साना माछामा अलमलिएको अख्तियार ठूलातिर आँखा लगाउँदै

राजनीति समाचार

काठमाडौं । कुनै बेला निदाएर बसेको बाग जस्तै रहेको अख्तियार दूरुपयोग अनुसन्धान आयोग अहिले जुर्मुराउन थालेको छ । केही साना माछालाई समाउँदै ठूलालाई उम्काउँदै आएको अख्तियारले अहिले भने ठूला माछातिर पनि ध्यान दिन थालेको छ । तर, अख्तियारको साहसले सार्थकता पाउँछ कि पाउँदैन त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

त्यस्तै गत वैशाख ३ गते अख्तियारले सेक्यूरिटी प्रेस खरिद काण्डमा मुछिएका सुरक्षण मुद्रण केन्द्रका कार्यकारी महानिर्देशक विकल पौडेललाई २ अर्ब ६९ करोड हिनामिना गरेको दावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा तत्कालीन सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घूस मागेको अडियो सार्वजनिक भएपछि उनले मन्त्री पदबाट राजिनामा दिएका थिए ।

तर, अहिलेसम्म पूर्व सञ्चारमन्त्री बाँस्कोटालाई लागेको ७० करोड घूसको आरोप प्रमाणित हुन सकेको छैन । उता सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनालाई भने विशेष अदालमा मुद्दा दायर गरिएको छ । सोही ठाउँमा कार्यरत रहेका सहायक निर्देशक रमेश पोखरेललाई भने चोख्याइएको बताइन्छ । तत्कालीन अवस्थामा रमेशप्रसाद पोखरेल सुरक्षण मुद्रण केन्द्रको प्रतिनिधि थिए । अहिले उनै पोखरेल राष्ट्रिय सूचना प्रविधि केन्द्र (जीआईडी) सिंहदरबारमा कार्यरत छन् । तर, उनलाई भने अख्तियारले छोएको छैन । उता कार्यकारी निर्देशक विकल पौडेल भने मेसिन रिडेबल पासपोर्ट (एमआरपी) छपाइ र सामुदायिक विद्यायमा आईटी ल्याब स्थापनासम्बन्धी अनियमिततामा मुछिएको आरोपमा मुद्दा खेपिराखेका छ ।

त्योसँगै उनीमाथि इम्बोस्ड नम्बर प्लेटको मूल्य र गुणस्तरमा पनि लापरवाही गरी भ्रष्टाचार गरेको आरोप छ । त्यस्तै अहिले नेपाल टेलिकमका प्रवन्ध निर्देशक सुनिल पौडेलमाथि पनि टेलिकमको बिलिङ मेसिन खरिद गर्नुपर्ने ठाउँमा पुरानालाई मर्मत गर्ने नाममा राज्यलाई अर्बौं क्षति पु¥याएको आरोप लाग्दै आएको थियो । विकललाई जस्तै आफूलाई पनि भ्रष्टाचारको मुद्दा लाग्ने हो कि भनेर टेलिकमका सुनिल पौडेलल पनि अत्तालिन थालेका छन् ।

त्योसँगै अहिले सूचना तथा प्रविधि मन्त्रीमा माओवादीकी रेखा शर्मा आएपछि नेपाल टेलिकममा पुराना अस्थायी र ज्यालादारी कर्मचारीलाई हटाएर भद्रगोल बनाइएको पनि बताइन्छ । त्यतिमात्र होइन टेलिकमभित्र विकृति, विसंगति र भ्रष्टाचार झन् मौलाएको समाचार स्रोतको दावी छ । त्यस्ता विकृति र विसंगतिप्रति प्रवन्ध निर्देशक पौडेलले ध्यान नदिइ आफ्नो जागिर बचाउन लागि परेको भनाइ छ । अहिले अख्तियारले टेलिकमका प्रवन्ध निर्देशक पौडेलमाथि लागेको भ्रष्टाचारको छानविन गरिरहेको विशेष स्रोतको दावी छ । टेकिलमभित्रको विकृति, विसंगति र भ्रष्टाचारसँगै बिलिङ मेसिन मर्मतमा भएको अनियमिताको समाचार गत पुस २० गतेको तामाकोशी सन्देश साप्ताहिकले प्रकाशित गरेको थियो ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *