चावहिल यातायातबाट सरुवा रोक्न अख्तियारबाट फोन

राजनीति समाचार

काठमाडौं । एक जना कार्यालय सहयोगीको सरुवा रोक्नका लागि अख्तियारका आयुक्तकै फोन सचिवलाई पुग्छ भने बुझ्न कठिन छैन ती कार्यालय सहयोगीको कनेक्सन कहाँसम्म रहेछ ! कार्यालय सहयोगीको सरुवा रोक्नका लागि अख्तियारका आयुक्तले बाग्मती प्रदेशका श्रम,रोजगार तथा यातायात मन्त्रालयका सचिव आश्मान तमाङको मोवाइलमा घण्टी बजाए पनि उनी चकित छन् ।

यस्ता पावरफुल कार्यालय सहयोगी हुन्, गोकुल घिमिरे । यातायात कार्यालय चावहिल (हाल गौरीघाट) मा कार्यरत घिमिरेसहितका तीन जना तल्ला तहका कर्मचारीहरुको काम कार्यालय सहयोगी कम र विचौलिया धेरै रहेको गुनासो चुलिँदै गए पछि मन्त्रालयले उनीहरुलाई त्यहाँबाट अन्यन्त्र सरुवा गरेको थियो ।

पाँच बर्षदेखि चावहिल यातायात कार्यालयमा अड्डा जमाउँदै आएका गोकुल घिमिरे,गणेश श्रेष्ठ र श्याम परियार । गोकुल युनियनको पूर्व केन्द्रीय सदस्य र श्याम एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका पूर्व केन्द्रीय सदस्य । कर्मचारी संगठनका आडमा उठ्ती पुठ्ती धन्दा उठाएर माथिसम्मै पु¥याउँदै आएको आरोप यी तीनै माथि लाग्दै आएको थियो ।

बाग्मती प्रदेशका श्रम,रोजगार तथा यातायात स्रोतका अनुसार,यी तीनै जना कार्यालय सहयोगीको उपत्याकामा घर घडेरी जोडेका छन् । उनीहरु देखेर चावाहिल यातायातका निमित हाकिम विष्णु भट्टराई पनि उनीहरुसँग डराउने गर्दथें । यस्ता डन तीनै जना कार्यालय सहयोगीहरु सरुवामा परेका हुन ।

सरुवामा परेकामध्ये गोकुल घिमिरेले आफ्नो सरुवा रोक्नका लागि वा चावहिल यातायातमै थमौतीका लागि अख्तियारका आयुक्त जयबहादुर चन्दलाई गुहारेको र आयुक्त चन्दले सरुवा सच्याउन वाग्मती प्रदेशका सचिव आश्मान तमाङलाई आग्रह गरेको स्रोतको दावा छ । यो बिषयमा प्रदेश सचिव तमाङसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *