काठमाडौं । नेपालमा राजनीति गर्ने व्यक्तिहरुलाई त्यसै भनिएको होइन रहेछ, ‘जोगी हुनको लागि राजनीति गरेको होइन’ भनेर । अधिकांश राजनीतिक दलका नेताहरुले आफ्नो लागि राजनीति गरेका रहेछन् भन्ने पुष्टी भएको छ ।
आसेपासेलाई ठेक्काको काम दिने र बेलामा काम नसकी कमिसन खाने र रकम थाप्ने गर्दछन् । त्योसँगै कतिपय ठेकेदारहरु राजनीति पार्टीको आडभरोसामा ठेक्काको काम लिने गर्दछन् । त्यसको दरिलो उदाहरण हुन् नेपाली कांग्रेसका नेता बहादुरसिंह लामा, कान्छाराम तामाङ, जीपछिरिङ लामा, त्यसैगरी राप्रपाका विक्रम पाण्डे, नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदा अधिकारी, नेकपा एमालेका रत्न गौतमजस्ता व्यक्तिहरु राजनीति दलको आडमा ठेक्का लिने र पार्टी पाल्ने काम गर्दछन् ।
यी त खुलमखुला रुपमा देखिने उदाहरण मात्र हुन् । यस्तो ठेक्काको काम गरेर राजनीति गर्ने ठेकेदार सयौं छन् । यस्ता ठेकेदारहरुले आफूले ठेक्काको काम नपाएमा सचिव, मन्त्री र डिजीसमेत फेरबदल गर्ने गर्दछन् । त्यसको उदाहरण हो हालै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ बनेका छन् । उनी यतिबेला भाग्यमानी मन्त्रीमा गनिन्छन् । किन कि उनी बारम्बार मन्त्री भइरहन्छन् । माओवादी जनयुद्धमा पनि उनी लडाकु भएर कहिल्यै जंगल गएनन् ।
काठमाडौंका व्यापारी र ठूलाघरानाका व्यक्तिलाई रिझाएर सधैं रमाइरहे । माओवादी शान्तिवार्तामा आएपछि उनी त्यसको ठूलो नेता भएर माओवादी बने । र, उनी मन्त्री खान र पार्टीको उच्च पदमा बस्न कहिल्यै पछि पर्दैनन् । त्यसकारण पनि उनलाई नेकपा माओवादीभित्र भाग्यमानी नेता भनिन्छ । अहिले उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसँगै उपप्रधानमन्त्री पनि बनेका छन् । तर, दशदलीय गठबन्धनभित्र भागबन्डा मिलाउँदा उनी अर्कै मन्त्रालय जान्छन् कि त्यसैमा बस्छन् आजको दिनसम्म एकिन छैन ।
तर, उनका भतिजा रामगोपाल श्रेष्ठले सविना कन्ट्रक्सन खोलेर विगत लामो समयदेखि ठूला–ठूला ठेक्कापट्टाको काम लिँदै आएका छन् । त्योसँगै रामगोपलले सशस्त्र प्रहरी बलको ठेक्का र जनपथ प्रहरीको ठेक्काको काम हात पारेर ठूलो आर्थिक चलखेल गर्दै आएका छन् । त्यसकारणले पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालेका नारायणकाजी श्रेष्ठले आफ्नो गृह जिल्ला गोर्खा घर भएका सुशीलबाबु ढकाललाई सडक विभागको महानिर्देशक बनाएका छन् । ढकाल सडक विभागभित्रका कर्मचारीमध्येमा सोझा र इमान्दार भनेर बाहिर हल्ला गरिए तापनि भित्री रुपमा ‘कागभन्दा कोइली बाठो’ भन्ने उखान उनीमा चरितार्थ हुन्छ ।
उनी हेर्दा जति सिधा र भलाद्मी देखिन्छन् भित्री रुपमा भ्रष्टाचार गर्न त्यतिनै माहिर छन् भन्ने हल्ला मन्त्रालयदेखि सडक विभाग र विभिन्न सडक कार्यालयहरुमा सुनिने गरिन्छ । अहिलेसम्म सडक विभागको महानिर्देशक बन्नको लागि तत्कालीन महानिर्देशक बन्नेहरुले विभिन्न शक्तिकेन्द्र धाएर सोर्सफोर्स लगाउने र मन्त्री रचिवलाई तीनदेखि चार करोडसम्म खर्च गर्ने गरेका थिए । तर, यसपालि सडक विभागको महानिर्देशक बन्न सुशीलबाबु ढकालले खर्च गर्नुपरेन भन्ने भनाइ पनि रहेको छ ।
भौतिक मन्त्री नारायणकाजीले एक त गृह जिल्ला एउटै भएको त्यसमा आफ्नो भतिजाको ठेक्काको कम्पनी रहेको कारणल पनि ढकालले खर्च गर्नु नपरेको बताइन्छ । त्यसमा पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय संघदेखि प्रदेश र स्थानीय तहसम्मको ठेक्काको काम रामगोपलको सविना कन्ट्रक्सनलाई दिने सर्तमा ढकाल सडक विभागको महानिर्देशक बन्न सफल भएको समाचार स्रोतको दावी छ ।
त्योसँगै ठेक्काको काम गरेरबापत केही रकम पार्टीलाई पनि सहयोग गर्नुपर्ने सर्त ढकालमाथि भएको बताइन्छ । महानिर्देशक ढकाल, भौतिक पूर्वाधार तथा मन्त्री र ठेकेदार तिनै जना व्यक्ति एउटै जिल्ला गोर्खा भएकाले पनि यो संयोग मिलेको भन्ने भनाइ छ । (तामाकोशीसन्देशबाट)