वैदेशिक रोजगारीको ठगीधन्दा स्थानीय तहतिर सर्दै

राजनीति समाचार

काठमाडौं । अहिले श्रम तथा रोजार मन्त्रालयले वैदेशिक रोजगारमा जानको लागि श्रम स्वीकृति दिने काम ७५३ स्थानीय सरकारलाई जिम्मेवारी दिएको छ । पहिला केन्द्र सरकारको जिम्मेवारीबाट वैदेशिक रोजगारीमा जाने गरेका थिए भने अहिले प्रदेश र स्थानीय सरकार मातहतबाटै जाने व्यवस्था मिलाइएको छ । तर, यसरी व्यवस्था मिलाइए तापनि अधिकांश वैदेशिक रोजगारीमा जाने युवायुवतीहरु ठगिन भने छाडेका छैनन् । पहिला वैदेशिक रोजगारीमा जानको लागि केन्द्र सरकारबाट श्रम स्वीकृति लिनुपर्ने हुन्थ्यो ।

अहिले श्रम स्वीकृतिको जिम्मेवारी प्रदेश र स्थानीय तहले पाएको छ । त्यो जिम्मेवारी स्थानीय सरकारले पाएसँगै ठगिने क्रमपनि बढ्दो छ । कतिपय स्थानीय तहभित्र विचौलिया हावी भएर ठगिरहेका छन् । त्यस्तै काठमाडौं उपत्यकाभित्रबाट दिइने श्रम स्वीकृतिहरु न्यून रहेको पाइन्छ । कुनै बेला वैदेशिक रोजगार विभागमा सरुवा भए जानको लागि विभिन्न शक्तिकेन्द्र धाएर पैसा खर्च गरी जाने गरेका थिए भने अहिले श्रम तथा वैदेशिक रोजगार विभागमा रहेका कर्मचारीहरु अन्यत्र मालदार ठाउँ ताक्न थालेका छन् ।

कतिपय पुराना र ठूला मेनपावर कम्पनीहरुले सम्बन्धित मन्त्रालयकै सचिवदेखि सहसचिवसम्मलाई आर्थिक प्रलोभनमा पारेर हुनेनहुने काम पनि गर्न वाध्य गराएका थिए । अहिले वैदेशिक रोजगारीको लागि सम्बन्धित स्थानीय तहलाई जिम्मेवारी दिएपछि कतिपय विचौलियाहरु पनि स्थानीय तहतिरै रमाउन थालेका छन् । पहिला–पहिला त गाउँगाउँबाट मान्छे खोजेर मेनपावर कम्पनीमा ल्याउने र एकजना बराबर १५ देखि २५ हजारसम्म कमिसन खाने गर्दथे ।

र, मेनपावर सञ्चालकहरुले पनि विभिन्न जिल्लाका गाउँघरमा गएर वैदेशिक रोजगारीमा जाने कामदार खोज्ने एजेन्ट राख्ने गरेका थिए । तिनै एजेन्टबाट मेनपावर कम्पनीहरुले लाखौ रुपैयाँ असुल्दै आएका थिए । अहिले केन्द्र सरकारले वैदेशिक रोजगारीको जिम्मेवारी स्थानीय सरकारलाई दिएपछि केन्द्रमातहतमा रहेका मेनपावर कम्पनीहरुको ओठतालु सुक्न थालेको छ । त्यसकारण अधिकांश मान्छेहरुलाई भिजिट भिसामा गैरबाटो हुँदै विभिन्न देशमा पठाउने काम विचौलियाहरुले गर्दै आएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा कार्यरत कर्मचारीहरु नेपालको जागिरले परिवार पाल्न र खानलाउन नपुगेपछि अधिकांश सुरक्षा निकायका कर्मचारीहरु जागिर छाड्दै विदेशिने क्रम पनि बढ्दो छ । यतिबेला नेपालको सुरक्षा निकायमा जागिर खाएका व्यक्तिहरुलाई विदेशमा पनि कामअनुसार राम्रै सेवासुविधा दिने गर्दछ । त्यसकारण उनीहरु सरकारी जागिर छाडेर विदेशिने गरेका छन् । कतिपय तल्लो ओहदामा कार्यरत सुरक्षाकर्मीहरु यतिखेर धमाधम जागिर छाड्दै विदेशिने क्रम बढिरहेको छ ।

अन्य उद्योग, धन्दा, व्यापार व्यवसाय, होटेल, रेष्टुरेन्ट, संघ, संस्थाहरु जस्ता ठाउँमा काम गर्नेको त कुरै नरगरौं । एकातिर सबै तह, तप्का, वर्ग क्षेत्रका व्यक्तिहरु रोजगारीको लागि विदेशिने क्रम त्यत्तिकै बढेको छ भने अर्कोतिर राजनीतिक आडमा विदेशिनेको लर्को पनि त्यत्तिकै बढेको छ । त्यसकारणले पनि नेपालमा अधिकांश नेपालीहरु बस्न मनपराउन छाडेका छन् । यसरी नेपालमा बस्न मन नपराउनुको कारण एकातिर रोजगारीको समस्या अर्कोतिर रोजगारी पाइहाले पनि पारिश्रमिक नपाउने समस्याले गर्दा नेपाली युवायुवती विदेशिने क्रम बढेको छ ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *