सार्वजनिक संस्थान डुबाउनेहरु चिन्नुस् ?

राजनीति समाचार

काठमाडौं । कोही किन आकर्षक जागिर,आफ्नै अर्बाैको व्यापारको सम्राज्य,बार्षिक करोडौंको व्यवसाय हुने कारोवार छाडेर मामुली उपसचिव तहको जागिरमा गिर्न तयार हुन्छ ? टंगालमा मुख्यालय रहेको निक्षेप तथा कर्जा सुरक्षण कोषमा लगिएका रमेश घिमिरे जसरी एनसेलको आकर्षक जागिर छाडेर मामुली उपसचिव तहको जागिर खान झरे उसैगरी खुमलटारको एउटा सरकारी निकायमा समेत एक जना अर्वपति व्यापारीको प्रवेशलाई उही ढंगले हेरेर विश्लेषण हुन थालेको छ ।

बार्षिक करोडौं आर्जन हुने आकर्षक प्राइभेट जागिर छोडेर होस वा बार्षिक करोडौं आर्जन हुने सम्मानित आफ्नै व्यवसाय छोडेर मामुली उपसचिव तहको सरकारी जागिरमा किन झर्न तयार भए होला रमेश घिमिरे र रमेश हमालहरु ? यी दुबै रमेश राष्ट्रप्रेमले ओतप्रेत भएर वा अकुत आर्जन गर्न सक्ने प्रवल सम्भावना देखेर सरकारी जागिर खान आएका होलान ?

होइन भने एनसेलमा जागिर खाने नेपाली नागरिकमै उच्च तहका कर्मचारी (सिइओपछिको सेकेण्ड म्यान),व्यक्तिगततर्फ बढी कर तिर्ने उत्कृष्ट २५ जनाभित्र पर्न सफल रमेश घिमिरे हुन वा बार्षिक करोडौंको आम्दानी,नेपालमा मात्र होइन थाइल्याण्डमा समेत व्यापार र व्यवसायको सम्राज्य विस्तार गरेका रमेश हमाल दुबै व्यक्तिमा समानता भेटिन्छ । जनार्दन शर्मा अर्थमन्त्री हुँदा टंगालस्थित निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत घिमिरेलाई ४ वर्षका लागि नियुक्त गरिएको थियो ।

यसअघि नेपाल राष्ट्र बैंकबाट अवकाशप्राप्त निर्देशकहरूलाई खटाइँदै आएकोमा जनार्दन शर्माले क्रमभंग गर्दै उपसचिव तहका कर्मचारीलाई हाकिम बनाए । त्यसपछि लगिएको हो रमेश घिमिरे,यता भीष्म ढुंङ्गना फण्डामा मुछिएपछि रिक्त भएको स्थानमा रमेश हमाललाई नियुक्त गरिएको हो । हमाल अर्बाै सम्पत्ति र बार्षिक करोडौंमा कारोवार गर्ने हैसियत भएका व्यक्ति हुन । घरजग्गा, टुरिजम, आवासिय तथा हस्पिटालिटी प्रपर्टी डेभलपमेन्टको काम गर्दै आएका उनी नेपालमा दुई अर्ब लगानीमा चेन होटलका सञ्चालक हुन । यस्का अलवा थाईल्याण्डमा समेत उनको व्यवसाय छ ।

स्रोतहरुका अनुसार त्यहाँ ग्रिन हेरिटेज नामक कम्पनी चलाउँदै आएका छन्,थाइल्याण्डमा जहाँ उनको ४९ प्रतिशत शेयर स्वामित्व छ र बार्षिक कारोवारमात्र करोडभन्दा माथिको हुन्छ । तर यत्रो सम्राज्य सम्हालेका व्यक्ति मामुली ७० हजार हाराहारीको जागिर खान किन राजी भए ? के छ त्यो होला त्यो जागिरमा त्यस्तो आकर्षण ? हमाल,घिमिरे र सिलवालहरु त्यहाँ तलव र सेवा सुविधा लिन कार्यकारी अध्यक्ष भएर गएका हुन त ? त्यो पछाडि के छ अरु कारण ? रमेश हमाल निकट स्रोतका अनुसार उनको दैनिक खर्च नै ५० हजारभन्दा माथि निस्कन्छ । उनी नेपालको महंगो मध्येको एक नक्सालस्थित मेरियटमा होटलमा बस्दछन् ।

अनि मासिक ७० हजार कमाएर दैनिक ५० हजार खर्च गर्न कसरी सम्भव हुन्छ ? यी दुबै निकायमात्र होइन अहिले नागरिकता विवादको लफडामा मुछिएर गृह मन्त्रालयले छानबिन गरिरहेका सूर्य सिलवाललाई समेत नेपालका चर्चित पावर व्रोकर दीपक भट्टले तत् तत् निकायमा लगेर फिट गराएका बुझिन्छ । उनीहरु गए पछि दर्जनौ कम्पनीलाई वीमा लाइसेन्स दिने देखि समानान्तर निजी स्टक एक्सचेञ्ज खोल्नका लागि अनुमति दिने लगायतका निर्णयले समेत ती पात्रलाई त्यहाँ किन र कुन उदेश्यले पठाइएको रहेछ बुझ्नका लागि कठिन छैन ।

निक्षेप कर्जा सुरक्षण कोष र धितोपत्र वोर्ड होस वा नेपाल वीमा प्राधिकरणलाई जनकपुर चुरोट कारखाना, बाँसवारी छालाजुत्ताझैँ बनाउने उद्देश्यले विचौलिया भट्टका प्रतापले उनीहरुलाई त्यहाँ प्रवेश गराइएको बुझ्न कठिन छैन कारण त्यही ढंगले पृष्टभूमिहरु भइरहेका छन् । अहिले नेपालमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स बाँड्ने परियोजनाको ठेक्का लिइरहेका छन । नेपाल जत्रो सानो देशमा दुई वटा स्टक एक्सचेन्जको आवश्यकता छैन भन्दैछन्,जानकारहरु । सरकारी नेपाल स्टक एक्सचेन्जलाई धरासायी बनाएर निजी स्टक एक्सचेन्ज कम्पनी संस्थापना गर्ने,एकै पटक दुई दर्जन नयाँ वीमा कम्पनीहरु थप्ने धन्दा त्यही अनुसार नै चलेको भन्दैछन् अर्थ मन्त्रालयतिरका कर्मचारीहरु ।(तामाकाशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *