sampadakiya

जताततै विकृतिको चाङ, कहिले होला सुधार ?

विविध सम्पादकीय

सम्पादकीय
एउटा नेपाली उखान ‘जग दह्रो भए पो घर बलियो हुन्छ’ नेपाली राजनीतिमा चरितार्थ भएको छ । अहिलेको नेपालको राजनीति यति विकृत र बेथितिले भरिएको छ, जसको तथ्यांक गन्तीविहीन छ । नेपालको राजनीतिले व्यवस्थापिका र कार्यपालिकालाई त्यसैगरेर बिगारेको छ । जताततै बेथिति छ, गल्ती गर्नेहरु खुलेआम हिँड्ने गरेका छन् ।

त्यसैगरी आफुले गरेको गल्तीको रत्तिभर पनि आत्मग्लानी गरेको पाइँदैन । राजनीतिक दलले सिर्जना गरेको विकृति सबैतिर फैलिएको छ । अहिले कर्मचारी, न्यायपालिका, विभिन्न सामाजिक संघसंस्थाहरु विकृत छन् । भ्रष्टाचार र अनियमितताले जग गाडेको छ, त्यसलाई राजनीति र राजनीतिक दलले प्रश्रय दिँदै आएका छन् ।

त्यसैगरी शिक्षा, स्वास्थ्य र उद्योग क्षेत्र सबै भ्रष्ट बनिसकेका छन् । आफ्नो स्वार्थ र फाइदाका लागि मुलुक र जनताको बारेमा विचार नगर्ने, मुलुकको राज्यकोषमा लुट मच्चाउने र खुलेआम देखिएको गल्ती नस्वीकार्ने प्रवृत्ति हावी भएको छ । राजनीतिले सिर्जना गरेको विकृति र गलतलाई प्रश्रय दिने प्रवृत्तिले उल्टै नेपाली जनता मारमा पर्ने र शक्तिशालीहरुले जनतालाई लुट्ने गरेका छन् ।

नेपालको अहिलेको सन्दर्भमा कानूनभन्दा माथि राजनीतिक दलका नेता र कार्यकर्ता देखिएका छन् । नेपालको कानूनको ठाडो उल्लंघन गर्ने गरिन्छ । राजनीतिक दलहरु नै ठूला व्यवसायमा संलग्न हुने र आफ्नो स्वार्थअनुरुप नीति नियम बनाउने काम हुँदै आएको छ । राजनीतिक दलका नेताहरुले सत्तामा पुगेपछि खुलेआम पैसा उठाउने गरेको प्रमाण हालै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाबहादुर श्रेष्ठलाई उदाहरणको रुपमा लिन सकिन्छ ।

सबै क्षेत्रमा देखिएको यस्ता बेथितिलाई समाधान गर्न सकिएन भने नेपाल आर्थिक रुपमा पतन हुने र मुलुक उकासिनै नसकिने गरी भाँसिने पक्का छ । यस्तो विकृतिका चाङले आगामी पुस्तालाई पनि खराब सन्देश जान सक्छ । त्यसैले अब नैतिक रुपमा सोचेर मुलुकलाई दिशानिर्देश गर्ने ध्यान पु¥याउन जरुरी छ । नत्र भने जनता क्रान्तिमा फेरि नउत्रिएलान् भन्न सकिँदैन ।(तामाकोशीसन्देशबाट)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *