दोलखाका सामुदायिक वनका प्रतिनिधिहरुको अठोट

राजनीति

सामुदायिक वन उपभोक्ता समूहहरुको छाता संस्था सामुदायिक वन उपभोक्ता महासंघको यस वर्ष अधिवेशन वर्ष भएको छ । स्थानीय देखि केन्द्रसम्मको अधिवेशन हुने क्रम चलिरहेको छ । २०५२ सालमा स्थापना भएको यो छाता संगठनले धेरै उतारचढाव सामाना गरिरहनु परेको छ । संस्थाले लिएको अवधारणा तथा कार्यक्रमको समिक्षा गर्ने र नयाँ दिनको लागि सोच विकास गरी नेतृत्व चयन गर्ने स्थान भनेको अधिवेशन हो । यहि अधिवेशनको अभियान गर्ने क्रममा दोलखामा पनि भरखरै सम्पन्न भएको छ । अधिवेशनबाट जगन्नाथ वस्नेतको अध्यक्षता नयाँ कार्यसमिति गठन भएको छ ।

दोलखा फेकोफनको सातौ अधिवेशनको प्रमुख अतिथी वाग्मती प्रदेश सभाका उपसभामुख अप्सरा चापागाई हुनुहुन्थ्यो । दोलखा फेकोफनको इतिहासमा ६ जना अध्यक्ष भैं नेतृत्व गरिसक्नु भएको छ । २०५२ सालको पहिलो अधिवेशनबाट सिताराम बस्नेत अध्यक्ष हुनु भयो । दोस्रो कार्यकालमा हरिहर न्यौपाने अध्यक्ष हुनु भएको थियो । त्यसै गरी उद्धव प्रसाद पोखरेल, सिता केसी, कमला बस्नेतले तेस्रो, चौथो र पाँचौं कार्यकालको अध्यक्षको जिम्मेवारी वहन गरिसक्नु भएको छ । छैटौं अधिवेशनबाट जगन्नाथ बस्नेत अध्यक्ष हुनु भएको थियो । दोलखा फेकोफनमा पहिलो पटक दोहो¥याएर अध्यक्ष जगन्नाथ बस्नेत मात्र हुनु भएको छ ।

सातौ अधिवेशनबाट विधान अनुसारको समावेशी नेतृत्व चयन भएको छ । वनका सवालमा आधारित कार्यपत्र प्रस्तुत भए । डा. दिलवहादुर खत्री र डा. गोविन्द पौडेलले सामुदायिक वनको समिक्षा र भावी गन्तव्य सम्वन्धी र भोला खतिवडाले सामुदायिक वन र स्थानीय सरकार विचको सहकार्य सम्वन्धी कार्यक्रम प्रस्तुत भयो । सो को आधारमा विचार व्यक्त र सामुहिक छलफल भएको थियो ।

अधिवेशनको उद्घाटन सत्रमा जिल्ला महासंघसँग नियमित सहकार्य गर्ने सरकारी तथा गैरसकारी संस्थाहरुलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो । डिभिजन वन कार्यालय दोलखा, साउथ एसिया एन्सिच्यूट अफ एडभान्स स्टडिज काडमाडौं, एन्साव नेपाल, फरेष्ट एक्सन नेपाललाई सम्मान गरिएको थियो । त्यसै गरी सामुदायिक वनको नेतृत्वमा रहेर राज्यका विभिन्न तहमा नेतृत्व गरिरहनु भएका जनप्रतिनिधिहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

सामुदायिक वनको सचिव समेत भैसकेका हाल वागमती प्रदेशको सांसद हुनु भएका ठुला थामी, समूहको अध्यक्ष समेत भैं हाल वैत्येश्वर गाउँपालिकाको अध्यक्ष छविलाल लामा, भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, मेलुङ गाउँपालिकाका उपाध्यक्ष गायत्री आचार्य, वडा अध्यक्षहरु राम प्रसाद मैनाली, झम्क कार्कीलाई वधाइ तथा सम्मान गरिएको थियो । जिल्ला फेकोफनका पूर्व २ महिला अध्यक्ष सिता केसी र कमला वस्नेतलाई सम्मान गरिएको थियो ।

अधिवेशन उद्घाटन सत्रमा प्रदेश उपसभामुख, मेलुङ, वैत्येश्वर, विगु गाउँपालिका अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी, डिभिजनल वन अधिकृत लगायतका वक्ताहरुले सामुदायिक वनको चर्चा गर्दै अधिवेशन सफलताको कामना गर्नु भएको थियो । अधिवेशनको वन्द सत्रमा सामुदायिक वनका सवालहरुका विषयमा छलफल गरिएको थियो ।

यस क्रममा विभिन्न सवाल तथा गर्नु पर्ने कामहरुको वारेमा सूची समेत तयार भएको थियो । सामुदायिक वनमा रहेका पुराना सल्लाहरु हटाइनु पर्ने, संरक्षण क्षेत्र हटाउनु पर्ने, हरेक पालिकामा वन शाखा स्थापना गरिनु पर्ने, स्थानीय वन ऐन समूहसँगको सहकार्यमा वनाइनु पर्ने, पालिका र वन कार्यालयसँग दोहोरो सहकार्य हुनु पर्ने, तेहेरो कर प्रणाली हटाउनु पर्ने, स्थानीय स्तरबाट सामुदायिक वनलाई चाहिने सेवा पाउनु पर्ने, सामुदायिक वनको कार्ययोजना परिमार्जनमा सहयोग गर्नु पर्ने, सुशासन अभिवृद्धिकालागि अभियान सञ्चालन गर्नु पर्ने, वन्यजन्तु आतंकको नियन्त्रण गरिनु पर्ने, वन उद्यम विकासका लागि उद्यमीहरुसँग समुदायको हितमा सहकार्य पहल गरिनु पर्ने जस्ता विषयहरु जोडदार रुपमा अधिवेशनका प्रतिनिधिहरुले राखेका थिए ।

उद्घाटन सत्र र वन्दसत्रमा भएका छलफलका आधारका एक प्रतिवद्धता पत्र जारी गरिएको थियो । सो प्रतिवद्धता पत्रमा जिल्ला महासंघले गर्ने काम र अन्य निकायहरुसँगको केही अपेक्षाहरु राखिएको छ । सामुदायिक वन उपभोक्ता समूहका सवालहरु सम्वोधनका लागि नियमित अभियान सञ्चालनकालागि हामि प्रतिवद्ध रहेको उल्लेख गरेको छ । सवाल सम्वोधनकालागि सम्वन्धीत पक्षसँग आग्रह गर्दै सवै सरोकारवालासँग अभियानमा सहकार्यका लागि अपिल गरेको छ ।

अवको सामुदायिक वनको नयाँ गन्तव्य ‘सुशासन सहितको वन स्रोतको दिगो व्यवस्थापन मार्फत उपभोक्ताको समृद्धि’ केन्द्रीत वनाउन हामी दोलखाका सामुदायिक वनका प्रतिनिधि र जिल्ला महासंघ प्रतिवद्धता जनाएको छ ।
दोलखामा रहेका सवै सामुदायिक वन उपभोक्ता समूहहरुले नियमित साधारण सभा, समितिको वैठक, विपन्नमुखी कार्यक्रम, वनको दिगो व्यवस्थापनमा लगायतका सुशासन विविध पक्षमा सुदृढ पार्न आव्हान गर्दै यस कार्यमा सहजिकरण गर्न जिल्ला महासंघ प्रतिवद्ध देखाएको छ ।

वन स्रोतमा आधारित उद्यम विकासमा स्थानीय सरकार, उद्यमी र सरोकारवालाहरुसँग सहकार्य तथा सहजिकरणका लागि हार्दिक अपिल गरेको छ । सामुदायिक वनमा लगाउँदै आएको तेहेरो करको खारेजको माग गरेको छ । त्यसै गरी यस जिल्लामा रहेका सामुदायिक वनका सवालहरुलाई राष्ट्रियकरण गरी सम्वोधनकालागि अभियान सञ्चालन गर्न फेकोफनका माथिल्लो संरचनाहरुलाई आग्रह गरेको छ ।
दोलखाको धेरै भुभाग गौरीशंकर संरक्षण क्षेत्रमा पारिएको छ ।

संरक्षण क्षेत्रको घोषणाको प्रकृया देखि नैं महासंघले असहमती जनाउँदै आएको थियो । अहिले विगु गाउँपालिकाले संरक्षण क्षेत्र फिर्ता गर्न माग गरिरहेको सन्दर्भमा सो निर्णयको समर्थन गर्दै संमुदायको खोसीएको अधिकार सुरक्षित गर्न संरक्षण क्षेत्र फिर्ताको माग गरेको छ । वन्यजन्तुको वृद्धिसँगै मानवसँग द्वन्द्व सिर्जना भएकोले सो सम्वोधनकालागि नीति तथा कानून व्यवस्था गरी आवश्यक कार्य गर्न तिनैं तहका सरकार तथा नीति निर्मातासँग पहल गर्न हार्दिक अनुरोध गरिएको छ ।

वन क्षेत्रसँग सम्वन्धीत विभिन्न कानूनहरु एकआपसमा वाझिएकोले सामुदायिक केन्द्रीत सोचका साथ एकरुपता ल्याउन सम्वन्धी पक्षसँग आग्रह गर्दै स्थानीय सरकार र सामुदायिक वन विच सहअतित्वको आधारमा समन्वय र सहकार्य गर्न सामुदायिक वन तत्पर रहेको जनाएको छ । यसका लागि हरेक पालिकामा वन शाखा स्थापना गरी समुदायको घरदैलो नजिकको सरकारवाट सामुदायिक वनलाई आवश्यक पर्ने सेवा प्रवाह गर्न हार्दिक आग्रह गरेको छ ।

सामुदायिक वनको सिकाईलाई विस्तार गर्ने र परेको कठिनाईमा छाता बनेर संरक्षण गर्ने सोचका साथ स्थापना भएको सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको दोलखाको सातौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशन सम्पन्न गर्नु एक अनिवार्य प्रकृया हो । सामुदायिक वनका सवालमा अभियान छेड्नु त्यो भन्दा महत्वपूर्ण कार्य हो । सामुदायिक वनका सवालमा अभियान सञ्चालन गर्न दोलखा फेकोफनको नयाँ टिमलाई सफलता मिलोस् । शुभकामना ।(तामाकोशीसन्देशबाट)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *