किन गरिन्छ, नेपालको संविधानमाथि संका ?

राजनीति समाचार

नेपालको संविधान २०७२ जारी भएपछि विश्वका विभिन्न देशले उष्कृष्ट संविधान भनेर वधाइ दिएका थिए । तर, भारतले भने नेपालले जारी गरेको संविधानप्रति विरोध जनाएको थियो । त्योसँगै संविधान सभाका सदस्य रहेका डा. बाबुराम भट्टराईले सदस्य पदबाट राजीनामा दिएर बाहिरिएका थिए । यसरी कतै विरोध र कतै स्वागतकाबीच जारी भएको संविधान अहिलेसम्म चलिरहेको छ । तर अहिले २०७२ सालमा संविधानसभाले जारी गरेको नेपालको संविधानमाथि भारतले मास्ने खेल त खेलेको छैन ? भन्ने आमसर्वसाधारदेखि बुद्धिजीवीहरुलेसमेत लख काट्न थालेका छन् ।

माथि भनिएजस्तै अवस्था अहिले नेपाली राजनीतिक दलका नेताहरुको अभिव्यक्तिमा देखिन थालेको छ । त्योसँगै अहिले सरकार बनाउने खेल र भत्काउने खेल पनि त्यही संविधानमा टेकेर हुने गरेको छ । अहिले राजनीतिक दलका नेताहरु भन्ने गरेका छन्, ‘यो संविधान मास्ने खेल हुँदै छ ।’ त्यसकारणले पनि यो संविधान जोगाउनलाई दलहरुबीच राष्ट्रिय सहमति गरेर अगाडि बढ्नुपर्ने भन्दै आएका छन् । त्यस्तै भरखरै सम्पन्न राष्ट्रपतिको निर्वाचनलाई लिएर पहिला बनेको सात दलीय गठबन्धन भत्काएर अर्को आठदलीय गठबन्धन गरियो ।

यसरी गरिएको आठदलीय गठबन्धनका प्रधानमन्त्री प्रचण्डले पनि आजको अवस्थामा आइपुग्दा संविधान जोगाउनको लागि पनि सबै दलहरु एक ठाउँमा आएर राष्ट्रिय एकता गर्नुपर्ने आवश्यकता छ भनी विभिन्न कार्यक्रममा भाषण गर्दै आएका छन् । त्यसोभए के अहिले नेपालको संविधानमाथि त्यति ठूलो खतरा छ त ?

होइन भने प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले ठाउँ–ठाउँमा संविधान जोगाउनको लागि पनि नयाँ गठबन्धन गरेको भन्दै भाषण गर्नुपर्छ ? त्यसको अर्थ नेपालको संविधानप्रति राजनीतिक दलहरु पनि सहमत छैनन् भन्ने कुरा देखिन्छ । संविधानमा कतिपय विषयहरु बाझिएका होलान् । तर, त्यसरी बाझिएका विषयमा राजनीतिक दलहरुले एकआपसमा छलफल गरेर परिमार्जन गर्नुपर्नेमा राजनीतिक दलका शीर्ष नेताहरु नै व्यक्तिपिच्छे फरकफरक धारणा राख्दै हिँडेका छन् ।

त्यो कति जाहेज हुन्छ कति नाजाहेज हुन्छ राजनीतिक दलका शीर्ष नेताहरुले बुझ्नुपर्ने विषय हो । देशको संविधान जस्तो गम्भीर विषयमा राजनीतिक दलका शीर्ष नेताहरुले हल्का रुपमा लिएर भाषण गर्नु र भारतले संविधान जारी हुँदै विरोध गर्नु ‘स्याल कुराउनु, कुखुरा हराउनु’ भनेजस्तै भएको छ । राजनीतिक दलका नेताहरु जिम्मेवार पदमा पुगेपछि देश र जनताको पक्षमा विकास निर्माणदेखि दैनिक जीवनसँग जोडिएका जल्दाबल्दा विषयमा काम गर्नुपर्नेमा खाली जुन दालका नेता प्रधानमन्त्री, मन्त्री बनेपनि संविधानको कुरा उठाएर जनता झुक्याउने र विकास अलमल्याउने काम गर्दै आएका छन् । यसले जनतामाथि भ्रम सिर्जना गरी झुक्याउने काम गरेको देखिन्छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *