कर्मचारीको मनपरीले माओवादी नेतृत्व सरकार धरापमा पर्दै

राजनीति समाचार

काठमाडौं । नेकपा माओवादीले २०६४ सालमा सम्पन्न संविधानसभाको निर्वाचनमा सबैभन्दा धेरै ठाउँमा जित हासिल गरेर पहिलो पार्टी बनेको थियो । त्योसँगै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए । तर, माओवादी पहिलो पटक सरकारमा पुगेपछि सरकार कसरी चलाउने भन्नेसम्मको ज्ञानसमेत थिएन । माओवादी सरकारलाई कुन–कुन संघ, संगठनले सहयोग गर्छन् भन्ने पनि ज्ञान थिएन ।

तर, माओवादी निकट रहेका कर्मचारी, सुरक्षा निकाय, नागरिक समाज, बुद्धिजीवी, पत्रकार, वकिललगायतका व्यक्तिहरुले सहयोग गर्ने नाममा बद्ना गराएर प्रचण्डलाई सरकारबाटै फालिदिए । त्योसँगै अधिकांश कर्मचारीहरुले माओवादीको नाममा बर्मलूट नै मच्चाए । अहिले पनि माओवादीभित्र त्यस्तै अवस्था सिर्जना भएको छ । त्यो अवस्था माओवादीमा मात्रै नभएर नेपाली कांग्रेस र नेकपा एमालेभित्र पनि देखिएको छ । नेकपा एमालले सरकारको नेतृत्व गरेको बेलामा पनि कर्मचारीहरु नै हावी हुने गरेका थिए । नेपाली कांग्रेसको सरकारमा पनि पार्टी निकट कर्मचारी नै हावी हुने र रजाइँ गर्ने काम भइरहेको छ ।

प्रधानमन्त्री कार्यालयमा बस्ने कर्मचारीहरुको बद्नाम गर्ने काम अन्य मन्त्रालयका कर्मचारीहरुले गर्दै आएका छन् । त्यस्तै अवस्था अहिले नेकपा माओवादी केन्द्र नेतृत्व सरकारमा देखिएको छ । अहिले अन्य मन्त्रालयका कर्मचारीको काम भनेकोे प्रधानमन्त्री र प्रधानमन्त्रीको सचिवालयलाई भजाएर खाने भएको छ । उदाहरणको लागि तत्कालीन प्रधानमन्त्री प्रचण्ड हुँदा प्रधानमन्त्रीको नाम भँजाएर शक्ति र पावरको भरमा नाच्ने कर्मचारी पनि थिए । तिनमा केहीको सेवा निवृत भएको छ भने केही कार्यरत छन् ।

तत्कालीन अवस्थामा प्रचण्ड प्रधानमन्त्री हुँदा झम्कनाथ ढकाल काठमाडौं महानगरपालिकाको उपकार्यकारी प्रमुखमा कार्यरत थिए । त्योसँगै महानगरबाट पछि ढकाल सामान्य प्रशासन मन्त्रालयमा सरुवा भए । उनकै दाजु अमर ढकालले माओवादी द्वन्द्वकालमा जागिर छाडेर बसेका थिए । उनले माओवादीको सरकार आएपछि त्यसको आडमा विज्ञापन एजेन्सी खोलेर अर्बौं रुपैया कमाए । उनका भाइ झम्कनाथ ढकाल सामान्य प्रशासन मन्त्रालयमा बसेको फाइदा पनि लिए । पहिला अमर ढकाल पनि सरकारी जागिरे थिए । उनको माओवादी द्वन्द्वकालमा जागिर गएको थियो । उनका भाइ झम्क ढकाल भने सरकारी जागिरमा टिकिरहेका थिए ।

माओवादी सत्तामा पुगेपछि झम्क ढकाल शक्तिशाली बने । भाइ झम्क ढकाल सामान्य प्रशासन मन्त्रालयमा पुगेपछि दाजु अमर ढकालको जागिर पनि जोडिदिए । गएको जागिर जोडिएपछि अमर ढकाल कास्की मालपोत कार्यालयमा गए । त्यसपछि विभिन्न कार्यालयमा बसेर अकुत सम्पत्ति कुम्ल्याए । उनी अहिले सरकारी सेवाबाट अवकास भएर बसेका छन् । उनका भाइ झम्कनाथ ढकाल भने अहिले एयरपोर्टको इमिग्रेसनमा कार्यरत छन् ।

त्यस्तै अर्का भाइ ज्ञाननाथ ढकाल पनि माओवादी समर्थित भएकै कारण मालदार ठाउँमा बसेर अकुत सम्पत्ति कमाइसकेका छन् । ढकालले सिडियोदेखि स्थानीय तहको कार्यकारी अधिकृत र श्रम तथा वैदेशिक रोजगार विभागमा बसेर करोडौं आम्दानी गरेको समाचार स्रोतको दावी छ । त्योसँगै अहिले ज्ञाननाथ ढकाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीका निजी सचिवमा कार्यरत छन् । ज्ञाननाथ ढकालकी श्रीमतीसहित अमरनाथ ढकालकी श्रीमती र झम्कनाथ ढकालकी श्रीमती पनि सरकारी सेवामै कार्यरत छन् ।

त्यस्तै अमर ढकाल अहिले जागिरबाट अवकास भएपछि विभिन्न मन्त्रालयमा धाएर माओवादीको नाम बेच्दै कर्मचारी सरुवा, बढुवामा खेलोफड्को गर्ने र माओवादी नेतृत्वको सकरारलाई धरापमा पार्ने काम गरिरहेका छन् । नेकपा माओवादी केन्द्र निकट कर्मचारी संगठनभित्र पनि तीन धार देखिएको छ । त्यसकारणले पनि प्रधानमन्त्रीको निजी सचिवालयको समाचार बारम्बार बाहिर आउने गरेको स्रोत बताउँछ ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *