दल निकट कर्मचारी संगठनहरु सरकारलाई घाँडो

राजनीति समाचार

काठमाडौं । अहिले नेपाल सरकारको कर्मचारी ब्यूरोक्रेसीभित्र राजनीतिक दल छिरेपछि ‘कहीं नभएको जात्रा हाँडी गाउँमा’ भनेजस्तै भएको छ । नेपालमा जति राजनीतिक दल दर्ता भएका छन् सबै दलका कर्मचारी संगठन पनि दर्ता भएका छन् । नेपालमा जस्तो निजामति कर्मचारीभित्र राजनीतिक संगठन विश्वका कुनै पनि देशमा छैनन् ।

तर, नेपालमा भने विभिन्न पार्टी निकट कर्मचारी संगठन खोलेर भद्रगोल मच्चाइएका छन् । यसरी भद्रगोल मच्चाउनेमा नेपाली कांग्रेस निकट कर्मचारी युनियन, नेकपा एमाले निकट कर्मचारी संगठन, नेकपा माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन, त्यसैगरी नेकपा एकीकृत समाजवादी सहकारी कर्मचारी संगठन, मधेसी दल निकट कर्मचारी संगठन र अन्य पार्टी निकटका पनि कर्मचारी संगठनहरु खोलिएका छन् ।

यसरी खोलिएका कर्मचारी संगठनहरुमा आवद्ध कर्मचारी नेताहरुले अफिसको काम गर्नेभन्दा पनि आफू नेता बन्ने श्रीमती, भाइ, बुहारी तथा तानागोतालाई जागिर खुवाउने र छोराछोरी विदेश पठाउने काम गर्दै आएका छन् । त्योसँगै कर्मचारी संघ, संगठनका नेताहरु सेवाग्राहीको कामलाई व्यवास्ता गर्दै राजनीति गरेर देश, विदेश घुम्ने र आफ्नोआफ्नो पार्टीको काम गर्ने गर्दछन् । कर्मचारी नेताहरु आफ्नो कार्यकक्षमा सेवाग्राहीको काम गर्न कहिल्यै बस्दैनन् ।

बरु उनीहरु उल्टै सम्बन्धित मन्त्रालयका सचिवहरुलाई पार्टीको आडमा थर्काउने काम गर्दै आएका छन् । त्यति मात्रै होइन, विभिन्न राजनीतिक दलका नेताहरुलाई आफ्नो कब्जामा लिएर फाइदा उठाउने काम गर्दछन् । यसरी फाइदा उठाउनेमा नेपाली कांग्रेस निकट त्यसमा पनि शेरबहादुर देउवा निकट गोपाल पोखरेल रहेका छन् भने उता शेखर कोइरालाको भिन्दै गुट छ । त्यस्तै तत्कालीन नेकपा एमाले निकट कर्मचारी संगठनभित्र पनि तीनवटा गुट थियो । त्यसमा एउटा केपी ओली, अर्को माधव नेपाल र तेस्रो वामदेव गुट थियो ।

नेकपा एमाले फुटेपछि केपी ओलीको गुटमा तत्कालीन कर्मचारी ट्रेडयुनियनका नेता पुण्य ढकाल थिए भने अहिल ट्रेडयुनियनका कार्यबहाक अध्यक्ष भोला पोखरेल रहेका छन् । आधिकारिक ट्रेडयुनियनको चुनाव नभएको पनि चार वर्ष भइसकेको छ । उता एमाले कर्मचारी संगठनको अध्यक्षमा लेखनाथ कोइराला रहेका छन् । रेवन्त गौतम र केदार देवकोटा पनि केपी ओली गुटकै हुन् ।

त्यस्तै माधव नेपाल गुटका भोला पोखरेल अहिले केपी ओलीकै गुटमा पुगेका छन् । त्यसैगरी एमाले फुटेर एकीकृत समाजवादीका अध्यक्ष बनेका माधव नेपालको गुटमा मोहन घिमिरे रहेका छन् । त्यस्तै नेपाल निजामति राष्ट्रिय कर्मचारी संगठनमा प्रचण्ड खेमाका हरि रावल छन् भने अन्य नेताहरुको छुट्टै कर्मचारी नेताहरु रहेका छन् । अझ मधेसी दलहरुको त कुरै न गरौं ।

उनीहरु कहिले फुट्छन्, कहिले जुट्छन् । उनीहरुको राजनीतिक संगठन र सिद्धान्त अहिलेसम्म एकिन छैन । मधेसको नाममा राजनीति गर्ने र व्यक्तिगत लाभ लिन ेबाहेक देश र जनताप्रति कुनै काम गरेको देखिँदैन । त्यस कारणले पनि नेपालमा राजनीतिक दल निकट कर्मचारी संगठनल खोल्नु भनेकै अहिलेको अवस्थामा आएर दुर्गन्ध फौलाउँनु मात्रै हो । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *