मुलुक सञ्चालनमा दुई खाले खेलाडीहरु प्रत्यक्ष देखिन्छन् । एक जनप्रतिनिधि नेता अर्को स्थायी सरकार भनिने कर्मचारी संयन्त्र । नागरिकको अवस्था नेतालाई थाहा हुन्छ, कर्मचारीहरु विषयगत जानकार हुन्छन् । नेताहरु जनमतबाट आएका हुन्छन् कर्मचारी विषयगत योग्यताबाट आउँछन् । यी दुई खेलाडी विचको समन्वयात्मक सहकार्यले मात्र मुलुक वन्न सक्छ । तर दुवैले आफ्नो भूमिका विर्सेर अर्कोलाई दोष मात्र दिने गरेको पाइन्छ । नेताहरु कर्मचारीको कारणले देश बनेन भन्दछन् कर्मचारीहरु भने नेताको कारण मुलुक विग्रीयो भनेको सुनिन्छ । यस सम्वन्धमा चर्चा गर्नु पूर्व एक कथा पढौं ।
एक बृद्ध “बा” लाई आफ्नी श्रीमतीले कान नसुनेकोमा चिन्ता लागेछ । बा डाक्टरको गए, पिर सुनाए । डाक्टरले सोधे ‘विरामी खै ?’ ‘घरका कस्ले काम गर्छ नी ?’ उल्टो प्रश्न गरे । श्रीमती मेरी हुन्, कान सुन्दिनन् । औषधी दिनुस् भनी ढिपि गरे । रोगको कारण थाहा नभई औषधी दिन मिल्ने कुरो भएन । विरामी ल्याउनुस् भन्दा मान्दै मानेनन् । अनी वाध्य भएर डाक्टरले एक उपाए सुझाए । “बा घर गएर २५ मिटर जती टाढावाट तपाईको श्रीमतीलाई वोलाउनुुहोस्, सुन्नु भयो भने आउनुस्, सुन्नु भएन भने विस्तारै दूरी घटाउँदै वोलाउनुहोस् । अनी आउनुहोला । औषधी दिउँला ।”
बा खुसी हुँदै घर गए । अनुमानीत २५ मिटर टाढाबाट “ए वुढी, भरे तरकारी के पकाउने ?” भने । कुनै उत्तर आएन । डाक्टरले भने जस्तै दूरी घटाउँदै प्रश्न गरे । उत्तर पाएनन् । बालाई रिस उठेछ कान कैं छेउमा गएर चिच्याउँदै त्यही प्रश्न गरे । वुढी आमाले चिच्याउँदै “असत्ती वुढा ५ चोटी भनी सकें, तरकारी नपकाउने खिर खाने भनेर कानको उपचार गराउनुनी” भनिन् ।
उपचार कस्को जरुरी रहेछ, कथामा प्रष्ट छ । कान नसुन्ने ‘बा’ तर उपचार गर्न खोज्दैछन् श्रीमतीको । हाम्रा नेता र कर्मचारी पनि बा कैं हालतका छन् । कमजोरी आफुसँग भएको वास्ता नैं छैन अर्काको उपचार गर्न खोजी रहेका छन् ।
जनप्रतिनिधि नेताहरुले नीति वनाउने, कर्मचारीले कार्यान्वयन गर्ने हो । कर्मचारीले कानून फेर्ने, वनाउने, हटाउने कुरा सोच्दैनन् उस्ले त कानून भित्र रहेर प्राप्त जिम्मेवारी सम्पादन गर्ने हो । नेताले दिर्घकालिन सोच्ने हो । नीति नियम सहि छ भने कार्यान्वयनकालागि वातावरण तयार गर्ने हो । नीति नियम ठिक छैन भने संशोधन गर्ने, कानून वनेका छैन भने वनाउने हो । त्यसैले भन्ने गरिन्छ ‘कर्मचारी भनेका कुखुरा हुन् नेता भनेका चिल हुन्’ कुखुराले नजिकको र तत्कालको विषय हेर्छ भने चिलले आकाशवाट चारैतिर नजर राख्दछ । कर्मचारीले ठिकढँगले काम गर्ने हो नेताले ठिक काम गर्ने हो ।
कर्मचारी प्रकृया प्रधान हुनुपर्दछ तर नेता नीति प्रधान हुनुपर्दछ । तर यी दुवैको भूमिका महत्वपूर्ण हुन्छ । नेता र कर्मचारी दुवै नभई नहुने पक्ष हुन् । पछिल्लो अवधीमा हेर्ने हो भने उल्टो भूमिका देखिन्छ । नेताहरु कर्मचारी जस्ता देखिए अनी कर्मचारी चाँही नेताको जस्तो भूमिका निर्वाह गरिरहेका छन् ।
जननिर्वाचित नेताहरुले कर्मचारी वढुवा र सरुवामा ध्यान दिन थालेका छन् । योजना तर्जुमा भन्दा सञ्चालनमा चासो दिने गर्दछन् । यी काम कर्मचारीले गर्नु पर्ने हो । नेताहरुले त आफ्नो पदिय जिम्मेवारी अनुसार वहिंगम दृष्टिकोण सहितको दिर्घकालिन योजना वनाउनु पर्ने हो । त्यो योजना कार्यान्वयनको लागि कानून तर्जुमा सम्वन्धी काम गर्नु पर्ने हो । आफ्नो तहको वार्षिक कार्यक्रम र वजेट वनाउने काममा लाग्नु पर्ने हो ।
स्थानीय तहका सन्दर्भमा चर्चा गर्ने हो भने वस्ती वा टोलस्तरमा परामर्श गरी योजना छनौट गर्ने, प्राथमिकिकरण गर्ने, सो अनुसार वार्षिक रुपमा नीति तथा कार्यक्रम वनाउने, पालिकासभामा पेश गर्ने, छलफल गर्ने, सो को आधारमा बार्षिक वजेट वनाउने, पालिकासभामा पेश गरी छलफल गर्ने, सो अनुसार कार्यान्वयनका लागि कर्मचारीहरु परिचालन गर्नु पर्ने हो ।
तर यस्ता काममा कर्मचारीहरु वढि क्रियाशिल भएको पाइन्छ । स्थानीय तहमा वन्ने नीति तथा कार्यक्रमहरु कर्मचारीले तयार गर्दछन् त्यो वाचन जनप्रतिनिधिबाट गराउँछन् । हरेक वर्षको असार १० गते भित्र हरेक पालिकाले आफ्नो वार्षिक वजेट वनाइसक्नु पर्ने वाध्यता छ । त्यहीलाई आधार मान्दै ९ गते नीति तथा कार्यक्रम पालिकासभामा पेश र पास गराइन्छ ।
त्यसको आधारमा वजेट बनाउनु पर्ने त्यो पनि पहिल्यै कर्मचारीले तयार गरेका हुन्छन् । १० गते त्यो जनप्रतिनिधिबाट वाचन गराइन्छ । कर्मकाण्ड पूरा गरिन्छ । यो भूमिकामा कर्मचारी धेरै सकृय हुन्छन् तर नेता देखिन्छन् मात्रै । त्यसैले निर्वाचनमा मतदातासामु प्रस्तुत गरेको प्रतिवद्धतामा धेरै केन्द्रीत भएको पाइन्न । यो अवस्था राज्यको तिनवटै तहमा भेटिन्छ । संघीयतह तर्फ हेर्ने हो भने मन्त्रीहरु कर्मचारी सरुवा तिर ध्यान दिन्छन् तर कर्मचारीहरु नीति वनाउन क्रियाशिल हुन्छन् ।
त्यसैले, जनप्रतिनिधिहरुले कर्मचारीको जस्तो काम गरिरहेका छन् अनी कर्मचारी चाँही नेताले गर्ने काम गरिरहेका छन् । दुवै सच्चीनु पर्दछ । नेताले गर्नु पर्ने काम आफैले गर्ने अनी कर्मचारीलाई सुधार्ने जिम्मा पनि नेता कैं हो । कथामा झैं अरुको मात्र उपचार गर्न खोजेर हुँदैन । त्यसैले सुध्रनु पर्ने नेता हो अनी सुधार्नु पर्ने कर्मचारी नैं हो । अहिलैकै पाराले मुलुक बन्दै बन्दैन ।(तामाकोशीसन्देशबाट)