ananta gurung

दलीय राजको नियत र नियति

विविध समाचार

नेपाल राष्ट्र र नेपाली जनताले ३३ बर्ष पहिले देखि दलीय राज भोग्दै आएका छन । अहिले सम्म दलहरु र दलका नेताहरुको नियत बारे नेपाली जनता धेरै प्रष्ट भईसकेका छन । दलहरु कसरी नेपालको राजनीतिक सत्तामा आए र सत्तामा पुगेपछि के के गरी देखाएका छन भन्ने बारे अब सबै नेपाली जनतालाई सुनाई राख्नु वा सोधी राख्नु पर्दैन । यथार्थलाई बंग्याएर भ्रान्ती फैलाएकै आधारमा दलका नेताहरुले तत्कालिन राजालाई जनदबाब श्रृजना गरी सत्ता त्याग्न बाध्य तुल्याएका थिए ।

तर त्यसरी सत्तामा पुगेका दलहरुले राजतन्त्रको तुलनामा नयाँ नौलौ वा फरक किसिमको राजनीति गरी देखाउन कहिले पनि सफल भएन । नेपाललाई दलहरुले अबिकासको सिकार बनायो भने विदेशीको खुला हस्तक्षेप नेपालको राजनीति र बिकासमा बढाएका बढाएकै छन् । दलहरुले बनाएका नेपालको संविधान २०७२ अनुसार चलेको नेपालको राजनीतिक व्यवस्थाले नेपालको अवस्थालाई बदल्न सकेन । फलस्वरुप नेपाल राष्ट्र खतरनाक आर्थिक संकट र डरलाग्दो अस्थिर राजनीतिको सिकार बन्दै गएको छ ।

दलीय राजनीतिबाट उत्पन्न भएको यस्तो कठिन अवस्थामा सात समुन्द्र पारीको विदेशी राष्ट्रहरुले आफ्नो दलाल बनीसकेका दलका नेताहरुलाई परिचालन गरी नेपालीको परम्परागत कला, सांस्कृतिक, धर्म र इतिहास मेटाउनको लागि घोर प्रयास गर्दै नेपालको दुई ठुला क्षिमेकी मुलुकहरुलाई चिढाएर नेपाल राष्ट्रको रक्षालाई खतरामा पारेका छन । नेपालको परम्परागत असंलग्न परराष्ट्र नीतिलाई बदलेर विदेशीले नेपाललाई आफ्नो वैश्चिक भू–राजनीतिको गोटीको रुपमा प्रयोग गर्दै आएका छन् ।

नेपाली जनताले अब दलहरु र दलका नेताहरुबाट नेपालको रक्षा र नेपाली जनताको भविष्यको सुरक्षा हुनसक्दैन भन्ने कुरा ठानीसकेका छन । त्यसैले विदेशीको भतुवा बनेका दलका नेताहरु प्रति नेपाली जनता आन्दोलन गर्ने मनस्थितिमा पुगीसकेका छन । दलहरु र दलका नेताहरुको मनोमानी राष्ट्रलाई लुटेर कंगाल बनाउने शासन व्यवस्था फाल्नको निमिक्त सशक्त नेतृत्त्व गर्न सक्ने राजनीतिक दल वा व्यक्तिको खोजीमा वा पर्खाईमा बसेका छन । राजतन्त्र र राजाको सक्रिय नेतृत्वमा चलेको पञ्चायत व्यवस्थालाई नेपाली जनताले अहिले चलेको दलीय लुटतान्त्रिक व्यवस्था भन्दा धेरै गुणाले अव्वल थियो भन्ने कुराको अनुभूति गरीसकेका छन ।

अहिले नेपाली जनताले दलीय भागबण्डा र दलका नेताहरुले राष्ट्रको आर्थिक स्रोतहरु माथि मच्चाएको खुला लुटतन्त्रबाट कसरी छुटकारा पाउने हो भनी प्रयास थालेका छन । यस्तो राष्ट्रको अस्तित्व जोगाएर नेपालमा सामाजिक सद्भाव कायम गरी र पुनरशान्ति स्थापना गर्न सक्ने अभियानको नेतृत्व गर्न सक्ने दल वा नेताको प्रतिक्षामा नेपाली जनता छन । दलका नेताहरु भ्रान्ती फैलाउन अति नै सिपालु छन् । भ्रान्ती फैलाएकै भरमा २४३ बर्ष पुरानो राजतन्त्रलाई बदनाम तुल्याउन सफल भए । त्यसैगरी वैद्यिक काल देखि नेपालमा चलेको सनातनी हिन्दूधर्मलाई धर्मनिरपेक्षताले बिस्थापित गर्न कती पनि हिचकिचाहट दलका नेताहरुलाई भएन ।

नेपालको मौलिक कला र परम्परागत साँस्कृतिहरुलाई मेटाउन दलका नेताहरु लागी परेकाछन । चमत्कारिक बिकास गरी नयाँ नेपाल बनाउँछौं भनी नेपाली जनताका सामु संकल्प गरेका दलका नेताहरु असलमा अहिले विदेशीका दलहरु ठहरिएका छन । कुराले एउटा र व्यवहारले अर्कै देखाउने दलका नेताहरु सत्तामा टाँसिएर बसे सम्म अब नेपाली जनताले कहिले सुख पाउने छैन ।

माओवादीको नेतृत्वमा २०५२ साल देखि २०६२ को अवधिमा भएको तथाकथित जनयुद्ध पश्चात नेपाली जनताले नेपालमा शान्ति कायम भएर नेपाली जनताले नसोचेको राष्ट्रको बिकास हुने सोचेका थिए । दलहरुले यस्तै सपना लामो समय देखि नेपाली जनताको जनमानसमा लगातार भर्ने गरेकाले पनि नेपाली जनताको सोचमा त्यस्तो परिवर्तन आएको थियो । तर खै के गर्नु म ताक्छु मुडो बञ्चरो ताक्छ घुँडो भने झै नेपालका राजनीतिक दलहरुले उँदो गति र उँदै मतिको मार्गमा लागेर नेपाल राष्ट्र र नेपाली जनतालाई धोबीको कुकुर झै नघरको नघाटको तुल्यायो । दलहरुले लागु गरेको वैदेशिक रोजगारी नीतिले नेपाल राष्ट्रलाई पूर्णरुपले परनिर्भर मुलुक बनाउनको साथै नेपालको कृषी व्यवसाय र औद्योगिक बिकासको जगलाई ध्वस्त नै तुल्याए ।

गत चुनावमा नेपालको अवस्था परिवर्तन गर्ने संकल्प लिएका दलका नेताहरुले नेपाल राष्ट्रको अवस्था झन खराब पार्दै लगेका छन् । नेपाललाई आर्थिक संकटबाट बचाउने उपायहरुको कुनै ठोश कार्य योजनाहरु अहिले सम्म प्रचण्ड सरकरले ल्याउन सकेको छैन । पहिले देखि नै दलहरुले उपेक्षा गर्दै आएको नेपालको औद्योगिक बिकासको हालत पनि झन बिग्रेको छ । ऋणको व्याज दर एकतर्फी रुपमा बढाएको हुँदा बैंकरहरु र उद्योगीहरुका बिच संघर्ष बढेर गएको छ ।

नेपालमा उत्पादन बढाएर निर्यात गरी राष्ट्रको व्यापार घाटा कम पार्ने नेपाली जनताको चाहानालाई पुरा गर्नको निमित्त नेपाल सरकारबाट कुनै प्रयास भएको देखिन्न । उल्टै ऋण गरी गरी घीउ पिउने मार्गमा प्रचण्ड सरकार अगाडि बढेको छ । बिलासिताको सामानहरु आयात गर्ने देखि लिएर जग्गा किन्ने, घर बनाउने र गाडी किन्ने जस्ता अनुत्पादक क्षेत्रमा नै बैंकहरुले लगानी बढाउने अग्रसरता देखाएका छन् भने उद्योगीहरु र व्यापारीहरु पनि त्यसैमा लगानी गर्ने उद्देश्यले ध्यान केन्द्रित गरेका छन् । राष्ट्रको शासकिय स्वरुपमा परिवर्तन गरी राष्ट्रको खर्च घटाउने तिर प्रचण्ड सरकारले कुनै कदम अहिले सम्म चालेको छैन ।

त्यसैगरी संबिधान नै संसोधन गरी साँसदहरुको संख्या कटौती गर्ने तिर पनि प्रचण्ड सरकारले आनाकनी गर्दै बसी दिनकटानी मानापचानी गर्न थालेको महशुस नेपाली जनतालाई हुँदैछ । चुनावै चुनाव एक पछि अर्को चुनाव गराएर नै राष्ट्रको जल्दो बल्दो समस्याहरुको समाधान निकल्न तिरबाट नेपाली जनताको ध्यान अन्तै तिर मोड्ने प्रयास नेपाल सरकारबाट भएको हो कि भन्ने लाग्न थालेको छ । नेपाल राष्ट्र र नेपाली जनताको भविष्य भनेको नेपाली युवापिढी नै हुन । तिनै युवापिढी नेपालमा अत्याधिक मात्रामा पीडित भएका छन । नेपालमा काम गरी खाने मन हुँदाहुँदै पनि नेपालका युवापिढी घरपरिवार त्यागेर विदेश जान बाध्य भएका छन ।

पढेलेखेका देखि लिए नपढेकाहरु पनि आ–आफ्नो क्षमता अनुसारको रोजगारी खोज्दै विदेशीको गुलामी गर्न मुग्लान पसेका छन । यसै सिलसिलामा कतीले विदेशको भूमिमा खतरापूर्ण काममा लाग्दा ज्यान गुमाएका छन भने केहीले दलाल व्यवसायीहरुको दुव्र्यवहारमा परी ठगिनु परेका छन् । जनयुद्धकालमा जन्मिएकाहरु अहिले वयस्क अवस्थामा पुगेको हुँदा उहाँहरुले आफुलाई दलहरुले ठगेको महशुस गर्न थालेका छन । नेपाल राष्ट्रको भविष्य मानिने युवाहरुको भविष्य नेपलमा खै भन्ने प्रश्नले युवापिढीको मन बिचलित भएका छन ।

नेपालको फूर्सिदला प्रधानमंत्री प्रचण्ड हालै किर्तीपुरको क्रिकेट मैदानमा क्रिकेट खेल हेर्न पुगेका बेला उनै युवाहरुले उहाँ बिरुद्ध चर्को नारा घन्काएका थिए । दलका नेताहरुको राजनीतिमा लाग्नुको नियत के थियो भन्ने कुरा उहाँहरुले अहिले देखाउँदै आउनु भएको व्यवहारबाट नै प्रष्ट भईसकेको छ । दलका नेताहरु नेपाल राष्ट्रको अस्तित्व नै मेटाउने खेलमा विदेशी शक्ति सित मिलीभगत गरी लागेको हुँदा नेपाली जनता दलका नेताहरुलाई त्यस्तो कूकर्म गर्नबाट रोक्नको निमिक्त जाग्नु पर्ने भएको छ । विदेशीले बोकेको उचालेको दलका नेताहरुले फैलाएको भ्रान्तीको पछाडि लाग्दा नेपाली जनताले ठुलो धोका पाएका छन् ।

नेपाल राष्ट्रको अस्तित्वलाई नै मेटाउने नियतका साथ अगाडि बिढेका दलहरुले सुरुमा नै नेपालको ईतिहासलाई नै मेटाउने गरी २४३ बर्ष लामो ईतिहास भएको नेपालको राजतन्त्रलाई सत्ताबाट हटाउन जनआन्दोलनको जाल बुनेका थिए भने नेपाली जनतालाई एक आपसमा जोडेर राख्ने सनातनी हिन्दूधर्मलाई धर्मनिरपेक्षताले विस्थापित गरेका थिए । विदेशीको उक्साहटमा लागेका दलहरुले यस्तो वेतुकको निर्णय गर्दा नेपाली जनतालाई सोध्नु पर्छ भन्ने कुराको समेत ख्याल राखेनन् ।

विदेशीको गोटी बनेक नेताहरुको नियती पनि तिनै विदेशीहरुबाटै निर्धारण हुन्छ । सद्दाम हुसेन देखि लिएर बिन लादेन सम्मको नियतीको निर्धारण तिनै विदेशी प्रभूहरुवाटै हुँदै आएका छन् । नेपालमा पनि दलहरुको नियती बारेको निर्णय अब अमेरिका लगायत पश्चिमी मुलुकहरुले गर्नेछन । देशभक्तहरु कहिले त्यसरी मारिनु पर्दैन तर राष्ट्रघाती गद्दारहरु बारबार मारिनेछन र नेपालको इतिहासको कुनै पन्नामा खलनायक राष्ट्रघाती गद्दार भनी नाम दर्ज हुनेछन् । दलहरुको खोटो नियतको नियति यसरी नै समाप्त हुने पक्का छ ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *