको सरकारी आंकडावाट देखिन्छ । गत आ.व.मा काठ तथा काठजन्य सामाग्रीहरु झण्डै ६ अर्ब रुपैयाको आयात गरिएको तथ्य भेटिन्छ ।

वन क्षेत्रलाई सौन्दर्यको साधान वनाउन खोजिदैं छ । तर वन भनेको समृद्धिको साधान हुनु पर्ने हो । सामुदायिक वनको अवधारणा विकास गर्दाका समयको दुःख सम्झेर अहिले पनि रुख काट्न माया गरिराखेका छौं । नेपालको झण्डै आधा भूमिका वन छ त्यो सवै क्षेत्र देखाउने मात्र उपयोग नगर्ने हो भने मुलुक र मुलकवासीको समृद्धि हावादारी गफ मात्र हुनेछ । नेपाल सरकारले समृद्ध नेपाल सुखी नेपाली भन्ने अवधारणा सारेको छ । सवै क्षेत्रवाट त्यो सोच कार्यान्वयनका लागि सामुहिक पहल हुनु पर्ने हो तर वन क्षेत्रलाई उत्पादनमुलक काममा प्रयोग भएकै छैन । अनी कसरी संभव छ नेपाल सरकारको महत्वकांक्षी सोच ।

वन क्षेत्रको अवको गन्तव्य वनको दिगो व्यवस्थापनमा आधारित हुनु पर्दछ । सामुदायिक वन त झन उपभोक्ताको समृद्धिलाई केन्द्र विन्दु वनाएर वनको दिगो व्यवस्थापनमुखी योजना कार्यान्वयन हुनु पर्दछ । सामुदायिक वनको अवधारणा विकास हुँदाको समयमा हरेक घरपरिवार कम्तीमा पनि दिनको एक पटक जानु पर्दथ्यो । प्रत्यक्ष वनको सम्पर्क विना जीविकोपार्जन संभव थिएन । अहिले उपभोक्ताको आवश्यकता फेरिएको छ । यहि अवस्थालाई सम्वोधन हुने गरी योजना वनाउनु पर्दछ । अहिले वनवाट दाउरा चोरी होला भन्ने त्यती धेरै चिन्ता छैन । शहर वरीपरीका सामुदायिक वनहरुले पर्यापर्यटनमा ध्यान दिनु सान्दर्भिक हुन्छ । रुख राम्रो भएका सामुदायिक वनले रुख काट्ने विरुवा हुर्काउने अवधारणा सुरु गर्नु पर्दैछ । हामीसँग भएको वन नैं यस्को व्यवस्थापनवाट मुलुक र मुलुकवासी धनी हुने हो । खाडीमुलुकको तेल र चाइनाको सामान वेचेर हामी समृद्ध हुन खोज्नु गोरु पालेर गाईको दुध खान खोज्नु जस्तैं हो । वनवाट समृद्धि ल्याउनका लागि यूवा पुस्ताको प्रवेश हुनु जरुरी छ । सामुदायिक वनको नेतृत्वमा ४० वर्ष नाघेकाहरुको मात्र वाहुल्यता छ । वन क्षेत्रसम्वन्धी कानून बनाउने, कार्यान्वयन गर्ने सवै ४० नाघेका उनीहरुले सामुदायिक वनवाट आफनो व्यक्तिगत भविष्य अत्यन्त कमले मात्र देख्छन् । सामुदायिक वन सहायक काम मात्र भएको छ त्यही भएर पनि सामुदायिक वनको नयाँ गन्तव्य तयार भएको छैन । ४० नाघेकाको अनुभव र युवा पुस्ताको अठोेट र सोच समायोजन गर्नु पर्दछ । सामुदायिक वन क्षेत्रमा युवाहरुको प्रवेश भएमा नविनम् सिर्जना गर्न सक्दछन् । आफ्नो भविष्य खोज्न थाल्दछन्, व्यवसायीक वन व्यवस्थापन सुरु गर्न सक्छन् । अनी वन क्षेत्र समृद्धिको साधान हुन सक्दछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *