कर्मचारी युनियनका नेता नै असुली धन्दामा

राजनीति समाचार

काठमाडौं । निजामती सेवामा ३० बर्ष समय बिताएर अहिले रिटायर्ड जीवन बिताइरहेका सचिव भन्दछन्,‘यो देश सुखले अर्थात सुब्बा र खरदारले चलाएका छन ।’ सुब्बा र खरिदारको पावर यस्तोसम्म छ कि तिनले संघीय राजधानी सिंहदरबारका मन्त्रालयदेखि स्थानीय तहसम्म हल्लाइदिनसक्छन् । फ्रन्ट लाइनमा काम गर्ने कर्मचारी हुन सुब्बा,खरिदार ।

सहसचिव,सचिवदेखि मन्त्री,विचौलियासम्मलाई कमिसन र घुस असुलेर बुझाउनेमा पनि तिनै पर्दछन् । त्यही कारण त अख्तियारले सबैभन्दा बढी घुस्याहा कर्मचारीको रुपमा चिन्दछ,खरिदार र सुब्बालाई । त्यस्तैमध्येका एक सुब्बा अस्ति फन्दामा परे,रसुवा भन्सारबाट । नक्कली प्रज्ञापन पत्र बनाएर राजश्व छली धन्दामा अग्रसर रहँदै आएका नासु इन्दु शर्मा फन्दामा परेका हुन । उनी काँग्रेस निकट कर्मचारी युनियनका नेता ।

उपमहासचिव पदमा कार्यरत,यस अघि भैरहवा भन्सारमा दुई बर्ष बसेका र त्यहाँबाट सिधै रसुवा भन्सारमा पुगेका । प्रशासन सेवाबाट निजामतीमा पाइला राखेका उनले सेवा परिवर्तन गरी राजश्व समूहतिर फड्को मारे यता कहिल्यै कमाइ नहुने अड्डामा बस्नु परेन । काँग्रेस निकट कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलदेखि उपाध्यक्ष उत्तम कटवालहरुको छत्रछाँया पाएर उनी रसुवा भन्सारमा पुगेका थिए । कोभिडपछि लामो समयसम्म रसुवा नाका बन्द थियो ।

गत महिनामात्र चीनले रसुवातर्फको नाका खुलायो । त्यही कार्यालयमा बसेर राजस्व संकलनमा राज्यलाई योगदान दिनुपर्ने सुब्बा साब उल्टै व्यापारी र तस्करसँगको मिलेर राजस्व छली गर्ने क्रममा संग्लग्न रहेको भेटिएपछि भन्सार विभागले एक्सन लिएर विभागीय कारवाही ठोकेको छ । चीनबाट भित्रिने महँगा ब्रान्डेड मालवस्तुलाई सस्तो देखाएर व्यापारी र भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा करोडौं राजस्व चुहावट भइरहेको गुनासो बढेपछि भन्सार विभागले हालै गरेको छड्के जाँचमा स–प्रमाण बदमासी भेटिएको हो ।

प्रमाणसहित बदमासी भेटिएपछि भन्सार विभागका डिजी सरुवा भएर संष्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्रालयमा जानु अघि रसुवा भन्सार कार्यालयका अधिकृत बलराम भण्डारी र नायबसुब्बा इन्दु शर्मालाई विभागीय कारवाही ठोकेको थियो । भन्सार विभाग स्रोतका अनुसार,वैशाख २१ गते प्रज्ञापनपत्र नम्बर १८९१ र १८८९ बाट बा २ ख १७९३ र ना ६ ख ५२७२ का दुई कन्टेनर सिगरेर भन्सारबाट छुटेका थिए । अवैधरुपमा महँगा चिनियाँ रक्सीसमेत लुकाएर नेपाल छिराइएका ती कन्टेनरमा छ सय बोरा ब्रान्डेड कस्मेटिक सामाग्रीले भरिएका थिए ।

तर, बालबालिकाको जुत्ता–कपडा ल्याइएको प्रज्ञापन बनाई न्यून राजस्व तिरेर छुटाइएका ती कन्टेनर भन्सार बिन्दुबाट १७ किलोमिटर वर स्याफ्रुबेसी आइपुग्दा विभागको टोली रसुवा आउँदै गरेको सूचना पुग्यो । त्यसपछि चोरबाटो हुँदै रातारात दुबै कन्टेनरलाई पुनः भन्सार यार्डमा छिराइयो । स्रोतका अनुसार विभागको टोली पुग्दा तस्कर, प्रहरी र भन्सार कार्यालयको मिलेमतोमा सिलबन्दी गाडीबाट आधा (३०० बोरा) सामान निकालेर अन्यत्र लुकाइएको थियो । तर, विभागको टोलीले सिसिटिभी फुटेजका आधारमा थप अनुसन्धान गर्दा ती कन्टेनरबाट निकालिएका मालसामान अरु गाडीमा लुकाइएको तथ्य खुलेको हो ।

त्यसपछि सामान लुकाइएको गाडीसमेत समातिनुपर्ने निष्कर्ष निकालेको विभागको टोली रसुवागढी भन्सार कार्यालयका प्रमुख र त्यसमा संलग्न कर्मचारीमाथि कारबाही ठोकेको हो । निजामती कर्मचारी युनियनका पदाधिकारीहरुका अनुसार,अध्यक्ष गोपाल पोखरेल,उपाध्यक्ष उत्तम कटवाल लगायतले कर्मचारी र एजेण्ट अगाडि सारेर रकम असुली गर्ने धन्दा नै चलाएका थिए ।

गोपालका लागि अर्थ,उत्तमका लागि गृह,सामान्य र महालेखा, यज्ञको काँधमा सामान्य प्रशासन र बाग्मती प्रदेशका कर्मचारीको सरुवाको र अर्का युवा सचिव भुपेन्द्रले श्रम मन्त्रालयमातहतका निकायमा काँग्रेसी कर्मचारी सरुवा गर्ने र उनीहरुबाट मासिक रुपमा द्रव्य असुली गर्ने धन्दा नै चलाइरहेका छन् । यो धन्दा भोला पोखरेल,मोहन घिमिरेहरुले समेत चलाइरहेका छन् । नासु,खरिदार तहका कर्मचारीहरुको खटन पटन गर्ने र उनीहरुबाटै मासिक असुली धन्दा चलाउनेमा पर्दछन् ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *