बुढेसकालको विवाहले अदालतको बास

राजनीति समाचार

काठमाडौं । कोही पुरुषले पहिलो श्रीमती छँदै दोश्रो विवाह गरेको खण्डमा उ सिधै जेल जान्छ तर महिलाको हकमा त्यस्तो लागू भएको देखिदैन । एकै पटक तीन पुरुषसँग सम्बन्धमा रहेर बुवा समानका वयोवृद्धलाई मर्नु न बाँच्नुको अवस्थामा पु¥याउने महिलामाथि कुनै कारवाही होइन बरु उल्टै सरकारी सेवामा रमाइरहेकी छिन् । विवाहजस्तो पवित्र कर्मलाई समेत पैसासँग जोड्ने र पैसाका लागि सम्बन्ध तोड्ने ती महिला कर्मचारीले कस्तो सेवा दिन्छिन् होला सेवाग्राहीलाई चासोको बिषय बनेको छ ।

अहिले जोड्न खोजिएको प्रंसग हो,भीमलाल लामिछानेको जो ०६६ सालमै उपसचिव पदबाट रिटायर्ड भए । पोखरा मूल घर भएका लामिछाने तीन छोरा र दुई छोरीका पिता, जेठी श्रीमती बाउँठिएर हिँडेपछि एक्लो जीवन बाँचिरहेका थिए,१७ बर्षसम्म । उनलाई चिन्ने र जान्नेहरुका अनुसार, भीमलालको जेठी श्रीमती ०५० सालमै अंश लिएर अलग भइसकेकी थिइन । ०६३ साल साउनबाट कानुनी रूपमै पूणर्विराम लगाएका भीमलालका साथमा थिएनन्,छोरा–बुहारी पनि ।

बुढेसकालमा गाह्रो–साह्रो पर्दा, बिरामी हुँदा कोही साथै भइदिए त हुन्थ्यो भन्ने लाग्थ्यो । यस्तैमा कास्कीकै संविधानसभा सदस्य शारदा पौडेलहरुको जोडबलमा कल्पना डौलियासँग ०६६ मंसिर ३० गते विवाह बन्धनमा बाधिए । विवाह गराइदिए वापत संविधानसभा सदस्य शारदाले २ लाख मागिन् भीमलालसँग । एउटा रिटायर्ड कर्मचारी, पहिला श्रीमती अलग्गिएर आधा अंश खर्लप्प लगिसकेका कारण उनले शारदाले मागे जति रकम दिन सकेनन् अनि शुरु भयो खेलोफड्को र मनमुटाव ।

कल्पनाकै जोडबलमा विवाह गरेको ४ महिना पछि अर्थात ०६६ चैत ९ मा विवाह दर्ता भयो । । विवाह दर्ता गरेको केही महिनापछि घरबाट रातारात हराइन् कल्पना । खोजी गर्दा फेला परिन् टीकाराम न्यौपानेसँग । १५ दिन छानबिनका लागि हिरासतमा राखी सरकारी वकिलमार्फत चितवनका प्रमुख जिल्ला अधिकारीले जरिवाना गराएर मुद्दा टुंग्याए । चार महिनापछि ०६७ साउन १२ गते भरतपुर नगरपालिकामा कल्पनाले उजुरी दिइन् टिकारामविरुद्ध । ०६७ साउन १२ गते कार्यकारी अधिकृतलाई सम्बोधन गरी कल्पनाले लेखेको पत्रमा भनिएको छ– म टीकाराम न्यौपानेको कान्छी श्रीमती हुँ । दमौलीमा बस्छु । श्रीमानले खान दिएनन् । श्रीमानलाई झिकाएर छलफल गराइपाऊँ ।

भोलिपल्टै कल्पना र टीकाराम दुबै पक्षलाई झिकाएर छलफल चल्यो । ६ लाख ५० हजार लिएर दोस्रा पति टीकाराम न्यौपानेसँग मिलेर बस्ने भन्ने निणर्य माइन्युट बुकमा सही गराएको प्रमाण हामीसँग सुरक्षित छ । यसरी एउटा पतीसँग हुँदाहुँदै फेरि अर्काे पुरुषसँग लागेको भेटिएपछि भीमलालको मन कुडियो । उल्टै ०६९ साल माघ १४ मा कल्पनाले भीमलालविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ज गरिन्, सम्बन्धविच्छेद र माना चामलको । जिल्ला अदालतले मुद्दा सदर ग¥यो ।

एउटै महिलाले तीन ठाउँमा विवाह गरेको, विवाह गरेको केही समयपछि नै अदालतमा मुद्दा मामिला गरी अंश माग्ने गरेको प्रमाण पेश गर्दा पनि चेलीका आँशु हेरेर श्रीमानले फैसला सुनाए । आफूमाथि अन्याय भएपछि प्रमाणहरू भेला पारेर भीमलाल पुनरावेदनका लागि उच्च अदालतको शरणमा पुगे । त्यहाँ कल्पनाको नियतमै खोट रहेको,आफूसँग वैवाहिक सम्बन्ध कायमै रहँदा टीकारामसँग कान्छी श्रीमतीकै रूपमा रहेको भरतपुर नगरपालिकाको ०६७ माघ १३ को माइन्युट पेश गरेका थिए, भीमलालले ।

न्यायाधीश नरबहादुर शाहीले ०७५ जेठ १६ गते फैसला सुनाए, वादी भीमलाल लामिछाने र प्रतिवादी कल्पना लामिछानेबीच श्रीमान श्रीमतीको नातासम्बन्ध कायम रहन नसक्ने हुँदा शुरुको फैसला उल्टी बादीको फिराद दाबीबमोजिम विवाह बदर हुने । यो प्रकरणपछि कल्पना सर्वाेच्चमा पुगिन भीमलालविरुद्ध मुद्धा बोकेर । अहिले सर्वाेच्चमा विचाराधिन छ यो मुद्धा । उनै कल्पनासँग विवाह बन्धनमा बाधिएपछि जीवनभर अड्डा–अदालत नचारेहका उनी ७७ बर्षको बूढेसकालमा अड्डा अदालतको ढोका चहार्न बाध्य छन् ।

पछिल्लो ११ वर्षदेखि अड्डा–अदालतका ढोका चहार्दैमा कष्टसँग बितेका छन्, उनका दैनिकी । कल्पनाको कर्म रहेछ,अलि पैसावाल केटा फेला पारेपछि ऊसँग विवाह गरिहाल्ने । केही महिनापछि विवाह दर्ता गर्ने, अनि विवाह दर्ता गरेको एकाध महिनापछि निहुँ खोजेर सम्बन्धविच्छेद गर्ने र आधा सम्पत्ति माग्ने । यो कुनै कोरा आरोप हैन, तथ्यहरूले यस्तै बोल्छ । कल्पनाको पहिलो विवाह भएको रहेछ लमजुङका खुशीराम डौलियासँग । तर यो बीचमा दोश्रो विवाह गरी अदालतमा मुद्दा चलिरहेकै बेला शारदाहरूको साथमा भीमलालसँग तेश्रो विवाह गराइएको रहस्य खुल्यो ।

पहिलो पति खुशीराम डौलियासँग ०६३÷४÷२६ मा सम्वन्धविच्छेद भएको अदालतका फाइल खोतल्दा भेटिन्छ । तीन वर्ष व्यतित नहुँदै ६६ असार १७ मा चितवन भरतपुर नगरपालिका ९, शरदपुरका टीकाराम न्यौपानेसँग दोश्रो विवाह भएको रहेछ । टीकारामसँग विवाह भएको ४ महिना नबित्दै अदालत पुगेकी रहिछन् । चितवन जिल्ला अदालतमा ०६६ कार्तिक १३ मा आवश्यक रकम लिएर मिलेर बस्ने भनी मिलापत्रसमेत भएको अभिलेख र कागजातले बोल्छ । दोस्रो पतिसँग मिलापत्र भएको र सम्बन्धविच्छेद नै नभएको अवस्थामा फेरि भीमलालसँग विवाह गर्न भ्याएकी हुन् कल्पनाले । दोश्रो पति टीकारामसँग अदालतबाट मेलमिलाप भएको एक महिना नबित्दै २०६६ मंसिर ३० गते भीमलालसँग विवाहभएको भेटिन्छ ।

सरकारी अभिलेखमा भेटिएअनुसार कल्पनाका पहिलो पति खुशीराम डौलिया, दोश्रो टीकाराम न्यौपाने र तेश्रो भीमलाल हुन् । तनहुँका मानबहादुर दरै, काठमाडौंका रामबहादुर मुल्मीसँग विवाहको अभिलेख त पाइँदैन् तर उनीहरूबाट जग्गाको राजीनामा आफ्नो नाममा पास गराएको भेटिएको छ । कल्पना पेशाले सरकारी कर्मचारी ।

अहिले चितवन महानगरपालिका अन्तरगत रत्ननगरमा अस्पतालको जागिरे छिन्, अनमी पदमा । के निजामती सेवा नियमावली पुरुषको हकमा मात्र आकर्षित हुने हो ? महिलाको हकमा निजामती सेवा नियामवीले काम गर्दैनन् ? एक जना पुरुषले पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद नगरी दोश्रो विवाह गरे,उसको हातमा हतकडी लाग्दछ तर महिलाले एकै समयमा अलग अलग व्यक्तिसँग विवाह गरी दुवैलाई अदालतमा मुद्दा दिई अंश माग्ने अनमीमाथि निजामती सेवा नियमावली २०५० को नियम १२० तथा मुलुकी ऐन बिहावारी महलको दफा १० आकर्षित हुँदैन ?(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *