विदेशिने युवायुवतीहरुको आफ्नै कथा, आफ्नै बेथा

राजनीति समाचार

काठमाडौं । नेपालमा प्रजातन्त्र पुनस्र्थापनाहुँदै गणतन्त्र आएको पनि १६ वर्ष भइसकेको छ । यो अवधिमा आइपुग्दासम्म राजनीतिक दलका नेता र मन्त्रीहरुले भने देश र जनताप्रति माखोसमेत मार्न सकेका छैनन् । उल्टै पञ्चायती व्यवस्थामा स्थापना भएका उद्योग धन्दाहरुसमेत बेचविखन गरेर देश नै टाट पल्छाइसकेका छन् । नेपालमा पहिला स्थापित भएका उद्योग, गैरसरकारी संस्था र

कलकारखानाहरु ठप्प भएपछि आमनेपाली युवायुवतीहरु आफ्ना परिवारको लालपान र बालबच्चाको शिक्षाका लागि विदेशिन वाध्य छन् । त्यसरी विदेशिने कतिपय युवायुवतीहरु विदेश जानको लागि विचौलियाको सरणमा पुग्ने गरेका छन् । विचौलिया पनि के कम ‘ढुङ्गा खोज्दा देउता मिलेझैं’ युवायुवतीहरु आफ्नो सरणमा आएपछि मौकाको फाइदा उठाउन पछि पर्दैनन् । त्यसैकारण कतिपय विचौलियाहरुले आमनेपालीहरुलाई खाडी मुलुकमा अवैध रुपमा मोटो रकम असुलेर पठाउने गरेका छन् । यसरी विचौजिलयाले पठाउने देशहरुमा कतार, दुबई, मलेसिया, साउदी, बहराइन, कुवेत, इजराइल, अफगानिस्थान, माल्दिप्स जस्ता पर्दछन् ।

यी देशहरुमा रोजगारीको लागि जाने युवायुवतीहरुलाई खाने, बस्ने, बिरामी पर्दा औषधि उपचार र भैपरी आउँदा सेवा, सुविधासमेत दिने भनेर लोभ्याउँदै पठाउने गरेका छन् । ती विचौलियको भरमा नेपाली युवायुवतीहर विदेश गएपछि त्यहाँ विचौलियाहरुले भनेअनुसारको सेवा, सुविधा र काम पाउने गरेका छैनन् । त्योसँगै ती नेपाली कामदारहरु बिरामी पर्दा समेत औषधि उपचार नपाएर कतिपयले अकालमै ज्यान गुमाउन वाध्य हुने गरेका छन् । कतिपय युवायुवतीहरु जानीनजानी काम गर्ने सिलसिलामा अंगभंग भएर भौतारिने गरेका छन् । कतिपयले भने विदेशी कानुन र नीतिनियम अनुसार चल्न नसक्दा विभिन्न प्रलोभनमा फसेर जेल पर्ने गरेका छन् ।

त्यस्तै कतिपय महिलाहरु घरेलु कामको लागि भनेर विदेशिने गरे तापनि उनीहरु परिबन्दमा परेर यौन हिंसामा समेत फस्ने गरेका छन् । त्यसैकारण कतिपय महिलाहरुले विदेशमा बसेर अवैध गर्वधारण गरी जन्माएका बालबच्चाहरु समेत अलपत्र पर्ने गरेका छन् । त्यसरी अवैध रुपमा गर्वधारण गरी बच्चासमेत जन्माउन वाध्य महिला तथा बच्चाहरुलाई स्वदेश फर्किनलाई समेत अप्ठ्यारो गर्ने गरेको छ । त्योसँगै कतिपय युवाहरु विदेशी जेलको चिसो छिँडीमा बसेर कष्टकरण जीवन बिताइरहेका छन् ।

किन कि नेपालबाट विदेश जाँदा आफ्नो भएको जायजेथा बेचबिखन अथवा धितो राखी जाने गर्दछन् । तर, त्यहाँ पुगेपछि विचौलियाले भनेअनुसारको काम, सेवा, सुविधा र बास नपाएपछि उनीहरु कामको खोजीमा भौतारिने गर्दछन् । त्योसँगै उनीहरुले काम नपाएपछि विभिन्न व्यक्तिहरुसँग संगत गरिरहँदा त्यहाँ गलत काम गर्ने व्यक्तिहरुको फन्दामा पर्ने गर्दछन् । त्यस्ता गलत काम गर्ने व्यक्तिहरुको संगतले उनीहरु पनि फस्ने गरेका छन् त्यसैकारण जेल पर्ने र अनेक खालका झन्झटहरु खेप्न वाध्य हुन्छन् ।

यसरी एकातिर विदेश जानेबेलामा राखेको धितो पनि उठिवास हुन्छ । अर्कोतिर काम नपाएपछि नेपाल फर्कने खर्च पनि हुँदैन । त्यसकारणले पनि अधिकांश नेपाली युवायुवतीहरु खाडी मुलुकमा मात्रै नभएर विचौलियाहरुले अन्य मुलुकसमेत पठाएर अलपत्र पार्ने गरेका छन् । यसरी विचौलियाहरुले गैरकानुनी ढंगले नेपाली युवायुवतीलाई विदेश पठाएर अलपत्र पार्दा पनि नेपाल सरकार, वैदेशि रोजगार मन्त्रालयदेखि सम्बन्धित निकाय भने आँखा चिम्लेर बसेको अवस्था छ । यस्तो खालको अवैध धन्दा र विचौलियाको चलखेल भने रोकिने अवस्था छैन । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *