न्यायालय र अख्तियारबिच वाकयुद्ध सुरु

राजनीति समाचार

काठमाडौं । कुनै समय थियो अख्तियार दुरुपयोग अनुसन्धान आयोग,विशेष,सर्वाेच्च अदालत भनेपछि सबै त्राहिमाम ! अहिले त स्थिती यस्तो बन्यो कि करोडौं भ्रष्टाचार मुद्धामा डामिएका अर्वपतिहरु सफाई पाउँछन् अनि केही हजार घुस खाने निरिह कर्मचारी कारागार जान्छन्।

यस्तो स्थितीले न त रह्यो अदालतको गरिमा रह्यो न त सम्मानै ! जस्तो अधिकृत विन्दु श्रेष्ठ ३० हजार घुस खाँदा हालै कारागार चलान भएकी छिन् तर अर्बाै अर्ब तर मार्ने व्यापारी,कर्मचारी,ठेकेदार र नेताहरुलाई उन्मु्क्ति दिएर सुनपानी छम्कने सिलसिला जारी नै छ । पछिल्लो समय अख्तियार र अदलातबीचको टसल सतहमै देखिन थालेको छ ।

अख्तियार अकुत आर्जन मुद्धाको छानबिनमा करिब करिब असफल सावित भएको छ । त्यसपछि उस्ले चलाउँदै आएको कर्मचारीको स्ट्रिङ अप्रेसन (रंगे हात) मा समेत अदालतले भाँजो हालिदिएपछि अहिले अख्तियारको हालत दह्रा र नङ्ग्रा विनाको घाइते बाघमा सीमित हुन पुगेको छ । अर्काेतिर अख्तियार प्रतिवादी बनाएर मुद्धा हालिरहने र विशेष अदलातले एक पछि अर्काे मुद्धामा सफाइ दिइरहने सिलसिला यसरी जाँदै छ कि यही कारण अहिले टंगाल र ववरमहलका दुई अड्डाबीच जुहारी चल्दैछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर मुद्दाको फैसलालाई लिएर असन्तुष्टि व्यक्त गर्दै झण्डै एक सय ५० भन्दा बढी मुद्धामा उ सर्वाेच्च अदालत पुगेको छ । अख्तियारले पर्याप्त प्रमाण र आधार पेस गर्न नसकेको भन्दै विशेष अदालतले अभियुक्तलाई सफाइ दिएपछि अख्तियार र अदालतबीच टसल देखिएको हो ।

एकातिर टंगाल दरबारमाथि लाग्दै आएको आरोप हो,हजार÷लाख खाने सानालाई तर्साउने तर ठूला माछालाई छुन नसकेको । जस्तो ः यती होल्डिङ, ओम्नी, ललिता निवास,गोकुल बास्कोटा टेप प्रकरण प्रकरणलगायतमा अख्तियारले छानबिनमा इच्छा नदेखाएको आरोप छ । यस्ता ठूला भ्रष्टाचारको मुद्धा भने तामेलीमा राखेर मोलमोलाई भइरहेको कतिपय कानुनी क्षेत्रका जानिफकारहरु सुनाउँछन् ।

एकातिर अख्तियारले दायर गर्ने मुद्धाको ओरालो लाग्दैछ,अर्काेतिर अख्तियारले दायर गरेका मुद्धामा सफलता पाउने प्रक्रिया पनि ओरालो लागेको हो । पछिल्लो पाँच बर्षमा अख्तियारले विशेष अदालतमा १२ सय ३० मुद्दा दायर गरेको छ । जसमध्ये विशेष अदालतले ८३६ मुद्दाको फैसला गरेको छ । यीमध्ये ६०३ वटा मुद्दाको फैसला अख्तियारको मुद्दा स्थापित हुने किसिमका छन् ।

अख्तियारले अदालतमा दर्ता गराएका २३३ वटा मुद्दाहरु भने उल्टिएका छन् । पछिल्ला १० वर्षमा हरेक वर्ष विषेश अदालतले फैसला गरेका अख्तियारका मुद्दाहरुमध्ये सबैभन्दा कम मुद्दामा कसुर स्थापित गत आवमा भएको थियो । आर्थिक वर्ष २०७८÷०७९ मा विशेष अदालतले अख्तियारका १४८ मुद्दाहरुमा फैसला गरेको थियो ।

फैसला भएका मुद्दाहरुमध्येबाट अख्तियारको पक्षमा ३८.५१ प्रतिशत मुद्दाहरु मात्रै परेका थिए । भ्रष्टाचारजन्य आरोपमा अख्तियारले अदालतमा दायर गरेका १४८ मुद्दाहरुमध्ये ५७ वटा मुद्दाहरुमा मात्रै आरोप स्थापित भएको हो । बाँकी मुद्दाहरुमा भने अख्तियारको आरोप सिद्ध हुन सकेन । आव २०७८÷०७९ मा अख्तियारले १३१ मुद्दाहरु अदालतमा दर्ता गराएको थियो । उक्त आर्थिक वर्षमा अख्तियारले जितेका मुद्दाहरुको संख्या १० वर्षकै सबैभन्दा कम रहेको छ । पाँच वर्षमा १२३० मुद्दा दर्ता हुँदा ८३६ मा फैसला हुँदा ६०३ अख्तियारको पक्षमा परेको देखिन्छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *