वन उद्यम : उत्पादनमा भन्दा ओसारपसारमा सकस

समाचार

समृद्धिका बारेमा चर्चा धेरै गर्दछौं । तर हाम्रा कामहरु त्यता गएका छैनन् । खाडिमुलकको तेल र चाइनाका सामान बेचेर समृद्धिको सपना देख्दैछौं । अर्थात आयातमुखी व्यापारमा हामी तल्लीन छौं । हामीसँग भएका साधान स्रोत प्रयोग गरेर उत्पादन वढाउने खालका व्यापार गर्ने सोच अनुसारको कर्म गर्नेहरु कमै भेटिन्छन् । तर उत्पादनमुखी व्यापारलाई व्यवहारमा प्रयोग गर्ने उद्यमी हुँदै नभएका भने होइनन् । यद्यपी यो संख्या अति नैं थोरै छन् भन्दा फरक पर्दैन ।
उद्यमी बनाउने हैन बन्ने हो
भीमेश्वर नगरपालिका वडा नं. ८ वोच निवासी हस्तवहादुर भुजेल वनजन्य उद्यमी हुनुहुन्छ । २३ वर्षको उमेर हुँदा २०३५ सालमा नैं फर्निचर उद्योग खोलेर उत्पादनमुखी काम थाल्नु भएको रहेछ । यो काममा ४५ वर्षदेखि निरन्तर क्रियाशिल भैरहनु भएको छ । आफ्ना सन्तानलाई पनि उद्यमशिल बाटोमा हिडाउन कोशिस गर्नु भयो । नभन्दै पाँचै छोराहरुले फर्निचर उद्योग, होटल जस्ता अलगअलग व्यबसायहरुमा हाँकिरहेका छन् । उहाँ आफैं नेतृत्वकर्ता पनि हुनुहुन्छ । गाउँको अगुवा हो त्यसैले एक पटक उपप्रधानपञ्च पनि हुनु भएको थियो । पटक पटक जनप्रतिनिधि भूमिका निर्वाह गरिसक्नु भएको छ । उहाँले दोलखाका अधिकांश मान्छेका वारेमा जानकारी राख्ने गर्नु हुन्छ ।
उद्यम जागिर हैन, महिना सकियो तलब वुझ्न तर अवसर सिर्जना गर्ने पक्कै हो । ६८ बर्षिय भुजेल अहिले ३ वटा उद्योगको प्रोपाइटर हुनुहुन्छ । हस्तकला फर्निचर उद्योग, सेतीदेवी सुगन्धीत तेल उद्योग र हिमालयन अर्गेली लोक्ता प्रशोधन नेपाली कागज उद्योगहरु उहाँ चालु उद्यमहरु हुन् । भुजेलले २०५६ मा व्यवसायलाई विविधिकरण गर्दै हाते कागज निर्माण गर्ने उद्योग सुरु गर्नु भएछ । सुगन्धीत तेल उत्पादन सम्वन्धी उद्योग भने गत वर्षबाट मात्र सुरु गर्नु भएको हो । यी उद्योगहरु स्थापना र सञ्चालनको प्रवाह हेर्दा उहाँमा उत्पादनको हुटहुटी असाध्यै देखिन्छ । असाध्यै जेलिएको झन्झटीलो प्रकृयामा पनि उत्पादन केन्द्रीत काममा अविचलित रुपमा लागिरहनु भएको छ ।
उहाँले कागज उद्योग भीमेश्वर नपा वार्ड नं. ८ वोचमा नैं २ ठाउँमा सञ्चालन गरिरहनु भएको छ । कागज के बाट तयार हुन्छ भन्ने हाम्रो प्रश्नमा ‘कागज त लोक्ता, अर्गेली, वावियो, परालको पनि वन्छ तर धेरै माग चाँही लोक्ताको हुन्छ ।’ उहाँको कागज कारखानामा वर्षको ८ महिना एक दर्जन भन्दा वढि जनाले नियमित काम गर्दछन् । उनीहरुले दिनको रु ८ सय सम्म कमाउने गर्दछन् । यहाँ काम गर्नेहरुले कागजको मोटाइ अनुसारको पारिश्रमिक पाउने गर्दछन् । ५ ग्रामको कागज १ कोरी (२०० पाना) तयार गरियो भने रु ३ सय ८५ पाउनेछन् । ४० ग्रामको १ कोरी तयार गरेमा १ हजार १ सय पारिश्रमिक पाइनेछ । सामाग्रीहरु सवै उद्योगले उपलव्ध गराउने गर्दछ ।
उपज ओसारपसारमा झन्झट
यस उद्योगमा तयार गरेको कागज काठमाडौंमा लगेर वेच्नु पर्दछ । पेपरको वजन अनुसारको मूल्य पनि फरक हुने गर्दछ । ५ ग्रामको कागज १ कोरीको १ हजार २ सय जती मूल्य आउँछ भने ४० ग्रामको १ कोरीको मूल्य ६ हजारको हाराहारी हुन आउँछ रे । २० ग्रामको ३ हजार र ३० ग्रामको ४ हजार ५ सय जतीमा विक्रि हुन्छ ।
कागजको कच्चा पदार्थ सामुदायिक वन र नीजि जग्गाबाट संकलन गरिन्छ । हस्त वहादुर भीतेरी सामुदायिक वनको उपभोक्ता पनि हुनुहुन्छ । उहाँले सामुदायिक वनसँग एक हजार केजी लोक्ता र अर्गेलीको अनुमती लिनु भएको छ । प्रति केजी रु. १० सामुदायिक वनलाई वुझाउनु पर्दछ । त्यसै गरी कच्चा पदार्थ संकलनकोलागि डिभिजन वन कार्यालयबाट अनुमती लिनु पर्दछ । भ्याट वापतको १३ प्रतिशत र प्रदेश सरकारलाई २ प्रतिशत शुल्क वुझाउन पर्ने कुरा उद्यमी हस्तवहादुरले वताउनु हुन्छ । कागज तयार भए पछि पनि वन कार्यालयबाट अनुमती र छोडपुर्जी लिनु पर्दछ । वन कर्मचारीले स्थलगत निरिक्षण गरी गाडीमा सिल गरे पछि मात्र काठमाडौं लैजान पाइन्छ । काठमाडौंमा विक्रि गर्नका लागि केही कोरी मात्र लैजाउँ भन्दा सिल गरेर लानु पर्ने भएकोले गाडी नैं चाहिने हुन्छ । यसको कारण ढुवानी खर्च वढि लाग्ने गर्दछ ।
उद्यमी हस्तवहादुरको अर्को उद्योगले सुगन्धीत तेल उत्पादन गर्दछ । तेलको कच्चा पदार्थको संकलनपूर्व कर वुझाएर अनुमती लिनु पर्दछ । त्यही सामाग्रीहरुबाट तयार भएको तेल काठमाडौं लैजान फेरी वन कार्यालयवाट अनुमती लिनु पर्ने हुन्छ । अनी त्यो तेल लैजान गाडी नैं प्रवन्ध गरिनु पर्ने हुन्छ किनकी गाडीमा सिल लगाएर लैजानु पर्दछ भन्ने चलन चलेको छ । काठमाडौंमा प्रतिलिटर सरदर ७ हजारमा वेच्न सकिंदोरहेछ । भुजेलको उद्योगबाट गत वर्ष १५० लिटर मछिनोको तेल तयार भयो, तर एकै पटक हैन । त्यो तेल ४ पटक गरी काठमाडौं लैजानु प¥यो । सिलको कारणले ४ पटकै वोलेरो रिजर्भ गर्नु प¥यो । यसबाट लागत मूल्य अनावश्यक बढ्यो ।
विदेशी मुलुकबाट आएका सामान नेपालको कुनै कुनामा पुग्न रोकावट छैन । विदेशी रक्सी एक वोतल वोकेर हिड्न कसैको अनुमती लिनु पर्दैन । कोकाकोला र पेप्पी लगायतका पेय पदार्थ भनिएका स्वास्थ्यलाई फाइदा नगर्ने चिज सहज ओसार पसार हुन्छ तर नेपाली उत्पादन ओसार पसारमा यती धेरै सकस किन होला ? नियामक निकाय गाँठो फुकाउने हुनु पर्ने हो, गाँठो पार्ने होइन ।
संवादले सवाल सम्वोधन
कच्चा पदार्थ संकलनकैं समयमा अनुमती लिएपछि उत्पादनमा किन झन्झट ? कच्चा पदार्थ संकलनमा समूहवाट नैं अनुमती र छोडपुर्जी लिने सामुदायिक वनको अवधारणा सुरु गर्दाको अभ्यास कता गयो होला ? अनी १० लिटर तेल लैजान गाडीमै सिल किन ? जर्किनमा सिल लगाउन किन नमिलेको होला ? १० कोरी नेपाली कागज ओसारपसारको लागि एउटा वाकसमा हालेर वा डोरीले वाँधेर लैजान किन नमिल्ने होला ? भन्ने प्रश्न उद्यमी भुजेलको रहेको छ । यो अनावश्यक झन्झटले वन उत्पादनमुखी उद्यम विकासलाई उत्प्रेरणा कसरी आउँला ? अर्को जिज्ञासा छँदैछ ।
यी प्रश्नहरु हामीलाई पनि ओजपूर्ण लागेको थियो । दोलखा फेकोफनको सातौं अधिवेशनको सन्दर्भमा डिभिजनल वन अधिकृतसँग कुराकारी गर्ने मौका मिल्यो । खासगरी ओसारपसार गर्दा माथि भनिए अनुसारको सिल लगाउने प्रकृयाका वारेमा उहाँले नैं अचम्म मान्नु भयो । ‘होइन होला’ भन्नु भयो । सायद उहाँ यस जिल्लामा आउनु पूर्व भएको पनि हुनसक्छ । त्यहीवाट उहाँका कर्मचारीसँग फोन संवाद गर्नु भयो । हो रहेछ, पहिला त्यस्तो चलन रहेछ । अहिले गरेको छैन र गरिँदैन भन्ने कुरा भयो । वनजन्य स्रोतको प्रशोधन गरे पछिको ओसारपसारको सन्दर्भमा सिलका वारेमा अव दोलखामा सहज हुने भयो । तर सिल नैं आवश्यक हो कि होइन त्यो अर्को पक्ष छँदैछ । तथापी परेका कठिनाई सम्वन्धीत पक्षसँग तत्काल संवाद गर्दा सम्वोधन हुँदोरहेछ भन्ने महसुस भएको छ । कुनै विषयमा सम्वन्धीत अधिकारीलाई थाहा नैं नदिई सजिलो हुने काममा केही असजिलो पार्ने गरेको पनि पाइन्छ । कुनै विषयमा सफा नियतले पनि हुन सक्छ भने कतिपय नियत खराव हुनसक्छ तर प्रश्न गर्ने परिपाटीले सुशासन पनि ल्याउन सक्दछ ।
सामुदायिक वनको मूल मर्म मध्ये एक सदुपयोग
सामुदायिक वनको मूल मर्म वन संरक्षण, सदुपयोग र कमजोर वर्गको लागि पक्ष पोषण हो । वन संरक्षणमा धेरै सफलता हासिल भैरहेको छ । यसको निरन्तरता राख्दै सदुपयोग तर्फ जोड दिनु पर्दछ । त्यो भनेको उद्यमशिलता हो । वन स्रोतको समुचित उपयोगबाट आम्दानी वढाउनु पर्दछ । यसका लागि समूहमा सचेततापूर्वक स्वायत्तताको आवश्यक पर्दछ । सुशासन अपरिहार्य विषय हो । समूहको सकृयता आवश्यक छ । तबमात्र सामुदायिक वनको मर्म अनुसार वन अभियानको अपेक्षा अनुरुप वन स्रोतलाई समृद्धिको साधानको रुपमा उपयोग हुनसक्नु पर्दछ । यसका लागि हरेक समूहमा कम्तीमा केही जना हस्तवहादुर भुजेल जस्ता उद्यमी हुनु पर्दछ । अन्यथा वन क्षेत्र वढेर ४५ प्रतिशत नाघिसक्यो तर मुलुक र मुलुकवासीले के पाए ? भन्दा उत्तर सहज भेटिन्न । ‘माल पाएर चाल नपाएको’ भनाई चरितार्थ हुने देखियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *