श्रमिकहरुको आवाज कागजमै सीमित

राजनीति समाचार

काठमाडौं । गत वैशाख १८ गते विश्वमा मनाइने श्रमिक दिवस नेपालमा पनि धुमधामभसँग मनाइएको छ । १३४ औं मे दिवस मनाइरहँदा नेपाल सरकारले पनि सबै क्षेत्रका श्रमिकहरुलाई बिदा दिने गर्दै आएको छ । तर, जब विश्व श्रमिक दिवस आउँछ अनि श्रमिकको नाममा टाठाबाठाले भात भान्छाको मेलोमेसो मिलाउने गर्दछन् ।

त्योसँगै श्रमिकको विषयलाई लिएर विभिन्न पार्टी निकट कर्मचारीका नेता, निजी उद्योग धन्दा, पसल, होटल, कलकारखानालगायतमा काम गर्ने मजदूरका नेताहरुले श्रमिकलाई भँजाएर आफ्नो दुनो सोझ्याउने काम गर्दछन् । उनीहरुले श्रमिकका नाममा ठूलाठूला भाषण गरे तापनि नेपालका श्रमिकहरुले अहिलेसम्म उचित पारिश्रमिक भने पाउन सकेका छैनन् । पाइहाले तापनि योग्यता, क्षमता र सीपको आधारमा नभएर व्यक्तिको इच्छाअनुसार पारिश्रमिक दिने गरिन्छ । तर, श्रमिक दिवसहरुमा नेताहरुले ती श्रमिकको उचित पारिश्रमिकको भन्दा पनि आफ्नो पार्टीको नारालाई अगाडि सारेर भाषण गर्ने गर्दछन् ।

भाषणमा श्रमिकका नेताहरुले उचित पारिश्रमिकको कुरा उठाए तापनि त्यसको कार्यान्वयनमा भने माखो मारेका छैनन् । अन्तर्राष्ट्रिय मान्यता अनुसार विभिन्न देशमा कर्मचारीहरुले जागिर छाडेपछि आफ्नो सीप र क्षमता अनुसारको जागिर अन्यत्र गएर खाने परम्परा छ । तर, नेपालमा भने जागिरको अवधि सकिएपछि पेन्सन खाएर बस्ने बाहेक अन्य काम गरिँदैन । किन कि नेपालमा जागिरे अवधिमा कतिपय सीपमुलक तालिमहरु हासिल गरेपनि लागु हुँदैनन र केही उच्च निकायका कर्मचारीहरुले केही सीप सिके तापनि जागिर छाडेपछि त्यसको सदुपयोग गर्ने गरेका छैनन् । त्यसकारणले पनि विश्व ट्रेड युनियनले गरेजस्तो व्यवहार नेपालको ट्रेड युनियनमा लाग हुन सकेको छैन ।

कतिपय सरकारी, गैरसरकारी र निजी क्षेत्रका कर्मचारीहरुको एकआपसमा समन्वयकारी भूमिका नहुँदा एकले अर्कोलाई तेजोवध गर्ने गर्दछन् । यसरी कर्मचारी, कर्मचारीबीचको आन्तरिक तेजोबधले गर्दा पनि नेपालमा निजी क्षेत्रका श्रमिकहरुले उचित पारिश्रमिक र सेवा, सुविधा पाउने गरेका छैनन् । केही निजी संघ, संस्थाका कर्मचारीहरुले पाइहाले तापनि तिनीहरुलाई बीचैमा कसरी हुन्छ जागिरबाट हटाउनेसम्मको खेल हुने गरेका प्रशस्तै उदाहरणहरु छन् । निजी क्षेत्रमा काम गर्ने श्रमिकहरु बिरामी हुँदा औषधि उपचार नपाएर छटपटाइरहँदा सरकारी कर्मचारी भने तलबसहित सेवा, सुविधा लिनेदेखि उपचार खर्चसमेत लिने गर्दछन् ।

त्योसँगै राज्यले सरकारी उच्चपदस्थ कर्मचारीको लागि ५ लाखसम्म उपचार खर्च दिने गरेको छ । तर, निजी क्षेत्रका कर्मचारीहरुले बिरामी हुँदा न उपचार खर्च पाउँछन् न त उनीहरुलाई कम्पनीले उपचार नै गरिदिने गरेका छन् । जब श्रमिक दिवस आउँछ अनि राजनीतिक दलका नेता, श्रममन्त्री र ट्रेड युनियनका नेताहरुले श्रमिकको नाममा ठूलाठूला भाषण गरेर चाड पर्व आएजस्तै गरी मोजमस्ती गर्ने गरेका छन् । श्रमिक दिवसमा गरिएका भाषण भने काजमै सीमित हुने गरेको छ ।

त्यसैगरी अहिले विश्वभरि कामको सिलसिलामा अङ्गभङ्ग हुने, मृत्यु हुने श्रमिकको संख्या दिनप्रतिदिन बढिरहेको छ । विश्वभरि दैनिक ६ हजारभन्दा बढी श्रमिकहरुले कामको सिलसिलामा मृत्युवरण गर्नुपर्ने वाध्यता छ । तर, कतिपय मुलुकहरुमा त श्रमिकहरुको हकहितको लागि सबै पक्ष एकजुट भएर लागिपरेका छन् । त्यस्ता मुलुकहरुमा उत्पादन वृद्धि हुनुका साथै गरीवी पनि न्यून रहने गरेको छ । तर, नेपालमा भने श्रीमजीवीको हितमा भन्दा राजनीतिक भागबन्डामै रमाउने र नेपालका उद्योग धन्दा पनि पलायन हुने हुँदा श्रमिकहरुले उचित पारिश्रमिक र क्षतिपूर्ति पाउने गरेका छैनन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *