अधिकांश उद्योगी व्यवसायीको हितमा काम गर्न प्रतिबद्ध छु

राजनीति समाचार

रामचन्द्र संघई,उमेदवार,वरिष्ठ उपाध्यक्ष
निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका उद्योगी व्यवसायीहरु यतिखेर चुनावी महाभिडन्तमा छन् । आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष सहितका विभिन्न पदका निम्ती विभिन्न प्यानल बनाएर चुनावी मैदानमा छन् । औपचारिक रुपमै उम्मेद्वारी घोषणा गर्ने देखि जिल्ला दौडाहा र प्रतिनिधीहरुसम्म भोट माग्नेसम्मका गतिविधी चलिरहेको छ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएकाले वरिष्ठ उपाध्यक्षका आकांक्षीहरुको संख्या पनि धेरै देखिन्छ । रामचन्द्र संघई ‘त्रिवेणी ग्रुप’का सञ्चालक हुन् । नेपालमा झण्डै ४० वटा उद्योग सञ्चालन गरिरहेको त्रिवेणी ग्रुपले कम्तीमा पनि १८ हजार जनालाई रोजगारीसमेत दिँदै आएको छ । गएको करिब दुई दशकयतादेखि नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका रूपमा रहेका संघई वर्तमान उपाध्यक्ष हुन् । उनी महासंघको अघिल्लो अधिवेशनमा निर्वाचित भएका थिए । हाल महासंघको वरिष्ठ उपाध्यक्षमा उमेदवारी दिएका छन् । संघईसँग तामाकोशी सन्देश साप्ताहिकको प्रतिनिधिले गरेको कुराकानीको अंशः

० नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा हुनुहुन्छ, उम्मेदवारीका लागि तपाइँको एजेन्डा के छन् ?
नेपाल उद्योग वाणिज्यमहासंघको विरासतलाई अझ उँचो राख्न तथा मुलुकभर उद्यम व्यवसायको विस्तार र संरक्षणमा योगदान गर्न थप सक्षम बनाउन संगठनात्मक सुधारको प्रयासलाई तीव्रता दिइने छ । जसको लागि केन्द्रीय कार्यालय व्यवस्थापनमा भइरहेका सुधारका प्रयासलाइ निरन्तरता दिने । नेपाल उद्योग वाणिज्य महासंघलाई थप प्रविधिमैत्री बनाउने ।उद्योगी व्यवसायीको कामलाई सघाउन ‘सहयोगी समूह’ को भूमिकालाई प्रभावकारी बनाउने । उद्योगी व्यवसायीको गुनासो र समस्या बुझ्न तथा समाधानको पहलका लागि स्थापना भएको हेल्प डेस्क र हट लाइनलाइ थप व्यवस्थित बनाउने । प्रदेश च्याप्टरहरूको भूमिका थप बढाउने । प्रदेश सचिवालयहरूलाई सुदृढ र सक्षम बनाउने । केन्द्र, प्रदेश, जिल्ला तथा नगरबीच समन्वय र तालमेल मिलाउने ।

उद्योग वाणिज्य संघ र वस्तुगत संघहरूको संस्थागत क्षमता विकास गर्ने । उद्योग वाणिज्य संघ र वस्तुगत संघमार्फत विभिन्न तालिम र परियोजनाहरू सञ्चालन गर्ने । महासंघका देशैभरका सबै एकाइहरू आफ्नै भवनमा सञ्चालन गर्ने वातावरण तयार गर्ने । लगानीमैत्री वातावरण निर्माणका लागि राजनीतिक स्थिरता अपरिहार्य छ । विद्यमान नीतिहरू सहज कार्यान्वयनको व्यवहार तथा उद्योग व्यवसायमैत्री नीति निर्माण नहुने हो भने उद्योग व्यावसाय क्षेत्र फष्टाउने अवस्था रहँदैन । त्यसैले अस्पष्ट नीतिहरूलाई स्पष्ट पार्ने, कार्यान्यनमा देखिएका झन्झट हटाउने एवं नयाँ नीति तय गर्दा उद्योग व्यवसायमैत्री कसरी बनाउने भन्नेतर्फ उद्योग वाणिज्य महासंघको ध्यान पुग्नु जरुरी छ ।

यसतर्फ म सधैँ सक्रिय रहने प्रण गर्दछु । स्वदेशी लगानीकर्तालाई प्रोत्साहन गर्ने तथा विदेशी लगानी आकर्षित गर्ने वातावरण तयार गर्नु आजको प्रमुख चुनौती हो । उद्योगलाई नियमन गर्ने दर्जन बढी कानून छन्। तर सहजीकरण गर्ने उद्योगमैत्री कानूनको अभाव छ । संघीय, प्रदेश र स्थानीय सरकारले आ–आफ्नै ढंगले काम गरिरहेका छन् । नीतिगत र कार्यगत समन्वय छैन । यसको प्रभाव उद्यम व्यवसायमा परिरहेको छ । तसर्थ सबै तहका सरकारका नीतिमा तादाम्यता हुन जरुरी छ । कानून तथा नीति कार्यान्वयन तथा सुधार एवं परिवर्तनका लागि निम्न कार्यहरू गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

पूर्वाधार निर्माणअन्तर्गत भएका खर्चहरूको कार्यको भौतिक प्रगति देखाएलगत्तै तत्काल भुक्तानीको व्यवस्थाका लागि पहल थाल्ने । अर्थतन्त्रलाई चलायमान बनाउन नियन्त्रित वस्तुहरूको आयात खुकुलो बनाउन सरकारसँग आग्रह गर्ने । सरकारले निर्यातजन्य उद्योगका लागि आठ प्रतिशत नगद अनुदानको नीति लिएको छ, जुन सकारात्मक छ । तर यसको कार्यान्वयन छिटो र प्रभावकारी हुनु जरुरी छ । आठ प्रतिशत नगद अनुदान प्राप्त रकम वस्तु निर्यात गरेको वर्ष दिनपछि मात्र पाइन्छ । यो झन्झटिलो छ ।

यो नीति पुनरावलोकन गरेर महिना दिनभित्रै छुट प्राप्त रकम फिर्ता पाउने व्यवस्थाका लागि पहल गर्ने । सीमा क्षेत्रका उद्योगी व्यवसायीले भोग्नुपरिरहेका समस्याको समाधानका लागि पहल थाल्ने । स्टार्टअप नीतिलाई थप प्रभावकारी बनाउन आग्रह गर्ने । साना तथा मझौला उद्योग व्यवसायलाई प्रोत्साहन र प्रवद्र्धन गर्न छुट्टै नीति तय गर्न पहल पर्ने । विदेशमा काम गरेर कमाएको रकम उत्पादनमूलक उद्योगमा लगानी गरी प्रतिफल प्राप्त गर्ने वातावरण तयार गर्ने । आर्थिक विकास र मुलुकको समग्र अर्थतन्त्र सुधारका लगि नेपाल उद्योग वाणिज्य महासंघको भूमिका महत्वपूर्ण रहने मैले महसुस गरेको छु । यसका लागि म निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

० निर्वाचनको प्रतिस्पर्धामा उत्रिएपछि जित्ने आधार पनि होलान् । निर्वाचन आफ्नो पक्षमा आउँछ भन्ने आधार के के छन् ?
समग्रमा अर्थिक समृद्धिको आधार राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण र पूर्वाधार भन्ने मूल नाराका साथसरकार र निजी क्षेत्रको सहकार्य तथा तत्कालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यहरू निर्धारण गरी अघि बढ्नु नै आजको प्रमुख आवश्यकता हो । अहिले त्रिवेणी ग्रुपअन्तर्गत उत्पादनमूलक, सेवामूलक र कृषिजन्य दर्जनौँ उद्योगहरू सञ्चालन गरिरहेको छु । करिब १८ हजार श्रमिक परिवार यी सबै उद्योगमा आबद्ध छन् । मुलुकको कुल जीडीपीको अढाईदेखि तीन प्रतिशतको प्रत्यक्ष अप्रत्यक्ष योगदान त्रिवेणी ग्रुपको रहेको कुरा यहाँहरूलाई अवगत गराउन चाहन्छु ।

साना तथा मझौला उद्यम व्यवसायमा पनि म संलग्न छु । साना तथा मझौला उद्यमी व्यवसायी साथीहरूले भोग्नुपरिरहेका समस्याबारे म पूर्ण जानकार छु । म विगत २० वर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघमा निरन्तर क्रियाशील छु । रविभक्त श्रेष्ठज्यूको पालादेखि म महासंघमा काम गरिरहेको छु । साथीहरूले नै निर्वाचित गरेर पठाएको एशोसियटतर्फको उपाध्यक्षका रूपमा तथा रोजगारदाता परिषद्को सभापतिका रूपमा मैले शेखर गोल्छा नेतृत्वको कार्यसमितिमा अहिले काम गरिरहेको छु । त्यसैलेउद्योगी व्यवसायीका समस्या के छन्, त्यसको समाधान कसरी गर्ने भन्ने बिषयमा म पूर्ण जानकार छु । त्यसैले व्यवसायीको हकहितका पक्षमा निरन्तर लागि पर्ने अठोटसहित महासंघको वरिष्ठ उपाध्यक्षमा मैले उम्मेदवारी घोषणा गरेको छु ।

० तपाइँको प्यानल सबलको र कमजोर पक्ष चाहिँ के हो ?
म मेरो प्यानलमा कमजोरी त त्यस्तो केही देख्दिँन । हाम्रो प्यानलमा २० वर्षदेखि अनुभव सँगाल्नु भएका व्यक्तिहरु हुनुहुन्छ । उहाँहरुसँग नयाँ भिजन छ, स्पष्ट वक्ता पनि हुनुहुन्छ । आफ्नो भिजनबारे सरकार र अन्य निकायसम्म पुर्याउनसक्ने र बुझाउनसक्ने क्षमता भएका व्यक्तिहरु हुनुहुन्छ । हाम्रा प्यानलमा रहेको सफल युवा व्यवसायी पनि हुनुहुन्छ । हाम्रो नेतृत्वमा सबैजना आफै सक्षम पनि हुनुहुन्छ । सबैजनाले आफ्नो संगठनलाई सकारात्मक नेतृत्व गरिरहनु भएका छ । प्रतिनिधित्वको हिसाबले हेर्ने हो भने पनि एउटा नमूना टीम बनेको छ । समग्रमा हेर्ने हो भने हाम्रो टिम सशक्त छ । हाम्रो टिमको सबैजनाले जित्छौ भन्नेमा विश्वस्त छौँ । महासंघ एसोसियट उपाध्यक्षको उम्मेदवारमा ज्योत्सना श्रेष्ठ त्यस्तै जिल्ला नगरतर्फ सुरकृष्ण बैद्यलाई उपाध्यक्षको उम्मेद्वार बनाएका छौं। त्यसैगरी बस्तुगत तर्फबाट सकुन्तलाल हिराचन उम्मेदवार बनेका छन् ।

० महासंघमा विगतदेखि नै व्यापक राजनीति हाबी भएको देखिन्छ, त्यसलाई चिरेर महासंघलाई व्यवसायिक संस्था बनाउन तपाईँको भूमिका के रहन्छ ?
नेपाल उद्योग वाणिज्य महासंघ एक विशुद्ध व्यवसायिक संस्था हो । यो संस्थामा कुनै पनि अव्यवसायिक काम हुनु हुँदन । विगतमामा भएका वा अहिले रहेका त्यस्ता गतिविधिलाई भोलि हाम्रो नेतृत्वले चिर्नेछ र महासंघलाई हामी सबैले चाहेको जीतो विशुद्ध व्यवसायिक संस्थाको रुपमा काम गर्ने वातावरण निर्माण गर्नेछ । संस्थामा व्यक्तिवाद हाबी हुनुहुन्न । यो सामूहिक निर्णय र समग्र उद्योग वाणिज्य क्षेत्रको हितमा चल्नुपर्छ । व्यक्तिवादी प्रवृत्तिले भोलिका दिनमा न व्यक्तिलाई हित गर्छ न संस्थालाई । हामी संस्थागत हितमा काम गर्छौ । विगतमा केही गलत अभ्यास पनि भए । त्यसलाई हामी नयाँ नेतृत्वले चिर्छौ । सबै नेपाली व्यावसायीको शिर उच्च हुने काम गर्छौ ।
० हाम्रो रेमिट्यान्सले धानेको अर्थतन्त्र छ । रेमिट्यान्स कम हुँदा अर्थतन्त्रमा समस्या देखिन्छ । केही समयअघि पनि यो देखियो ।

यस्तो अवस्थामा अर्थतन्त्र राम्रो बनाउनका लागि के गर्नुपर्छ भन्ने लाग्छ ?
हाम्रोमा नीति अस्थिर हुने अवस्था छ । पहिलो कुरा त हामीकहाँ नीति आउन नै ढिला हुन्छ । आएपछि पनि कार्यान्वयनको काममा अझ ढिलाइ हुने अवस्था पनि छ । खासमा हामीलाई यसले पनि फरक पार्छ । अर्थतन्त्रको स्वास्थ्य दीर्घकालीन सुधारका लागि निर्यातजन्य उद्योगमा केन्द्रित हुनुको विकल्प छैन । रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन, व्यापारघाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प छैन । सरकारले यसका लागि नीतिगत सहजता बनाएर लगानी गर्ने वातावरण बनाउनुपर्छ ।

निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्ने नीति लिनुपर्छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले निर्यातजन्य उद्योगका लागि आठ प्रतिशतको छुटको नीति लिएको छ, जुन सकारात्मक छ । तर यसको कार्यान्वयन छिटो र प्रभावकारी हुनु जरुरी छ । आठ प्रतिशत छुट प्राप्त रकम वस्तु निर्यात गरेको वर्ष दिनपछि मात्र पाइन्छ । यो झन्झटिलो छ । यो नीति पुनरावलोकन गरेर महिना दिनभित्रै छुट प्राप्त रकम फिर्ता पाउने व्यवस्था हुनुपर्छ । नीति ल्याउँदा नै कार्यान्वयनको पक्षमा पनि विशेष जोड दिनुपर्छ । दक्ष जनशक्ति उत्पादन गर्न सक्ने हो भने विदेशबाट श्रमिक ल्याउनुपर्ने अवस्था हुँदैन । यसमा पनि केन्द्रित हुनु जरुरी छ ।

० तपाई पनि स्थापित व्यावसायी हुनुहुन्छ । उद्योगी व्यवसायी समस्यामा हुँदा महासंघको भूमिका भएन भन्ने व्यापक जनगुनासो छ । व्यवसायीको समस्या किन समाधान हुन सकेन होला ?
महासंघले समस्या समाधान गरेन भन्नु गलत हो । महासंघले जहिले पनि जिम्मेवार भएर नीतिगत रुपमा काम गर्नुपर्ने हुन्छ । कोभिड–१९ को समयमा महासंघको सिफारिसमा २ प्रतिशत ब्याज घटाउन हामी सफल भएका थियौं । अहिले पनि महासंघले चर्को व्याजदर घटाउँन पहल गरिरहेको छ । महासंघकै पहलमा ब्याज र सावा तिर्न नेपाल राष्ट्र बैंकले पुस महिनादेखि छुट दिएको छ । साना मझौला व्यवसायीलाई पनि राष्ट्र बैंकले १ महिनाको सहुलियत दिएको छ । यस्तै महासंघकै पहलमा बैंकले बढी लिएको प्रिमियम फिर्ता गरेको छ । त्यसैले आफ्ना व्यवसायीहरुको समस्या समाधान नगर्ने भन्ने हुँदैन । महासंघ व्यवसायीहरुका हरेक आन्दोलन र समस्यामा साथ दिँदै आएको छ । मैले पनि सबैप्रकारका एजेन्डामा साथ दिएको छु ।

० समृद्धिका निम्ति तपाई र महासंघको भुमिका कस्तो हुन्छ त ? अहिले गनैपर्ने कामको प्राथमिकतामा के कुरालाई सबैभन्दा अगाडी राख्नुहुन्छ ?
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षले अध्यक्षको अनुपस्थितिमा मात्र कार्य गर्ने हो । तर, भावि अध्यक्षसँग सहकार्य गरेर धेरै काम गर्न सकिन्छ भन्ने मेरो आत्मविश्वास छ । मैले उपाध्यक्षको रुपमा काम गर्दै गर्दा वस्तुगत संघको समस्या आफैँ बसेर सरकारी निकायसँग सहकार्य गरेर समाधान गरेको छु । तर, अहिले जिल्ला उद्योग वाणिज्य संघमा धेरै समस्या छन् ।

अर्थतन्त्र पनि समस्याग्रस्त भएको छ । सबै समस्यालाई सम्बोधन गर्न हामीले भिजन ल्याएका छौं । त्यसमा राज्यले फाइनान्सियल रिफर्म गर्नुपर्ने कुरा समावेश गरिएको छ । यो डकुमेन्ट अनुसार अर्थतन्त्र सबल बनाउन सरकारले रिफर्म पोलिसी ल्याउनैपर्छ । १० वर्षमा १०० विलियनको इकोनोमी, २२ लाखलाई रोजगारी, आयात प्रतिष्थापन ५० प्रतिशतमा झार्ने लगायतका कुरा उल्लेख छन् । अव चुनावपछि राजनीतिक दलसँग छलफल गरेर त्यसलाई एजेन्डाको रुपमा अगाडि बढाउने मेरो योजना छ । भिजन डकुमेन्ट मुलुकको आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको विषय हो । यसमा मेरो साथ पूर्णरुपमा रहनेछ ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *