नक्कली भुटानी शरणार्थी काण्डमा प्रहरी नै बद्नाम

राजनीति समाचार

काठमाडौं । नेपाल प्रहरीभित्र जुनसुकै आइजीपी बनेपनि एउटा न एउटा विवादमा मुछिने काम गरिहाल्छन् । नेपाल प्रहरी जस्तो गरिमामय संस्थालाई राजनीतिक भर्तिकेन्द्र बनाएर बद्नाम गर्ने काम राजनीतिक दलहरुले विगत कालखण्डदेखि गर्दै आएका छन् । नेपाल प्रहरी संगठनभित्र पनि आफ्नो संगठनको मर्यादाको ख्याल गर्न सकेका छैनन् । त्यसले गर्दा नेपाल प्रहरीको इज्जत र प्रतिष्ठामा आँच आउने काम पनि प्रहरीहरुले नै गर्दै आएका छन् ।

हालका आईजीपी वशन्त कुँवरलाई पनि नक्कली भुटानी शरणार्थी काण्डले सताइराखेको छ । यो काण्डले कतिखेर जागिरबाट बिमुख हुनुपर्ने हो या आफै कानुनी कठघरामा उभिनुपर्ने हो कि भन्ने चिन्ताले आइजीपी कुँवर अहिले तनावमा छन् । त्योसँगै प्रहरी संगठनभित्रका केही प्रहरीहरु यौन काण्डमा, सुन काण्डमा त कोही तस्करी काण्डमा मुछिँदै आएका छन् । त्यस्ता खाले क्रियाकलपले गर्दा प्रहरी संगठन नै बदनाम हुने गरेको छ ।

त्यस्तै कतिपय सुरक्षामा खटिएका प्रहरीहरु व्यापारी र तस्करीहरुसँग मिलेर कमाउने धन्दा पनि चलाइरहेका छन् । त्यस्तै केही प्रहरी अधिकृतहरु आफू मालदार नाका अभवा भन्सारमा सरुवा हुन राजनीतिक शक्तिकेन्द्र धाउने गर्दछन् । त्योसँगै प्रहरी संगठनभित्रै गुटउपगुट खडा गरी आफू अगाडि बढ्ने र अन्यलाई विवादमा पार्ने काम पनि प्रहरीले नै गर्दै आएका छन् । कतिपय प्रहरी अधिकृतहरु त राजनीतिक दलका नेताबिना बाँच्नै नसक्ने जस्तो गरी नेतासँग लम्पसार पर्ने गरेका छन् ।

यसरी अधिकांश प्रहरी अधिकृतहरु मिसनमा जाने र प्रवन्धक शाखा र आइजीपीको सचिवालयमा बस्नको लागि पनि सोर्सफोर्स लगाउन हानथाप गर्ने गर्दछन् । त्योसँगै कुनै नेतासँग पहुँच नभएका प्रहरीहरु हाकिमको भक्त बनेर मालदार ठाउँमा जान खोज्छन् । यस प्रवृत्तिले गर्दा योग्य, इमानदार र दक्ष जनशक्ति पछि पर्ने गरेका थुप्रै उदाहरणहरु प्रहरीभित्र छन् ।

अहिले अधिकांश प्रहरी अधिकृतहरु प्रदेश प्रमुख भएर जान विभिन्न शक्तिकेन्द्र धाउने नगरेका होइनन् । उनीहरु जब प्रदेश प्रमुख बन्छन् अनि कमाउने खेलोमेलो सुरु गर्दछन् । त्योसँगै अहिले नक्कली भुटानी शरणार्थी काण्डले गाँजेको अवस्थामा हालका आइजीपी कुँवर भने गुमनाम जस्तै बनेका छन् । कतिपय फरार सुचीमा रहेका राजनीतिक दलका नेता र अन्य व्यक्तिहरुलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । यसरी फरार रहेका व्यक्तिहरुलाई पक्राउ गर्न नसक्नु भनेको प्रहरी नेतृत्व नै कमजोर बनेको अथवा त्यस काण्डमा मुछिएको पुष्टि हुन जान्छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *