राष्ट्रबैंकलाई नटेर्ने घरानीया नबिल बैंक

अर्थ/वाणिज्य समाचार

काठमाडौं । व्यापारीहरुले कानुन मिचिरहेका छन्,के हेर्दछ वालुवाटारस्थित नेपाल राष्ट्र बैंक ? के राज्यको नीति जो होचो उसैको मुखमा मात्र घोचो गर्ने हो ? होइन भने किन ‘ठूलालाई चैन, सानालाई ऐन लाग्दछ ?’ यो प्रंसग हो,नविल बैंकको । डलरे अर्वपतिको बैंकले यस्तो जात्रा देखाउँदा समेत के रमिता हेरेर बसिरहेको छ नियामक निकाय ? यस्तो जात्रा नबिल बैंकको अध्यक्षका रुपमा पूर्व बैंकर उपेन्द्र पौडेल कार्यरत छन् भने उपाध्यक्षको रुपमा निर्वाण चौधरीले काम गर्दै आएका छन् ।

जबकी बैंक तथा वित्त संस्था सम्बन्धी ऐनमा उपाध्यक्षको परिकल्पना समेत गरिएको छैन ? उसो हो भने कहाँबाट घुस्यो उपाध्यक्ष ? बैंक तथा वित्त संस्था सम्बन्धी ऐनले परिकल्पनै नगरेको उपाध्यक्ष खडा गरेर उसले त्यहाँ निर्वाण चौधरीलाई अगाडि सारेको छ । त्यस्तै बैंकको सञ्चालकका रुपमा मलाया मुखर्जी,आशा राणा,अनन्त पौडेल र एक जना बंगलादेशी प्रतिनिध रहेका छन् ।

डलर अर्बपति विनोदकुमार चौधरी, उनको परिवारका सदस्य र बंगलादेशी साझेदारहरुको ठूलो लगानी रहेको नबिल बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) २०७३ र नेपाल राष्ट्र बैंक, एकीकृत निर्देशनको खिल्ली उडाएको छ । बैंकको अध्यक्षमा बहाल रहेका पौडेल यसअघि एनएमबी बैंकका सिईओ,बैंकर्स संघका अध्यक्ष र नेपाल व्यवस्थापन संघको अध्यक्ष भइसकेका व्यक्ति हुन भने सिइओको रुपमा दर्जनौं काण्ड मच्चाएका यस अघि नेपाल बंगलादेश बैंकको सिइओ रहेका सिइओ बनिसकेका ज्ञानेन्द्र ढुंगाना छन् । उच्च व्यवस्थापनमासमेत राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा काम गरेका केही व्यक्ति कार्यरत छन् ।

तर उनीहरु सबैले आफ्नो क्षमता र विज्ञतालाई चौधरीको ठाडो निर्देशनमा बाफिया र केन्द्रीय बैंकका कतिपय व्यवस्थाविरुद्ध हुनेगरी लत्याएको प्रष्ट हुन्छ ।सो बैंकले खुलमखुला वाफियाको निर्देशन उल्टाएको भेटिन्छ । बैंक तथा वित्त संस्थासम्बन्धी ऐन बाफियाले २०७३ पल्टाउने हो भने बैंकहरुमा एक जना अध्यक्ष र बाँकी सञ्चालक रहेको बोर्ड सदस्य रहनेछन् । बाफियाबमोजिम पछिल्लो समयमा राष्ट्र बैंकबाट इजाजतप्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिमा सात जना हुन्छन् ।

सात जनामा एक महिला र एक स्वतन्त्र सञ्चालक हुनैपर्ने कानुनी व्यवस्था छ । एक जना अध्यक्ष र बाँकी सबैलाई सदस्य मानिन्छ । तर, नबिल बैंकमा एक जना अध्यक्ष पौडेल र उपाध्यक्ष चौधरी नियुक्त गरेर नियम विपरित बोर्ड सञ्चालक समितिको बैठक बस्दै आएको छ । बाफियामा उल्लेख भएको भन्दा फरक संरचना निर्माण गरी बोर्ड सञ्चालन हुँदा समेत प्रत्यक्ष नियामक निकाय नेपाल राष्ट्र बैंक मौन रहँदै आएको छ ।

नबिलको मुख्य लगानीकर्ता चौधरी ग्रुप हो । नेपालमा निकायहरु ठूलो व्यापारिक घराना भन्ने वित्तिकै एउटा टिप्पणी उठाउन समेत उच्च तहका कर्मचारीहरु समेत थर थर काप्ने गर्दछन् । अनुचित लाभ लिने गरेका तथा नेपाल राष्ट्र बैंकबाट रिटायर्ड भएपछि तिनै बैंकहरुमा जागिर खान जाने अनैतिक अभ्यास भएकोले पनि राष्ट्र बैंकको नियमन फितलो हुँदै आएको छ । नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारीहरु अहिले पनि थुप्रै बैंकमा सिईओ छन् ।

त्यस्तै मध्येका एक हुन ग्लोबल आईएमई बैंकका सिईओ रत्नराज बज्रचार्य । बज्राचार्यले एनसीसी बैंकको व्यवस्थापन सम्हाल्न जाँदा समेत अनुचित काम गरेको उतिबेलै आरोप लाग्ने गरेको थियो । लगत्तै उनी राष्ट्र बैंक छोडेर निजि बैंकहरुमा सिईओ बन्दै हिडेका छन् । यता नविलले उपाध्यक्ष नियुक्त गर्दा मात्र होइन अन्य केही नियुक्तिमा समेत बाफिया ऐनलाई कुल्चिएको पाइन्छ । बैंकको ४ वटा सञ्चालक समिति बनाएको छ । लेखासमितिमा बसेकालाई अरु समितिको जिम्मेवारी दिँदा स्वार्थ बाझिने भए पनि उसले लेखापरीक्षण समितिमा रहेका प्रवीण टिवडेवालालाई दोहोरो जिम्मेवारी दिएर राष्टबैंकको ऐनको खिल्ली उडाइरहेको छ ।

नबिलको अडिट कमिटी संयोजकमा सञ्चालक प्रवीण टिवडेवाला तोकिएका छन् । त्यसको सदस्यमा अर्का सञ्चालक मलाय मुखर्जी छन् । तर, उनै दुई जनालाई रिस्क म्यानेजमेन्ट समितिको संयोजक र सदस्य बनाइएको छ । जोखिम व्यवस्थापन समितिको संयोजकमा मुखर्जी र सदस्यमा टिवडेवालालाई राखिएको छ । यसरी नेपाल राष्ट्रबैंकका दफा उपदफाहरु कुल्चदै आएको डलरे अर्वपतिको बैंकलाई कारवाही गर्ने हिम्मत वालुवाटारका सरकारी अधिकारीहरुले गर्न सकेका छैनन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *