उद्योग वाणिज्य महासंभित्र त्रिपक्षीय भिडन्त, कसले मार्ला वाजी ?

राजनीति समाचार

काठमाडौं । हिजोबाट सुरु भएको उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभा आज सम्पन्न हुँदै छ । उक्त साधारणसभामा तीनवटा प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । महासंघले स्थापनाको ५७ औं साधारणसभा गरिरहँदा अहिलेसम्म उद्योगी, व्यवसायीको हितमा ठोस काम भएको पाइँदैन ।

त्यसमा पनि व्यापार, व्यवसायीको हतिमा काम गर्नुपर्नेमा उल्टै राजनीतिक दलको छत्रछायाँमा रहेर आफ्नो दुनो सोझ्याउने र सरकार रिझाएर राजश्व छल्ने बाहेक अन्य काम अहिलेसम्मका नेतृत्वले गर्न सकेका छैनन् । आज सम्पन्न हुने महासंघको निर्वाचनमा तीनवटा समूह चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । तीन समूह चुनावी माहोलमा होमिइरहँदा राजनीतिक दलहरुले ल्याएको घोषणापत्र जस्तै गरी प्रचार गरिरहेका छन् । त्यसमा रामचन्द्र संघाईको समूह, उमेशलाल श्रेष्ठको समूह र अञ्जन श्रेष्ठको समूह चुनावमा प्रतिस्पर्धा गर्दै छ ।

यी तीनमध्ये कुन समूहले बाजी मार्ने हो त्यो भने एकिन छैन । अहिले नेपालका राजनीतिक दलभित्र हुने चुनावी प्रतिस्पर्धा जस्तै उद्योग वाणिज्य महासंघमा पनि कडा प्रतिस्पर्धा हुँदै छ । यसरी प्रतिस्पर्धा भइरहँदा भोलि निर्वाचित भएर आउने पदाधिकारीहरुले के नेपालका उद्योगी, व्यवसायीको हितमा काम गर्छन् त ? त्यो अहिलेको अवस्थामा सम्भव देखिँदैन । विगत लामो समयदेखि उद्योग व्यवसायी क्षेत्रमा काम गर्दै आएका उद्योगीहरुले विभिन्न कालखण्डमा महासंघमा नेतृत्व नगरेका होइनन् ।

तर, ‘जुन जोगी आएपनि कानै चिरेको’ भन्ने उखान उद्योग वाणिज्य महासंघमा चरितार्थ हुँदै आएको छ । आगामी दिनमा पनि उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुमा त्यो प्रवृत्ति नहोला भन्न सकिन्न । अहिलेसम्म उद्योग वाणिज्य महासंघमा नेतृत्व गर्ने पदाधिकारीहरुले उद्योगी व्यवसायीको हितमा माखोसम्म मार्न सकेका छैनन् भन्ने आरोप उद्योगी व्यापारीहरुले नै लगाउँदै आएका छन् । जब महासंघको साधारणसभा आउँछ अनि मिठामिठा नारा लिएर जुर्मुराउन थाल्छन् ।

उनीहरुले चुनाव अगाडि गरेका वाचाबन्धनहरु निर्वाचित भइसकेपछि बिर्सिने गरेका छन् । कतिपय पदाधिकारीहरु त निर्वाचित भएपछि विभिन्न राजनीतिक पार्टीको आडभरोसामा देश, विदेश घुम्ने, भन्सार छली गर्ने, नक्की सामान उत्पादन गर्ने, सामानको तौल घटाउने र मूल्य बढाउने काम गर्दै आउने गरेका छन् । त्यति मात्रै होइन उद्योगीहरुले नै उद्योगीहरुको विरोध गर्ने र एकले अर्कालाई राजश्व छली गरेको आरोप लगाउने पनि गर्दछन् ।

त्यसकारणले पनि आज हुने निर्वाचनमा होमिएका उम्मेदवारहरुले जतिसुकै मिठा नारा दिए तापनि निर्वाचित भइसकेपछि आफ्नो स्वार्थमा लिप्त हुने देखिन्छ । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष भइसकेपछि अर्को पटक स्वतहः अध्यक्ष हुने प्रावधान छ । त्यसकारण पनि अहिले वरिष्ठ उपाध्यक्ष हुनको लागि करोडौं खर्च गरिराखेका छन् । त्यसमा कसले बढी खर्च गरेर मतदाता आफ्नो पक्षमा पार्ने भन्ने होडवाजी चलिरहेको छ । यो खर्चको होडवाजीबीच कसले बाजी मार्ने हो अहिलेसम्म एकिन छैन ।

तर, यति हुँदाहुँदै पनि वरिष्ठ उपाध्यक्ष हुन न्वारनदेखिको बल निकालेर लागेका अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठको छवी नेपाल उद्योग वाणिज्य महासंघभित्र राम्रो मानिँदैन । त्यसकारण महासंघको वरिष्ठ उपाध्यक्षमा यसपटक रामचन्द्र संघाईंले वाजी मार्ने चर्चा उद्योगीहरुबीच चलिरहेको छ । त्यसमा पनि वरिष्ठ उपाध्यक्षमा राचन्द्र संघाईंले जित्ने अनुमान उद्योगी व्यवसायीले अनुमान गरेका छन् । त्यसमा पनि नाम नबताउने सर्तमा एक व्यवसायी भन्दै थिए, ‘अहिलेको परिस्थिति अनुसार वरिष्ठ उपाध्यक्षमा संघाईंले जित्ने देखिएको छ ।’ त्यसकारण पनि संघाईंको पल्लाभारी हुने देखिन्छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *