अक्षरा स्कूलसँगै अन्य बोर्डिङहरुको ठगी धन्दा कहिलेसम्म ?

विविध समाचार

काठमाडौं । नयाँ शैक्षिकसत्र सुरु भइसकेको छ । अधिकांश सरकारी र निजी बोर्डिङ स्कूलहरुले विद्यार्थीको रिजल्ट पनि सार्वजनिक गरिसकेका छन् । त्योसँगै कतिपय विद्यार्थीका अभिभावकहरुले आफ्ना छोराछोरीको लागि गुणस्तरीय पढाइ, अनुसासित र बालमैत्री वातावरण भएको स्कूलको खोजिगरिरहेका छन् ।

तर, अधिकांश बोर्डिङ स्कूलहरुले नयाँ विद्यार्थी भर्नाको लागि सूचना आह्वान पनि गरिसकेका छन् । निजी स्कुलहरुले गुणस्तरीय पढाइ, खेलकुददेखि खाना, खाजा, यातायात, मनोरञ्जनात्मक अतिरिक्त क्रियाकलपसहितको आकर्षक सुविधा छ भनेर विद्यार्थी र तिनका अभिभावकलाई लोभ्याइ विद्यार्थीलाई आफ्नो स्कूलमा तान्ने प्रवृत्ति नयाँ होइन ।

त्यो प्रवृत्ति केन्द्रदेखि स्थानीय तहसम्म खोलिएका निजी बोर्डिङमा देखिन्छन् । अहिले निजी बोर्डिङ स्कूलहरुले नयाँ विद्यार्थी भर्ना गर्न र पुराना विद्यार्थीलाई एउटा कक्षाबाट अर्को कक्षामा जानको लागि भर्ना शुल्क भनेर न्यूनतम १० हजारदेखि ४० हजारसम्म प्रतिविद्यार्थी असुल्ने गरेका छन् । त्योसँगै ड्रेस, पुस्तक, कपी, कलमसमेत सम्बन्धित बोर्डिङ स्कूलले नै उपलब्ध गराउने भनेर अतिरिक्त रकमसमेत असुल्ने गरेका छन् । तर, शिक्षा मन्त्रालय र त्यसका सम्बन्धित निकायहरु भने यस विषयमा गुमनाम जस्तै भएर बसेका छन् ।

कतिपय बोर्डिङ स्कूलहरुले महंगो शुल्क असुल्ने गरे तापनि ती स्कूलहरुमा गुणस्तरीय पढाइ नै छैन । तर सरकारले त्यस्ता बोर्डिङ स्कूलहरुले बाहिर भनेजस्तो गुणस्तरीय पढाइ र बालमैत्री वातावरण छ कि छैन भनेर अनुगमन समेत गरेको छैन । त्यसको उदाहरण हो काठमाडौंको कागेश्वरी मनहरास्थित २३ रोपनी क्षेत्रफलमा फैलिएको अक्षरा स्कूल ।

अक्षरा स्कूल सन् २०११ मा स्थापना भएको थियो । ‘संस्कारयुक्त शिक्षा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ खोलिएको थियो अक्षरा स्कूल । अहिले त्यस अक्षरा स्कुलमा प्रतिविद्यार्थी भर्ना शुल्क मात्रै ४७ हजार रुपैयाँ लिइने गरिन्छ । त्योसँगै महिनावारी फि २७ हजार लिने गरिएको छ । सो स्कूलकी प्रिन्सिपल अञ्जु भट्टराई रहेकी छिन् । उनी नेता विशाल भट्टराईको बहिनी हुँ भन्दै हवाला दिने गर्दछिन् ।

अक्षरा स्कूलका अर्का पार्टनर राधेश्याम खड्का रहेको बताइन्छ । सो स्कुलमा हप्तामा दुई दिन बिदा दिने गरिएको छ । यसरी खोलिएका स्कूलहरुले कतिसम्म विद्यार्थीका अभिभावकलाई कति ठग्ने हुन् त्यो एकिन छैन । यस्ता ठगी धन्दा गर्ने बोर्डिङ स्कुल त नेपालमा कति छन् कति । अहिले त्यसको लेखाजोखा नै छैन । सो अक्षरा स्कूलले केही नाम चलेका अनलाइन मिडिया र राष्ट्रिय दैनिक पत्रिकालाई आफ्नो स्कूलको बढाइचढाई गरी प्रचार गर्न लगाएर बार्षिक लाखौ रुपैयाँ खर्च दिने गरेको छ ।

त्योसँगै स्कूलको प्रचारगरे बापत ती पत्रकारका छोराछोरीलाई अक्षरा स्कूलले निःशुल्क पठाउने गरेको छ । सरकारले यस्ता स्कूलहरुको अनुगमन गरी शुल्क निर्धारणमा एकरुपता ल्याउनुपर्नेमा त्यो गर्न सकेको छैन । अहिले देशैभर च्याउसरी खोलिएका बोर्डिङ स्कुलहरुले आफूखुसी शुल्क निर्धारण गर्ने र पाठ्यपुस्तक पनि आफै व्यवस्था गरी विद्यार्थीका अभिभावकसँग पैसा असुल्ने गर्दछन् । विद्यार्थीका अभिभावकले पनि बोर्डिङ स्कूलहरुले जे–जे भन्छन् त्यही लैलैमा लागेर लाखौ शुल्क र अन्य रकम बुझाउने गरेका छन् ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *