काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा १४ सय ८५ पत्रकारको सदस्यता रहेको छ । काठमाडौं शाखामा मात्रै १४ सय ८५ क्रियाशील पत्रकार रहेको भनिए तापनि अहिले आएर अधिकांश सदस्यहरु पत्रकारिता पेशाका नभएर राजनीतिक दलका कार्यकर्ता र अन्य पेशाका व्यक्ति रहेको पुष्टि भएको छ ।
किन भने क्रियाशील पत्रकारहरुको मात्रै सदस्यता भएको भए यतिखेर बजारमा पत्रकारको अभाव हुने थिएन् । यसरी पत्रकारिता क्षेत्रभन्दा अन्य पेशाबाट आउने व्यक्तिहरु प्रायः गरेर विभिन्न राजनीतिक दल निकट पत्रकारहरुको संघ, संगठनहरुले गैरपेशाका व्यक्तिहरुलाई पत्रकार महासंघको सदस्यता दिलाउन सिफारिस गर्ने र सदस्यता छानविनका बेला राजनीतिक हस्तक्षेप गर्ने गरिँदै आएको छ ।
त्यसमा पत्रकार छनोट गर्ने भन्दा पनि राजनीतिक दलका कार्यकर्तालाई सिफारिस गरी पठाउने र छनोट गर्ने गरिन्छ । यसरी राजनीतिक दल निकट पत्रकारहरुका संघ, संगठनहरुले नै गैरपेशाका व्यक्तिलाई नेपाल पत्रकार महासंघ भित्र छिराउने काम गर्दै आएका छन् ।
त्यसरी राजनीतिक दल निकट पत्रकारहरुले पनि राजनीतिक पार्टीको पत्रकारिता गर्ने भन्दा पनि दलभित्रको व्यक्ति पत्रकारिता गरी हालीमुहाली गर्ने गरेका छन् । राजनीतिक दलभित्रका नेताको गुनगान गाएर फाइदा लिने पत्रकारहरु सबै राजनीतिक पार्टीभित्र छन् । त्यसकारण पनि राजनीतिक पार्टी बद्नाम हुँदै जाने र व्यक्ति हावी हुने हुनाले अहिले देशको राजनीति यो अवस्थामा आइपुगेको छ ।
राजनीतिक दलका नेता निकट पत्रकारहरु पनि व्यक्तिगत गुनगान गाउनमै व्यस्त छन् । त्यहीं गुनागान गाएबापत उनीहरु लाभको पदमा पुग्ने गरेका छन् । यसरी दलको भन्दा पनि व्यक्तिको आडमा लाभ लिने नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनको नाममा सभापति शेरबहादुर पक्षधर पत्रकारहरुमा डा. सुरेश आचार्य, बद्री सिग्देल, गोविन्द परियार, शमिरजंग शाह, शरोज अधिकारी, अनिता बिन्दु, प्रकाश थापालगायत रहेका छन् । त्यसैगरी कांग्रेसकै नेता डा. शेखर कोइराला निकट पत्रकारहरुमा तारानाथ दाहाल, विपुल पोखरेल, शिव लम्साल, मोती पौडेल, धर्मेन्द्र झा, किरण पोखरेल, नकुल अर्याल, अच्युत रेग्मी, जगन्नाथ दुलाललागयत रहेका छन् ।
कांग्रेसकै नेता गगन थापा निकट पत्रकारमा दिलिप पौडेल, जीवन भण्डारी लगायत छन् । त्यस्तै नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल निकट पत्रकारमा सूर्यचन्द्र बस्ने र खिला कार्की देखिएका छन् । माथि उल्लेखित नामका पत्रकारहरु पार्टी पत्रकारिता भन्दा व्यक्ति पत्रकारिता गरी लाभको पदमा पुग्ने गरेका छन् ।
उनीहरुले राष्ट्र, राष्ट्रियता र समाजको विकृति, विसंगतिविरुद्ध कलम चलाउनुपर्नेमा पार्टीभित्रको व्यक्ति पत्रकारिता गरी नेता रिझाउने र पद, पावर र पैसामा रमाउने गर्दछन् । नेपाल प्रेस युनियनको पद, नेपाल पत्रकार महासंघको पद र राजनीतिक नियुक्ति पनि यिनै नामभित्रका पत्रकारहरुले घुमाइघुमाइ खाने गरेका छन् ।
त्यसैगरी नेकपा एमाले निकट प्रेस चौतारी नेपालको आडमा व्यक्ति पत्रकारिता गर्नेहरु पनि त्यो भन्दा कम छैनन् । त्यसमा अध्यक्ष केपी ओली निकट भनेर चिनिने प्रेस चौतारी नेपाल निकट रहेर पत्रकारिता गरी राजनीतिक लाभ लिने पत्रकारहरु तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटा, गोविन्द पोखरेल, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, गणेश पाण्डे, दीपक पाण्डे, राजेन्द्र अर्याल, सूर्य थापालगायत छन् । उनीहरुले नेकपा एमाले निकट रहेर व्यक्तिगत पत्रकारिता गर्ने यिनै नामहरुभित्रबाट पार्टीको टिकटदेखि नेपाल पत्रकार महासंघको टिकटदेखि प्रेस चौतारीको टिकट लिएर चौतारीको नेता बनेर पद र राजनीतिक नियुक्तिहरु पनि घुमाइघुमाइ खाने गरेका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालमा रहेर व्यक्ति पत्रकारिता गरी लाभ लिनेहरु गोविन्द आचार्य, ओम शर्मा, महेश्वर दाहाल, रोशन पुरी, संगीता खड्का, गोकर्ण भट्टलगायतका व्यक्तिहरु पार्टी पत्रकारिता भन्दा पनि नेता पत्रकारिता गर्दै आएका छन् । योसँगै एकीकृत समाजवादी पार्टीभित्र पनि पार्टी पत्रकारिता गर्नुपर्ने ठाउँमा व्यक्ति पत्रकारिता गरेर लाभ लिनेमा गोविन्द चौलालाईँ, शन्तराम विडारीलगायतका व्यक्ति देखिएका छन् । त्यसैगरी मधेसी दल निकट पत्रकार नेता भनेर चिनिने राजेश अहिराजले पनि पार्टी पत्रकारिता भन्दा पनि व्यक्ति पत्रकारिता गरेर पद र पैसामा रमाएका छन् ।
तर, माथि उल्लेख गरिएका नामबाहेकका आ–आफ्ना राजनीतिक पार्टीलाई सहयोग पुग्ने गरी निष्पक्ष ढंगले कलम चलाउने र संगठनलाई बलियो बनाउने पत्रकारहरु भने सधैं ओझेलमा पर्ने गरेका छन् । त्यस्ता पत्रकारहरु सबै राजनीतिक दल निकट छन् । उनीहरुले न त नेपाल पत्रकार महासंघको टिकट पाउँछन्, न त आ–आफ्नो पार्टी निकट संघ, संगठनले नै पत्याउँछन् ।
पार्टीभित्र पनि सुद्ध पार्टी पत्रकारिता गर्ने तर नेताको व्यक्तिगत रुपमा भजन नगाउने पत्रकारलाई न पार्टीले चिन्द छ, न त पत्रकार संघ, संगठनका नेताले नै चिन्दछन् । उनीहरुलाई सधैं आ–आफ्नो संगठनको भोट बैंक बनाउने र आफू पदमा जाने गर्दछन् । त्यो संगै विभिन्न पार्टीका पत्रकार संगठनका नेताहरुले पत्रकारलाई भजाएर विभिन्न समस्या देखाएर चन्द असुल्ने र आफ्नो घर बनाउने र गाडी चढ्दै आएका छन् ।(तामाकोशीसन्देशबाट)