नेपालमा आर्थिक मन्दीसँगै पर्यटन क्षेत्र पनि सुनसान

राजनीति समाचार

सावित्री खत्री
काठमाडौं । नेपालमा अहिले आर्थिक मन्दीमा केही सुधार भएको अर्थविदहरुको भनाइ छ । त्योसँगै सरकारले पनि आर्थिक मन्दीको विषयलाई लिएर आत्तिहाल्नुपर्ने अवस्था छैन भनिरहेको छ । सरकारले त्यसो भनिरहँदा बैंकहरुले ब्याजदर घटाएर सहुलियतमा ऋण प्रवाह गर्न सुरु गरेका छन् । तर, अहिले बजारको अवस्था हेर्दा भने सबैतिर नाजुकजस्तै देखिन्छ । पर्यटन उद्योग भनेर चिनिने क्षेत्र काठमाडौंको ठमेल, पोखराको लेकसाइड, भक्तपुरको दरबार स्क्वाएर, लुम्बिनीको गौतम बुद्ध जन्मस्थान हुन् ।

त्यसैगरी सोलुखुम्बुको नाम्चेबजार, मुस्ताङको मुक्तिनाथ, सिन्धुपाल्चोकको हेलम्बु, दोलखाको जिरी, कालिन्चोक, छोरोल्पा ताललगायत विभिन्न जिल्लामा रहेका पुरातात्विक र ऐतिहासिक क्षेत्रलाई पर्यटन उद्योगको रुपमा लिइन्छ । तर, यी र यस्ता महत्वपूर्ण ठाउँहरु अहिले गुमनाम र सुनसान जस्तै भएका छन् । यस्ता महत्वपूर्ण पर्यटकीय क्षेत्रहरु रुग्ण हुनुमा राजनीतिक दल, सुरक्षा निकाय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लापरबाही मुख्य हो ।

यस्ता पर्यटकीय क्षेत्रहरुमा केही छिटफुट पर्यटकको आगमन भए तापनि जति हुनुपर्ने हो त्यो हुन सकेको छैन । पर्यटकीय क्षेत्र आसपासमा खोलिएका होटेल, रेष्टुरेन्टहरु प्रायःजसो बन्द अवस्थामा छन् । कतिपय ती होटेल, रेष्टुरेन्टमा काम गर्ने मजदूरहरु भने रोजीरोटीबाट बिमुख हुनुपरेको छ । यस्ता पर्यटकीय क्षेत्रभित्र बाटोमा खोलिएका होटेल, रेष्टुरेन्ट सञ्चालकले मजदूरलाई तलब दिन नसकेर पनि होटल बन्द हुने गरेका छन् । यस्तो महत्वपूर्ण पर्यटकीय क्षेत्रमा खोलिएका होटेलहरु नचल्नु अथवा बन्द हुनुमा सम्बन्धित निकायसँगै सञ्चालकहरुको पनि हात छ । किन भने होटेल, लज र रेष्टुरेन्टमा आउने पाहुनाको जीवन रक्षा र खाने, बस्नेको उचित व्यवस्था, उचित मूल्य दर हुनुपर्ने हो ।

त्यो व्यवस्थापन नहुँदा झु्क्किएर पर्यटकहरु आइहाले पनि फेरि फर्केर ती ठाउँमा जाने गरेको पाइँदैन । पर्यटकहरुलाई शान्ति सुरक्षा र खानबस्नेको लागि सुविधाजनक होटेल, लज, रेष्टुरेन्टसँगै राम्रो व्यवहार हुनुपर्ने हो । तर, नेपालका पर्यकीय क्षेत्र आसपास खोलिएका अधिकांश होटेल, रेष्टुरेन्टहरुमा सरकारले निश्चित मूल्य नतोकेको र सञ्चालकहरुले आफूखुसी मूल्य राखी पर्यटकहरु ठग्ने गरेका गुनासाहरु प्रशस्तै छन् ।

नेपालको पर्यटन क्षेत्रमा सबैतिर जोखिमैजोखिम देखिएपछि स्वदेशी तथा विदेशी पर्यटकहरु निर्धक्कसँगै सो क्षेत्रमा घुमफिरको लागि जान हिचकिचाउने गरेका छन् । त्यसकारणले पनि अहिले नेपालमा आर्थिक मन्दी छाएसँगै पर्यटन क्षेत्र पनि डामाडोल हुन पुगेको हो । त्यसो हुनुमा यस क्षेत्रमा अधिकांश विचौलियाहरु घुसेपछि नेपालको पर्यटन क्षेत्र बदनाम हुँदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *