काठमाडौं । गत चैत २५ गते नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाले २३ औं साधारणसभा अनामनगरको किम्ची रेष्टुरेन्टमा सम्पन्न गरेको छ । उक्त साधारणसभामा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा प्रमुख अथिति रहनुभएको थियो । त्यसैगरी विशेष अतिथिमा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरी रहेका थिए भने अन्य विभिन्न राजनीतिक दल निकट संघ, संगठनका पत्रकारका नेताहरुको उपस्थिति थियो ।
सो समाहारोहमा सञ्चार मन्त्री रेखा शर्माले देशमा बहुदलीय प्रजातन्त्रहुँदै गणतन्त्र स्थापना हुदाँसम्मको परिस्थितिलाई मध्येनजर गरी स्वरोजगारमुलक र साना लगानीका साप्ताहिक पत्रपत्रिकाले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रसंसा गर्नुभएको थियो ।
मन्त्री शर्माले आगामी दिनमा पनि राष्ट्र, राष्ट्रियता र समाजप्रति सरकारले गरेको राम्रो कामको प्रसंसा र नराम्रो कामको खबरदारी गर्नुपर्ने काम सञ्चारकर्मीको रहेको प्रष्ट पार्नुभएको थियो । त्योसँगै कतिपय सञ्चार ऐन, कानुनहरु संसोधन गरेर लागु गर्नुपर्ने पनि मन्त्री शर्माले बताउनुभएको थियो । अधिकांश साना लगानीका मिडियालाई पनि संरक्षण गरेर अगाडि लानुपर्ने र सहुलियत दरमा ऋणसमेत उपलब्ध गर्नुपर्ने सरकारको दायित्व रहेको बताउनु भएको थियो । त्योसँगै पत्रकारहरुको संगठनलाई सुदृढिकरण गर्नको लागि तलैदेखिबाट थालनी गर्नुपर्ने र पत्रकारहरुलाई आइपर्ने समस्याहरुप्रति पनि सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभएको थियो ।
सूचना सञ्चार तथा प्रविधि मन्त्रीले त्यो भनिरहँदा पत्रकार महासंघका पदाधिकारी तथा सदस्यहरु भने त्यसतिर ध्यान दिनुको सट्टा आफनै विज्ञापन र प्रसार प्रचारमा व्यस्त देखिन्थे । कतिपय पार्टी निकट पत्रकार सघं संगठनका नेताहरु भने आफ्नै पार्टी बचाउ र प्रशंसा गरिरहेका थिए । अहिले अधिकांश पत्रपत्रिकाहरुलाई राज्यले बञ्चित गरेजस्तै सामाजिक सञ्जालले बन्द गराइसकेका छन् । त्यसमा पनि अझ छापा माध्यमहरु त गुमनाम जस्तै भइसकेका छन् । कतिपय व्यवसायिक अनलाइन मिडियाहरु पनि धरासायी बन्दै गएका छन् ।
अहिले नेपालमा टिकटक, फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालको प्रभावले समाजलाई विकृत बनाउने गरी प्रचार प्रसार गरिराखेका छन् । त्यो विकृति, विसंगतिलाई बन्द गराउनु पर्नेमा त्यो नगरी उल्टै पत्रकार महासंघले त्यस्ता गतिविधि र क्रियाकलापलाई बढावा दिने काम गरिरहेको छ । अहिलेको २१ औं सताब्दीमा फेसबुक, टिकटक र स्वीटरजस्ता सामाजिक सञ्चाललाई विकसित देशहरुले बन्देज नै गरिसकेका छन् । तर, नेपालमा भने यस्ता सामाजिक सञ्जाललाई रोक्नुपर्नेमा त्यो नगरी देशका सबै क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरु पनि त्यसमा रमाइरहेका देखिन्छन् ।
त्यसकारणले पनि नेपालमा साना लगानीका सञ्चार माध्यम र आफूलाई ठूला दावी गर्ने सञ्चारगृहमार्फत सञ्चालित पत्रपत्रिकाहरुसमेत दिनप्रतिदिन ओझेलमा पर्दै गएका छन् । यसमा नेपाल पत्रकार महासंघ र पार्टी निकट विभिन्न पत्रकारहरुका संघ, संगठनहरुले ध्यान नदिने हो भने नेपालको छापामाध्यम समाप्त हुने छ । त्योसँगै नेपालका राजनीतिक दलहरु पनि समाप्तिको बाटोतिर उन्मुख हुँदै छन् ।
उता नेपाल पत्रकार महासंघ केन्द्रदेखि प्रदेश र जिल्ला शाखाका पदाधिकारहरुले महासंघलाई सहयोग गर्नेलाई सम्मान गर्ने नाममा पत्रकार महासंघको लोगो दुरुपयोग गर्दै आएका छन् ।
त्यस्ता सम्मान थाप्ने व्यक्तिहरु पनि विभिन्न कालाकर्तुतमा मुछिएपछि उन्मुक्ति पाउनको लागि पत्रकाररबाट सम्मान थाप्ने गर्दछन् । ती सम्मानित अधिकांश व्यक्तिहरु कुनै न कुनै विषयमा विवादित हुने गरेका छन् । त्यस्ता व्यक्तिले आफूले गरेको कालाकर्तुत लुकाउन पत्रकार महासंघहरुलाई सहयोग गर्ने गर्दछन् । त्यसमा पनि कतिपय राजनीतिक दलको आडमा सम्मान थाप्नेहरुको जमात पनि ठूलै छ । जब पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले कार्यक्रम गर्ने तय गर्दछ ।
अनि अतिथिको खोजी हुन थाल्दछ । अतिथिको टुंगो लागिसकेपछि सो कार्यक्रममा उनीहरुलाई मञ्चमा राखेर पत्रकारिता क्षेत्रमा शुद्धिकरणको आवश्यकता छ, हाम्रो पेशाभित्र गैरपेशाका मान्छे छन्, हामीले गैरपत्रकारलाई सदस्यता दिएका छौं भन्दै मञ्चमा उभिएर रोधनयुक्त भाषण ठोक्छन् । तिनै व्यक्तिबीच चुनाव आउन लागेपछि रातारात सदस्यता वितरण गर्नेतिर होडवाजी नै चल्छ ।
त्यही सदस्य वितरणको आधारमा गैरपेशाका मानिसलाई पत्रकारको सदस्यता दिएर आफू चुनाव जित्न ढुक्क हुन्छन् । तिनै सदस्यको मतबाट आफू चिर्वाचित भइसकेपछि विभिन्न रिसोट, पार्टीप्यालेसदेखि ककनी, जर्सिङपौवा, नुवाकोट, धुलिखेल, सूर्खेत, पोखरा, चितवन, लुम्बिनी, घलेगाउँ, गोदावरी, चन्द्रागिरी हिल्सलगायतका ठाउँमा पत्रकार महासंघको लोगो भँजाएर मोजमस्ती गरेर खाने परम्परा अहिलेदेखिको मात्रै होइन । यो पहिलादेखि नै चल्दै आएको इतिहास हो ।
अहिले जतिसुकै पत्रकारिताको सुद्धिकरण गर्छु भनेर लागे तापनि त्यो सम्भव देखिँदैन । पत्रकारिता क्षेत्रभित्रको विकृति र विसंगति अझ बढेर जाने छ । त्यसमा अझ साना लगानीका पत्रपत्रिकाहरु पलाएन हुने संख्या बढ्दै छ । अहिले नेपाल पत्रकार महासंघमा पत्रकारहरुको विषयमा आवाज उठाउने भन्दा पनि राजनीतिक दलको छत्रछायाँमा पत्रकारको नेता बन्ने र गैर पत्रकारहरुको हावी हुने परम्पराले वास्तविक र श्रमजीवी पत्रकारहरु पेशाबाट पलायन हुने अवस्था सिर्जना भएको छ ।(तामाकोशीसन्देशबाट)