लौ पढ्नुहोस् कर्मचारीहरुको राष्ट्र सेवा

राजनीति समाचार

तामाकोशी संवाददाता
काठमाडौं । जब नयाँ सरकार बन्छ अनि कर्मचारी सरुवा बुढा गर्ने खेल सुरु हुन्छ । त्यसपछि मन्त्रीहरुले आफू निकटका कर्मचारी खोजेर आ–आफ्नो मन्त्रालय अन्तर्गत पर्ने विभाग र कार्यालयमा लाने गर्दछन् । उनीहरुले आफू निकटका कर्मचार खोजेर लगे तापनि ती कर्मचारीहरुबाट मन्त्रीहरुले सहयोग पाउने गरेका छैनन् । किन भने आफूलाई सहयोग हुन्छ भनेर नयाँ मन्त्री आउने बित्तिकै हरेक मन्त्रलयमा आफू निकटका कर्मचारीहरु खोजीखोजी ल्याउने गरिन्छ ।

तर, तिनै कर्मचारीहरुले मन्त्री र सरकारलाई सहयोग गर्नुको साटो पदीय दुरुपयोग गरी हुनेनहुने फाइलमा सही गर्न लगाएर फसाउने गरेका उदाहरणहरु पछिल्लो समय छताछुल्ल भएका छन् । अहिले सरकार बनेको पनि ५ महिना पुग्न लागिसकेको छ । तर, अझै पनि भागबन्डकै कारण मन्त्रिमन्डलले पूर्णता पाउन सकेको छैन । यसरी पाँचपाँच महिनासम्म मन्त्रालय मन्त्रीबिहीन भएपछि त्यहाँ उच्चदेखि तल्लो तहसम्मका कर्मचारीहरुको हालमुहाली चल्ने गरेको छ । मन्त्री नभएपछि काम ठप्प हुने भएकाले कर्मचारीहरु पनि कार्यालयमा कम उपस्थित हुने गरेका छन् । अहिले कतिपय कर्मचारी अफिस नै नआउने आइहाले पनि हाजिर गरेर आफ्नो व्यक्तिगत काममा निस्कने गर्दछन् । सेवाग्राहीहरु काम लिएर जाँदा सम्बन्धित फाँटमा कर्मचारी नै भेटिँदैनन् ।

भेटिइहाले तापनि फलानो सर हुनुहुन्न, मन्त्रलय अथवा विभागमा मिटिङ छ, आज आउने नआउने टुंगो छैन । त्यस कारण तपाईं भोलि अथवा पर्सी मात्रै आउनुहोस् भनेर टार्ने गरिन्छ । तर, यस्ता मन्त्रालय, विभाग र कार्यालयहरुमा कर्मचारीहरु समयमा आफ्नो कार्यकक्षमा छन् कि छैनन् भनेर न त मन्त्रीले अनुगमन गरेका छन् न त सम्बन्धित निकायले नै अनुगमन गर्दछ । यसरी कर्मचारीहरुलाई कसैको डर नभएपछि उनीहरु आफ्नो कार्यकक्षमा उपस्थित नभई जागिर पकाउने काम गरिराखेका छन् । ती कर्मचारीहरु आफ्नो कार्यकक्षमा नबसे पनि महिना मरेपछि आफ्नो खातामा तलब जम्मा भइहाल्छ ।

कर्मचारी अफिस पुगिहाले तापनि टेलिफोन घुमाउने, कार्यकक्षमै टिकट बनाउने, आफ्नो छोराछोरीलाई कुन स्कुल, कलेज पढाउनुभएको छ, अहिले कतिमा पढ्छ ? फिस कति लाग्छ, कुन देश पठाउने भनेर छलफल गर्ने, हाम्रो यस्तो छ, उस्तो छ भन्दै गफ गर्ने गरेर खासगरी महिला कर्मचारीले दिन बिताउने गरेको पाइन्छ । उता पुरुष कर्मचारीहरु भने नातागोता, श्रीमती, दिदीबहिनी, सालासाली र आसेपासेलाई जागिर खुवाउने, सरुवा, बढुवा गर्ने, सवारी साधनदेखि तेलको कुपन वितरण गर्ने, बिदाका दिन सरकारी गाडी प्रयोग गर्नको लागि अफिसको काम देखाएर पास बनाउने ।

त्यो पास देखाएर मठमन्दिर तथा भोजभतेर र व्यक्तिगत भेटघाटमा जाने जस्ता काम गर्दै आएका छन् । त्यस्तै विभिन्न बहाना बनाएर स्वदेश तथा विदेश भ्रमणमा पनि निस्किएकै छन् । जागिरे अवधिभरि विभिन्न सेवा, सुविधा लिएकै छन् । विभिन्न राजनीतिक दल निकट कर्मचारी युनियन खोलेर राजनीति पनि गरेकै छन् । आफ्नै सेवा, सुविधा बढाउनको लागि भाषण ठोकेकै छन् । मालदार ठाउँमा सरुवा हुनको लागि मन्त्री तथा नेताको घरमा धाएकै छन् । सेवाग्राहीलाई यो मिलेन, ऊ मिलेन भनेर दुःख दिएकै छन् ।

विकास निर्माणको नाममा भ्रष्टाचार गरेकै छन् । सेवाग्राहीबाट घुस पनि लिएकै छन् । मन्त्री, राजनीतिक दलका नेता र कर्मचारीका यी र यस्ता क्रियाकलापले गर्दा मुलुक दिनप्रतिदिन धरासायी बन्दै गएको छ । त्यसप्रति कुनै सम्बन्धित निकायले ध्यान दिएको छैन । उल्टै सरकारको उच्च निकायमा बस्नेहरु नै भ्रष्टाचारका ठूला–ठूला काण्ड गराउनेदेखि विकृति, विसंगतिमा निर्लिप्त भएर बसेका छन् ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *