जसरी महमा लटपटिएर मौरीहरु मर्दछन् त्यसरी नै भ्रष्टाचारमा लटपटिएर दलका नेताहरु मर्ने अवस्था नेपालमा सिर्जना भएको छ । दलका नेताहरुले नेपालमा लामो समय देखि भ्रष्टाचारको काण्डहरु मचाउँदै आएको भएता पनि हालैको दिनमा एकपछि अर्को भ्रष्टाचार काण्डहरुको भण्डाफोर सुरु भएको छ । माओवादी जस्त फलामे अनुशासन भएको दलका नेताहरु पनि संधै क्रान्ति मात्रै गर्दै बसेर हुन्न अब पैसा पनि कमाउनु पर्छ भन्ने सोचबाट ग्रसित भएका छन् । दलका नेताहरुले जनआन्दोलन ताका आफैले नेपाली जनतालाई साक्षी राखी गरेका शंकल्पहरुलाई बिर्सिएर अकुत पैसा कमाउने भ्रष्टाचारको मार्गमा अगाडि बढेका बढेकै छन । दलका ठुला नेताहरुको संलग्नतामा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने एक भ्रष्टाचार काण्डको हालै पर्दाफास भएको छ । लहरो तान्दा पहरो थर्किए झै गरी दलका ठुला नेताहरु सोकाण्डमा तानिएका छन र एक आर्कालाई झोस्ने अनि आगो लगाउने काम यथार्तमा सुरु भएका छन । पूर्व प्रधानमन्त्री देउवाको पत्नी देखि लिएर पूर्व गृहमन्त्री खाँडको पत्नी सम्मले सो काण्डमा मिलिभगत गरी घुष लिएको भ्वाइस रेकर्ड सार्वजनिक भएका छन् । सो काण्डमा समातिएर जेल परेका बिचौलियाहरुले एक पछि अर्को दलका साना ठुला नेताहरु र उहाँहरुको परिवार जनलाई भटाभट पोल्न थालेका छन् ।
सो काण्डको जाँचबुझ गरी रहेका प्रहरी अधिकारीहरुलाई समातिएका दलाल बिचौलियाहरु आफ्ना बयान जस्ताको त्यस्तै लेख्नु पर्ने अन्यथा गर्न नपाईने भनी दबाब दिएको चर्चा बाहिर आएको छ । सोकाण्डमा संलग्न दलका नेताहरुलाई बचाउन अनुसन्धानमा खटिएका प्रहरीले आफ्नो बयानमा छेडछाड गर्ने प्रयास गरेमा त्यसको प्रतिकार स्वरुप प्रहरी कार्यालयमा नै आत्मदाह गर्ने सम्मको धम्की प्रहरी हिरासतमा रहेका दलाल बिचौलियाहरुले दिएको कुरा सार्वजनिक भएका छन । सोकाण्डमा संलग्न केही दलका नेताहरुले जेल परेका दलाल बिचौलियाहरुको गोडै समातेर आफ्नो नाम नपोल्नको लागि अनुरोध गरेको कुरा समेत केही राष्ट्रिय समचार पत्रहरुले प्रकाशित गरेका छन । केही दलका नेताहरुले आफुले पहिले लिएको पैसा समेत जेल परेका दलाल बिचौलियाहरुलाई फिर्ता गरी आफ्नो नाम नपोल्नु भन्दै अनुनय बिनय गरेको खबर बाहिर आइरहेका छन् ।
एमाले दलका शीर्ष नेता ओली आफ्नो पार्टीको पदाधिकारी समेत रहेका ठुला आरोपीलाई बचाउन प्रधानमंत्रीको निवास बालुवाटार र कार्यालय सिंहदरवारमा धाएका धाएकै छन् । निर्दोष नपरुन र अपराधी नउम्किउन भन्ने शिद्धान्त प्रधानमंत्री पचण्डलाई याद दिलाएका दिलाएकै छन् । एमालेको शीर्ष नेता ओली आफै नेपालको प्रधानमंत्री भएकोबेलामा तानाबाना बुनिएको यो भ्रष्टाचार काण्डको पोल अहीले खुल्न आएको हो । उहाँ नेपालको प्रधानमंत्री हुँदा ललितानिवास बालुवाटार सरकारी जग्गा अपचलन प्रकरणमा मुछिएका पूर्व प्रधानमंत्री द्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईलाई अभयदान दिएर जेल जानवाट बचाएका थिए । सोही बेला अहिले सत्तामा भएको गठबन्धन दलका दुई नेताहरुलाई लगाएको गुणको सोधभर्ना अहिले गठबन्धनका प्रधानमन्त्री शीर्ष नेता प्रचण्ड सित माग्दै छन् । शीर्ष नेता प्रचण्ड दलका नेताहरु मद्धे सबै भन्दा ज्यादा लचकता भएको नेता मानिन्छ । उहाँलाई दलाल बिचौलिया देखि लिएर राजनीतिक दलका नेताहरुले समेत भ्रममा पारी फाइदा लुटेको उदाहरणहरु धेरै छन् । उहाँ एकोहोरो सूचनामा भर पर्ने र दोहरो तेहरो सूचनाहरुको वास्ता नगर्ने भएकाले बेलाबेलामा धोका खाएर अपरिपक्क निर्णयको सिकार आफै हुने गरेका सर्वबिदित नै छ । उहाँले यतिबेला नेपालको प्रधानमंत्री भएको हुँदा नक्कली भुटानी सरणार्थी काण्डको प्रहरी अनुसन्धान कसैको दबाबमा नपरी निष्पक्ष भएर गर्ने गराउने प्रतिबद्धता जनाएका छन् । तर उहाँ आवश्यक भन्दा बढी नै लचक भएको हुँदा भ्रष्टाचारको शानशाहको रुपमा आफ्नो परिचय बनाईसकेका शीर्ष नेता ओलीको झाँसामा आउन सक्ने संभावना अत्याधिक छ ।
एमाले दल भित्र भ्रष्टाचारमा राष्ट्रिय रिकर्ड बनाएका नेताहरु धेरै छन् । अपराधमा लागेका र भ्रष्टाचार गरेको वा गर्ने पृष्टभूमि बनाएका दलका नेताहरुले एमाले पार्टीलाई आफ्नो सुरक्षित आश्रयस्थल बनाएका छन् । साँसद कोईरी जस्था अदालतबाट अपराधको आरोपमा सजाय पाएका अपराधी देखि लिएर भ्रष्टाचारको आरोपमा पक्राउ पर्ने डर भएका नेता रायमाझीलाई समेत कानुनको लामो हातबाट बच्नको लागि लुक्ने छिप्ने ठाउँ एमाले पार्टी नै भएको छ । नेपालको राजनीतिक दलहरुको यस्तै कमीकमजोरीहरु कै कारण प्राकृतिक स्रोतहरु र साधनले भरपुर मुलुक नेपाल ठुलो आर्थिक संकटको भुँमरीमा पर्दै गएको छ । दलका नेताहरुले स्रोत साधनको पहिचान नै नगरी ल्याएको नेपालत्व नभएको मौलिकताहिन राजनीतिक व्यवस्थाले राज्यको चालु खर्च अप्रत्यासित रुपमा बढाएको हुँदा नेपाली जनताको दुरावस्था दिनदिनै बढ्दै गएको छ । नेपालको यस्तो अवस्थालाई बदल्ने चुनौतीलाई स्वीकार गर्दै गोरखाका नेपाली जनतालाई साक्षी राखी दृढशंकल्पको साथ नेपालका प्रधानमंत्री बन्न सफल भएका शीर्ष नेता प्रचण्डले आफ्नो संकल्पलाई पुरा गर्नको लागि मात्रै भएपनि भ्रष्टाचारको किल्लालाई भत्काएर भ्रष्टाचारीहरुलाई दण्डित तुल्याउनु पर्छ । नेपालमा चलेको दण्डहिनताको अवस्थालाई अन्त्य गरी कानुनी राजको अनुभूति नेपाली जनतालाई दिन सक्नु पर्छ । दलका नेताहरु कोही गतिलो देखिन्न । सबै भ्रष्टाचार गर्न र गराउन लिप्त भएर लागेका मात्रै छन् । दलका नेताहरुलाई कानुनको डर छैन त्यसैले राज्यको ऐन नियम कानुन सबै मिचेर भ्रष्टाचार गर्नुमा नै आफ्नो बहादुरी ठानेका छन् । साँसदहरु सबै मंत्री बन्नको लागि दौडधुप गर्नेहरु मात्रै छन् । राज्यको ऐन नियम कानुन नै संसोधन गरी गरी राम्रालाई होइन आफ्नालाई काम दिने गरेका छन् । सोहिभएको हुँदा नेपालको बिकास हुन सकेको छैन । नेपालमा उद्योगहरु खोलेर चलाउन सकिएको छैन ।
राज्यको लक्ष्य एकातिर विकासको केन्द्रविन्दू अर्कैतिर सोझिएका छन् । फजुल पूर्वाधार परियोजनाहरु राजनीतिक निर्णयबाट छनौट गरी बनाएका छन् भने नेपाली जनताको सुख र समृद्धि सित जोडिएका परियोजनाहरु उपेक्षित भएका छन् । सरकारी खर्चमा कुनै मितव्ययिता अपनाईएको छैन । कमिसन खानकै लागि नाफाखोर दलाल तस्करहरु सित मिलीजुली नचाहिने कार्यालयका जिन्सी समाग्रीहरु किनेर स्टोर्समा थन्काउने गरिएका छन । दलका नेताहरु आफै अनुशासित नभएको हुँदा निजामती कर्मचारीहरुलाई पनि अनुशासित तुल्याउन सकीरहेको छैन । एक अर्का सित मिलेरै सरकारी चालु खर्च बढाएर कमिसन खाने परिपाठी दलहरुको शासनकालमा खुबै बिकसित भएर झाँगीन पुगीसकेको अवस्था यतिबेला नेपालमा बिद्यमान छन । दलका नेताहरु र निजामती कर्मचारीहरु कुकुरको पुच्छर झै बनेकाले १२ बर्ष ढुंग्रामा हाले पनि सिधा हुने संभवना छैन । नेपालको यस्तो अवस्था दलहरुले नै बनाएका हुन । उहाँहरुको कूशासन नै यस्तो हलत र अवस्थाको लागि पूर्णरुपले जिम्मेवार मानिन्छ । शीर्ष नेता प्रचण्डको लागि नेपालको अवस्था बदल्ने चुनौती चानचुने चुनौती होइन । यसको लागि राजनीतिक दलका नेताहरुको बानी व्यहोरा र संस्कार नै बदल्नु पर्ने हुन्छ जसको लागि लामो समय लाग्छ । त्यसकारण नेपाल राष्ट्रको अवस्था तुरुन्तनै बदल्नको लागि राजनीतिक व्यवस्था नै बदल्नु पर्ने हुन्छ जसको लागि दलहरु तयार छैनन् । जुन संबिधान र शासकिय स्वरुपको प्रतिरक्षा गर्ने प्रण दलका नेताहरुले गठबन्धन बनाउदा गरेका छन त्यसैले दलका नेताहरुको हात खुट्टा बाँधिएको र मुख थुनिएका छन । शीर्ष नेता प्रचण्ड नेपालको प्रधानमन्त्री बने लगत्तै नेपालमा सुशासन र समृद्धि ल्याउनको लागि प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपालमा सुशासन कायम गर्न गराउनको लागि सबै भन्दा ठुलो बाँधा खुलारुपमा चलेको भ्रष्टाचार नै हो । सक्रिय राजतन्त्रको नेतृत्वमा चलेको पञ्चायत कालमा लुकीछिपी हुने गरेको भ्रष्टाचार अहिले लोकतन्त्र कालमा खुलारुपमा हुने गरेका छन । संस्थागत रुपमा ऐन नियम कानुन नै बदलेर दलका नेताहरुले नेपालमा भ्रष्टाचार गर्ने गराउने सँस्कार नेपालमा बसालेका छन । प्रधानमंत्री प्रचण्डले दिनु भएको सुशासनको प्रतिबद्धताको लागि ठुलो चुनौती पनि खुला रुपमा चेलको भ्रष्टाचार नै हो । जहाँ तक समृद्धिको कुरा छ सोआर्थिक उन्नती सित जोडिएको बिषय हो । नेपाल राष्ट्र यतिबेला आर्थिक संकटको अवस्थाबाट गुज्रीरहेको हुँदा प्रधानमंत्री प्रचण्डले भन्नु भएको जस्तो नेपाललाई समृद्ध बनाउन सकिने अवस्था पनि नेपालमा बिद्धमान छैन । त्यसकारण प्रधानमन्त्री प्रचण्डको राजनीतिक मार्गमा सुशासन कायम गर्न, राष्ट्रलाई समृद्ध बनाउन र राष्ट्रको अवस्था बदल्नको लागि धेरै ठुला चुनौतीहरु छन । सबै भन्दा प्रखर र झेली हाल्नु पर्ने चुनौती भनेको भ्रष्टाचारमा लिप्त दलका नेताहरु नै हुन जो आफ्नै दल भित्र सक्रिय छन भने अन्य दलहरु भित्र पनि छ्यापछ्याप्ती छन् ।
नेपालमा यतिबेला कसैले कसैलाई पनि कार्यबाही चलाउन सकिने अवस्था छैन । ठुला राजनीतिक परिवारका सदस्यहरु एकपछि अर्को गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलिएका छन् । दलका शीर्ष नेताहरु सोकाण्डका अनुसन्धानका सिलसीलामा जेलमा परेका बिचौलियाहरुले पोलखोलेका ठुला राजनीतिक घरानाका सदस्यहरुलाई बचाउन होत धोएर लागेका छन् । यसको मतलव के हो भने संघियता, गणतन्त्र र लोकतन्त्र भन्ने दलहरुले ल्याएको राजनीतिक व्यवस्था असफल भएको नै हो । यस्तो बिदेशबाट हुबहु नक्कल गरी नेपालमा कपी पेस्ट गरिएको राजनीतिक व्यवस्था नेपाल लामो समय चल्नेवाला छैन । यस्तो नेपालको मौलिकताहिन राजनीतिक व्यवस्थाले नेपालको अवस्था बदल्न सक्दैन झन् गञ्जागोल र भद्रगोल अवस्था उत्पन्न गरी नेपाल राष्ट्रकै अस्तित्व जोगाउन कठिन तुल्याउने पक्का छ ।