एमाले पार्टी किन लाग्यो ओरालो ?

राजनीति समाचार

काठमाडौं । कुनै जमानामा राजनीतिक पार्टीका नेता भनेपछि नेपाली जनताले भगवान सरह मान्ने गर्दथे । अहिले आएर तिनै नेताहरुलाई जनताले गाउँघरमा बाससमेत दिन छाडेका छन् । बरु उल्टै पहिलाको बाचा अनुसार जनताको काम नगरेको भन्दै गालीगलौज गर्न थालेका छन् । अहिले सबैभन्दा बढी जनताबाट आलोचित बनेको पार्टी नेपाली कांग्रेस भएको छ ।

उतातिर प्रतिपक्षी दल नेकपा एमाले पनि आलोचित हुनबाट चोखो छैन । कुनै बेला एमाले पार्टी जनतामाझ हाइहाइ भए तापनि पछिल्लो क्रियाकलापले गर्दा आलोचनाको पात्र बन्न पुगेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको घमण्डका कारण एमाले पार्टीभित्र विकृति र विसंगतिका चाङहरु लागेका छन् । त्यस कारणले गर्दा पनि बलियो संगठन भएको पार्टी जनताको नजरमा आलोचित हुँदै गएको छ । अहिले एमाले पार्टीभित्र कुनै नैतिकता र इमान्दारिता देखिँदैन । पहिला जनतालाई दिएका आश्वासन झुठमा परिणत भएका छन् । राजनीतिक दलका नेताहरुलाई नयाँ आएका स्वतन्त्रहरुले भ्रष्टाचारको बिल्ला भिराएका छन् ।

दलप्रति जनताको आस्था दिनप्रति दिन खस्किँदै गएको छ । सबै दलका शीर्ष नेताहरु सत्तालिप्साकै कारण जनतामाझ बद्नाम हुँदै आएका छन् । ती शीर्ष नेताहरुलाई ओरीपरि घुम्ने आसेपासेहरुले विभिन्न भ्रष्टाचारको खाडलमा पार्ने काम गरेका छन् । त्यही हालत यतिबेला एमाले पार्टीभित्र देखिएको छ । अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको टक्करले गर्दा सूदुरपश्चिमबाट एमाले लखेटिएको छ । त्यसैगरी पूर्वामा १ नम्बर प्रदेशको नाम कोशी प्रदेश राख्दा एमाले बढारिएको छ ।

कम्युनिस्ट नेताका छोराछोरी र आफन्तहरु कहिल्यै कम्युनिस्ट बन्न सकेनन् । कम्युनिस्ट नेताहरुले देश र जनताको हितमा काम गर्नुपर्नेमा उल्टै भ्रष्टाचार र विभिन्न काण्डमा मुछिँदै आएका छन् । कम्युनिस्ट पार्टीबाट इमानदार र क्षमतावान कार्यकर्ताहरु बाहिरिँदै गएका छन् । झुठा आश्वासन बाँडेर जनता झुक्याउने र कमिसन खानेहरु कम्युनिस्ट भएका छन् । त्यसमा पनि माओवादी केन्द्र र नेकपा एमाले मिलेको नाममा कम्युनिस्टहरु सिध्याउने काम गरिएको थियो । यी पार्टी मिलेर चुनाव लड्दा दुईतिहाई हाराहारी सिट ल्याएको पार्टी अहिले फुटेर एउटा सत्तामा पुगेको छ भने अर्को प्रतिपक्षी बनेर मडारिइरहेको छ ।

माओवादीसँगै एमाले पनि फुटेर दुई टुक्रा बनेको छ । त्यसमा पनि एउटा सत्तामा छ भने अर्को सत्ताबाहिर कुर्लिरहेको छ । आगामी दिनमा एमालेले यसैगरी एकआपसमा हिलो छ्यापाछ्याप गर्दै आउने हो भने झन् तल खस्किने पक्का छ । त्यसकारण पनि एमालेले जनतासामु आफ्नो अस्तित्व जोगाउनको लागि सबैखाले हर्कतहरु त्याग्दै जानुपर्छ । त्यसको लागि नेतृत्वले पार्टीभित्र आन्तरिक तेजोबध गर्ने भन्दा पनि बफदार, योग्य र इमानदार भएर संगठनको काम गर्ने कार्यकर्ताको संरक्षण गर्न जरुरी छ ।

पहिला एमाले संगठन बलियो भएको पार्टीको रुपमा परिचित थियो । अहिले आएर त्यहीं एमालेभित्र पार्टी संगठन लथालिङ्ग भएको टिकाटिप्पणी हुन थालेको छ । पार्टी संगठन यसरी खलबलिनुमा अध्यक्ष केपी ओलीको भूमिका रहेको कार्यकर्ताको गुनासो छ । अझै पनि एमालेबाट फुटेर गएका नेताहरुलाई सम्मानपूर्वक आत्माआलोचना गरी पार्टीभित्र ल्याउने काम अध्यक्ष ओलीे नै लागिपर्नुपर्ने छ ।

र, एमालेबाट फुटेर एकीकृत समाजवादी गठन गरेका वरिष्ठ नेताहरुसँग अध्यक्ष ओलीले वार्तामा बोलाइ पार्टी एकताको लागि आह्वान गर्न जरुरी छ । त्यसको लागि वातावरण बनाउन अन्य नेताहरुले अध्यक्षलाई सहयोग गर्नुपर्ने देखिन्छ । त्यति गर्ने हो भने मात्रै आगामी निर्वाचनमा नेकपा एमालेको अस्तित्व रहने छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *